PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

दीपेन्द्र चङ्गा व्यापारमा ४ दशक, भन्छन् : 'यो दसैंमा ५ लाखको बेच्छु'



स्वेच्छा राउत

काठमाडौं : काठमाडौं वसन्तपुरका दीपेन्द्रकुमार रन्जितकारका बुवा सधैं पर्व-विशेष सामग्रीहरु बेच्थे। दसैंमा चंगा, तिहारमा सजावटका सामान, मसला, होलीमा रङ, जनैपूर्णिमामा जनै र क्वाँटी इत्यादि।
 
उनै दीपेन्द्र आज बुवाआमाको 'बिँडो' थामिरहेका छन्। उस्तै व्यापार सम्हाल्दै आएको झन्डै चार दशक भयो। भन्छन्, 'यत्रो वर्ष भयो मैले सामान बेच्न थालेको दसैंमा चंगा बेच्दा छुट्टै रमाइलो हुन्छ। बच्चादेखि बूढोसम्म सबै रमाउँछन्।'
 
चाडपर्व मात्र होइन स्कुल बिदा भएको समयमा पनि चंगाको राम्रै व्यापार हुन्छ। ससाना विद्यार्थीहरुको समय बिताउने राम्रो माध्यम बनेको छ, चंगा। दसैं उसै पनि केटाकेटीहरुका लागि छुट्टै रौनक लिएर भित्रन्छ। त्यो रौनकमा उमंग थप्न चंगा पनि चाहिन्छ। त्यही चंगा किन्न उनीहरु रन्जितकारको पसल आइपुग्छन्।
 
'केटाकेटीबाहेक ठूलाहरुले पनि चंगा उडाउँछन्,' उनी भन्छन्, 'दसैमा त पसलमा झनै चहलपहल बढ्छ। कामको प्रेसर भएजस्तो पनि हुँदैन बरु आफैंलाई रमाइलो लागेर आउँछ।'
 
चंगा मनोरन्जनको माध्यबाट विस्तारित हुँदैछ। ठाउँठाउँमा चंगा उडाउने प्रतियोगिता नै हुन थालेका छन्। स्कुल, कलेज, क्लब र संस्थाहरुले आयोजना गर्ने यस्ता कार्यक्रमको फाइदा रन्जितकार जस्ता पसलेहरुलाई पुग्छ।
 
त्यस्ता कार्यक्रमहरुमा कागज र प्लास्टिकका मात्र नभएर कपडाको चाइनिज चंगाको पनि प्रयोग बढेको उनी बताउँछन्। कपडाको चंगा विशेष गरी कोठा, पसल र दसैं कार्यक्रमको स्टेज सजाउनका लागि प्रयोग गरिन्छ।
 
रन्जितकार आफैं भने नेपाली कागजको चंगा बनाउँछन्। तर कागज महँगो हुने भएकाले सो चंगा धेरै खपत हुँदैन। ग्राहकले नेपाली कागजको चंगा प्राय: सजाउनका लागि किन्छन्। उडाउनका लागि भने प्लास्टिक र साधारण कागजबाट बनेको चंगा प्रयोग हुन्छ। ५ रुपैयाँदेखि सुरु हुने चंगाको मोल २ सय रुपैयाँसम्म पर्छ। 'सबैभन्दा धेरै त १० रुपैयाँ पर्ने कागजको चंगाकै व्यापार हुन्छ,' रन्जितकार भन्छन्, 'विशेष गरी युवाहरुले यस्तो चंगा बढी लाने गरेका छन्।'
 
बालबालिकामा भने ५ रुपैयाँ पर्ने प्लास्टिकको चंगा नै प्रिय छ। पानीले नभिज्ने, नच्यातिने भएकाले पनि उनीहरु सस्तो चंगामा लोभिने गरेको र खपत पनि बढी हुने गरेको रन्जितकारको अनुभवले बताउँछन।
 
दसैंको समयमा विशेष गरी फूलपातीका दिनदेखि भने चंगा किन्ने ग्राहकहरु ह्वात्तै बढ्छन्। यति बेला चार जनाले सम्हाल्दा पनि उनको पसलमा भ्याइनभ्याई हुन्छ। दसैंको पूर्णिमासम्म राम्रो व्यापार गर्छन् रन्जितकार। 'मलाई त टीका-जमराभन्दा पनि चंगामय दसैं भएजस्तो लाग्छ,' उनले हाँस्दै भने।
 
यहाँ बिक्री हुने सबै चंगा उनी भारतबाट नै आयात गर्छन्। हरेक वर्षको बैसाखमा पसलमा आवश्यक चंगा अर्डर गर्छन्। मगाएको सामान असारसम्ममा गोदाममा आइपुग्छ। चंगासँगै धागो र लट्टाइको पनि बजार राम्रो भएको उनी बताउँछन्।
 
पानी परिरह्यो भने त्यसको असर रन्जितकारको व्यापारसम्म पुग्छ। सामान स्टक बस्ने गरेकोमा दु:ख पोख्दै उनले सुनाए, 'बाँकी भएको चंगा ओसिन्छ, धागो मक्किन्छ। लट्टाई मात्र काम लाग्छ।' यसले गर्दा उनी लक्ष्यअनुसारको आम्दानी गर्न पाउँदैनन्।
 
तर पहिलेभन्दा व्यापार विस्तार भएकोमा उनी सन्तुष्ट नै छन्। चंगाको बजार पहिलेभन्दा बढ्दै गएको छ। यसो हुँदा उनीजस्ता व्यापारीलाई फाइदा भएको छ।
 
'केही वर्षअघिसम्म दसैंमा मात्र ३ लाखको व्यापार हुन्थ्यो। पछिल्लो वर्षहरुमा भने ५ लाखसम्मको व्यापार हुने गरेको छ,' उनको कारोबारको तथ्यांक यस्तो छ।
 
चंगा बनाउने सामान सबै नेपालमै पाइन्छ। चंगा आयात गर्नुको सट्टा आफैं बनाउन मिले पनि कामदारको ज्याला महँगो भएकाले उनले कामदार राख्न सकेका छैनन्। 'एक जनाले ५ रुपैयाँको चंगा बढीमा सय वटा बनाउँछन् तर ज्याला नै ८ सय देखि हजारसम्म लिन्छन्,' उनले बाध्यताको लट्टाई फुकाए, 'अनि कसरी कामदार राख्न सक्नु?’
  
फूलपातीदेखि टीकासम्म चंगाकै लागि निकै भिडभाड हुने पसल दसैंको बिदा सक्किएलगत्तै सुनसानप्राय: हुन्छ। अर्को भिड कुर्न तिहार पर्खनैपर्छ।
 
अनि त्यसपछि?
 
'बीचबीचमा स्कुलहरु बिदा भइरहन्छन्। त्यो बेला केटाकेटीहरु चंगा लिन यहीँ त आउँछन् नि,' रन्जितकारलाई चिन्ता छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell