काठमाडौं : माहोल दसैंमय छ। आज घरघरमा फूलपाती भित्र्याएपछि त दसैं घरै पसिसक्छ। दसैंको माहोलमा सबै रमाइरहँदा नेपाली महिला क्रिकेट टोली भने यति बेला हङकङमा छ।
पुरुष क्रिकेट टोलीले टी २० विश्वकपको अनुभव लिइसकेको अवस्थामा महिला टोली पनि क्रिकेटको छोटो स्वरुपको विश्वकप खेल्ने अन्तिम लक्ष्यसहित महिला विश्वकपको एसिया छनोट प्रतियोगिता खेल्न गएको हो।
नेपाल चाडपर्वको रौनकमा झुमे पनि त्यसको परबाह नगरी महिला टोलीको ध्यान विश्वकप छनोटतर्फ नै केन्द्रित छ। नेपाली टिमका कोच-खेलाडी सबै दसैंलाई बिर्सेर खेलमा नै मन लगाइरहेका छन्। हङकङ प्रस्थान गर्नुअघि पहिलोपोस्टसँगको कुराकानीमा प्रशिक्षक राजु बस्न्यात र कप्तान रुवीना क्षेत्रीले देशमा दसैंको माहोल भए पनि आफूहरुको ध्यान खेलमै केन्द्रित भएको प्रतिक्रिया दिएका थिए।
कोच राजुले यसअघि पनि महिला टोलीले दसैंको मौसममा खेलिसकेको बताए। 'राष्ट्रका लागि खेल्ने खेलाडीले दसैं र घरपरिवार मात्र सोच्नु हुँदैन,' पूर्व राष्ट्रिय टिमका खेलाडी समेत रहेका राजुले भने।
अष्टमी, नवमी र दशमीको दिन तीन खेल खेल्ने उनले जानकारी दिए। 'सुरुवाती खेल जितेर सबै नेपालीलाई दसैंको शुभकामना दिन चाहन्छौं,' उनी उत्साहित हुँदै भन्छन्।
'केही दु:खमनाउ छैन, चाडपर्व त बर्सेनि आउँछ, मनाउँछौं तर यो विश्वकप छनोट भनेको सबैको सपना हो,' कोचलाई समर्थन गर्दै कप्तान रुवीना भन्छिन्, 'यो छनोट प्रतियोगिता जित्न पायौं भने हाम्रो लागि त्यही नै चाडपर्व मनाएसरह हुनेछ। सबै नेपालीको प्रार्थना हामीसँग हुनेछ र त्यसैको साथमा हामी ट्रफी जितेर सबैलाई शुभकामना दिन चाहन्छौं।'
दसैंमा बाहिर खेल्न जानुपर्यो भनेर कप्तान लगायत खेलाडीमा कुनै फिलिङ नभएको राजुले बताए। किनकि उनीहरुको सिंगो ध्यान नै खेलमा छ।
'सायद लोकल टुर्नामेन्ट भएको भए म खेल छाडेर दसैं मनाउनतिर लाग्थे होला तर यो विश्वकप छनोट जस्तो प्रतियोगिता हाम्रो लागि निकै महत्वपूर्ण छ र हाम्रो सम्पूर्ण तन मन गेममै छ,' रुवीना भन्छिन्, 'सबै खेलाडीहरु पनि गेमकै लागि फोकस छन्।'
नेपाली महिला टिमले अन्तर्राष्टिय क्रिकेट खेल्न थालेको एक दशक पूरा हुँदैछ। विश्वकप जस्तो प्रतियोगिताको छनोट खेल्न जाँदा दसैंको बाबजुत पनि सबै खेलाडी उत्साहति बनेका छन् र कुनै दबाब नभएको पनि कप्तान रुवीना बताउँछिन्।
'हामीले १० वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेल्यौं, कतिको लागि यो नै अन्तिम प्रतियोगिता भनेर खेल्दैछन् त कतिको लागि यो आफ्नो करियरको गतिलो सुरुवात गर्ने मौका समेत हुनेछ। र, यहीँबाट आफ्नो करिअर चम्काउन सक्छन्,' उनी उत्साहित पनि छिन्।
उपाधि नै नेपालको लक्ष्य
विश्वकपसम्म पुग्नको लागि यसबाहेक पनि अझै अर्को एक चरण पार गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा एसियन छनोट प्रतियोगिताको उपाधि नै आफूहरुको लक्ष्य रहेको कोच र कप्तानले बताएका छन्। 'हामी यसपालि पूर्ण रुपमा तयार छौं। उपाधि जित्नकै लागि हङकङ जाने हो। मुख्य टार्गेट च्याम्पियन बनेर फर्कने हो,' राजुले भने।'यस पटक छनोट खेल्ने चारै टिम उस्तै छन् तर हाम्रो लक्ष्य उपाधि नै हो,' रुवीनाको योजना छ, 'सबै टिम १९/२० का छन्, चीन अली टफ अपोनेन्ट हो तर त्यसका लागि पनि आफूहरुले योजना बनाएका छौं।'
तयारीमा सन्तुष्ट
दुई वर्षअघि दक्षिण कोरियामा इन्चोन एसियाड खेलेपछि नेपाली महिला टिमको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। महिला टोलीको राष्ट्रिय प्रतियोगिता पनि दुई वर्षपछि नै भयो र त्यसैबाट छनोट भएका उत्कृष्ट १४ खेलाडी छनोट चरण खेल्दैछन्। प्रशिक्षकको भूमिकामा रहेको राजु आफैं पनि पूर्व राष्ट्रिय खेलाडी भएकोले खेलाडीहरुको तयारी देखि फिटनेस सबैमा ध्यान दिएको बताउँछन्।'यसपटक राम्रो तयारी भएको छ। हामीले ४० दिनको ट्रेनिङ समयमलाई सही सदुपयोग गरेका छौं,' उनले सुनाए, 'त्यसबीचमा टोलीमा रहेका कमीकमजोरी सुधार गर्दै टिमलाई एउटा निश्चित सेपमा राखेका छौं।'
पुरुष टिम जस्तै महिला टिमको पनि बलियो पक्ष बलिङ रहेको उनको भनाइ छ। 'हाम्रो बलियो भनेको बलिङ हो। हामीसँग तीन जना अफस्पिनर छन्। दुई जना मिडियम पेसर पनि छन्। ब्याटिङमा पनि हामी कमजोर छैनौं। गर्लसको लागि ब्याटिङ पनि राम्रै छ तर अन्तर्राष्ट्रिय प्रतियोगितामा अझ राम्रो गर्ने तयारीमा छौं,' उनी सन्तुष्ट देखिए।
नेपालले खेलेका अघिल्ला प्रतियोगितामा छनोट खेल्ने अन्य टिमभन्दा नेपाल कमजोर रहेको राजुको बुझाइ छ। तर अहिले उनीहरुकै तुलनामा नेपाली टिमले खेल्ने तरिका फरक भइसकेको छ। 'हामी मेन्टलली पनि प्रिपियर छौं,' भन्छन्, 'अब मैदानमा देखाउन मात्र बाँकी छ।'
दुई वर्षपछि खेल्न लागेको टोलीको मुख्य कमजोरी भने म्याच एक्सपोजरलाई नै देख्छन् उनी। यही भए यसपटक त्यसमा पनि सुधार गरेको छ टिमले। काठमाडौंमा टिमहरु बनाएरै खेले उनीहरुले।
छनोट चरणमा खेल्नको लागि राजुले स्ट्राटेजिक प्लान पनि बनाएका छन्। टी २० भएकोले हामी पावर प्ले कसरी खेल्ने, त्यसपछिको ५/५ ओभर र बाँकी ४ ओभरमा कसरी प्रस्तुत हुने भनेर भरपूर तयारी भएको उनले बताए।
विपक्षीविरुद्ध कसरी खेल्ने भन्ने सेन्सको कमी रहे पनि त्यसका लागि वर्कआउट गरेको राजु बताउँछन्।
टिममा एक-दुई जनामा सामान्य समस्या देखिए पनि प्रतियोगितामा फिट भइसक्ने भन्दै ढुक्क छन् उनी। नयाँ र पुराना खेलाडीबीच राम्रो कम्बिनेसन भएकाले पनि उनले निकै आशा व्यक्त गरे, 'नयाँ आएका निर्मला, शबनम र ज्योति राम्रो सम्भावना बोकेका खेलाडी हुन्। उनीहरुबाट राम्रो आशा पनि गरेका छौं।'
कप्तान रुवीना पनि तयारीबाट सन्तुष्ट छिन्। 'सबै खेलाडीले यही प्रतियोगिताका लागि मेहनत गरेका छन्,' तयारीबारे उनले खुलाइन्, 'छनोट प्रतियोगिताकै लागि ४० दिन कडा ट्रेनिङ गरेका छौं। बाहिर नगए पनि आफूआफू टिम बनाएर खेल्यौ केटाहरुको टिमसँग खेल्यौ र केही सिक्यौं पनि।'
पहिले ब्याटिङमा अलि कमजोर देखिएको महिला टिमले त्यसमा पनि सुधार गरेको छ। बलिङ र फिल्डिङ पनि नयाँ खेलाडी थपिएपछि ब्यलोन्समै रहेको रुवीना बताउँछिन्। त्यसो त नयाँ खेलाडीहरुलाई सिनियर खेलाडीहरु निरा, नेरी, सीताहरुको साथ छ। उनीहरुबाटै नयाँ खेलाडीले विदेशको अनुभव पनि सुन्न पाएका छन्।
'हाम्रो मुख्य लक्ष्य छनोट चरण जित्ने र ग्लोबल क्वालिफायरका लागि छनोट हुने नै हो। अनि अन्तिम लक्ष्य विश्वकप खेल्ने,' रुवीना सुनाउँछिन्।
सन् २०१८ मा हुने आइसिसी महिला विश्वकपका लागि एसियन छनोट असोज २३ देखि २९ अक्टोबर ९ देखि १५ सम्म हङकङमा हुँदैन। जसमा नेपाल र आयोजक सहित थाइल्याण्ड र चीनले सहभागिता जनाउनेछन्। दोहोरो राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगिताको विजेताले विश्वकपको एक कदमअगाडि पुग्छ र १० राष्ट्र सम्मिलित ग्लोबल क्वालिफायर खेल्ने अवसर पाउनेछ। त्यसमा शीर्ष चारमा रहने टिम विश्वकपका लागि छनोट हुनेछन्।