PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​गीतका लागि भिडियो कि भिडियोका लागि गीत?



स्वेच्छा राउत

​गीतका लागि भिडियो कि भिडियोका लागि गीत?

डाक्टर कृष्णहरि बरालको गीत 'मर्ने कसैको रहर हुँदैन…' हिन्दी भाषामा डब गरेर कसैले युट्युबमा हालेछ। ज्ञानेन्द्र देउजाबाट खबर पाए। उनले फोन गरेर खबर दिँदा बरालको मनमा के खेल्यो त? ‘राम्रै लेखिएछ। कम्तिमा अरुलाई प्रभावित गर्ने खालको,' उनले जवाफ दिइहाले।

गीत लेख्दा आफ्नो मात्र होइन मानिसको चाहना र परिस्थितिलाई ध्यानमा राख्छन् उनी। उनलाई लाग्छ कुनै गीतकारको गीतले फिल्म अथवा भिडियोको कथा मात्र होइन साधारण मानिसले देख्ने, भोग्ने गरेको यथार्थलाई बोक्नुपर्छ।

‘गीतको शब्दमा कसैले आफ्नो कथा भेट्छ भने त्यो गीत सफल हुन्छ।’

यसैलाई मन्‍त्र बनाएका छन् उनले। उनको यो मन्त्र एकातिर छ भने अर्कातिर छ जबरजस्ती हिट हुने प्रतिस्पर्धा।  

उनलाई दु:ख लाग्छ। भन्छन्, ‘गीत हिट बनाउनका लागि धेरै लेखिन्छन्। हिट यो मानेमा, गीत लेख्यो, रेकर्ड गर्‍यो, केही समयका लागि युट्युब, रेडियो, टेलिभिजन तिर चलायो अनि सक्यो।‘

फेरि पनि उनकै शब्दमा, ’आजकाल कालजयी कम र केही समयमात्र बिक्ने गीत बढी लेखिन्छन्।‘

सिनेमा वा भिडियोमा प्लट अनुसारको गीत खोजिन्छ। सिचुएसन अनुसार ब्याकग्राउण्ड गीत सुनिन्छ पनि। तर, यही ट्रेन्डले गीतहरु कमजोर बन्ने बरालको दाबी छ। भन्छन्, ’गीत सुन्नका लागि हो। त्यसैले सधैं भिडियोको लागि गीत होइन। बरु गीतका लागि भिडियो बनाइनुपर्छ।‘

आजभोली स्रोतालाई गीततर्फ अंकुश लगाउन गीतमा उखान टुक्काको प्रयोग बढेको छ। गीत प्रयोग हुने त्यस्ता इलिमेन्टलाई गीतकार ‘हुक’को प्रयोग भन्छन्। कृष्णहरि बराल भन्छन्, ’गीततर्फ स्रोता आकर्षित गर्ने राम्रो माध्यम हो क्याची हुक। तर आजकाल त्यसको प्रयोग जथाभावी बढेको छ। गीतमा त्यस्ता हुकहरुको महत्व, आवश्यकता नभए पनि प्रयोग गरिन्छ किनकि लामो समय सुनिनुलाई होइन धेरैले सुन्नुलाई महत्व दिइन्छ।‘

बराल आफूले भने आफ्ना चलेका गीतहरुमा नविन हुकको प्रयोग गर्ने बताउँछन्। नाइ नभन्नु ल, मैले त्यै भएर मन पराको, के म तिम्रो होइन र?, पागल म बन्न सक्छु आदि गीतको उदाहरण दिँदै भन्छन्, ’यि मेरा चयन हुन्। सबैको आ-आफ्नो चयन हुन्छ। मैले आफ्नो विचार मात्र लाद्ने होइन।‘

प्रेम, प्रकृति र सामाजिक अवस्थालाई गीत मार्फत् चित्रण गर्ने कृष्णहरि बराल गीत जीवन्त हुनुपर्छ भन्ने मान्यता राख्छन्। उनी गीतमा यथार्थ र भोगाइको मिश्रण हुनुलाई महत्व दिन्छन्। तर, आजभोलि गीतमा भोगाइभन्दा पनि स्रोताको मगाइलाई महत्व दिने गरेको उनको बुझाइ छ। अझ नेपाली गीतमा अङ्ग्रेजी शब्द वा वाक्यको प्रयोग त अनावश्यक ठान्छन् उनी। भन्छन्, 'गीतमा नयाँ प्रयोको अर्थ भाषा नै फेरबदल गर्नु कदापी ठीक होइन।'

गीतमा गम्भीर विषयको कमी आउनुले उनी चिन्तित छन्। गम्भीर र सोच्न बाध्य बनाउने गीतको महत्व उनी बढी देख्छन्। आजभोलि हाँस्य विधाका गीतलाई बजारमा बढी ठाउँ दिने गरेको उनले देखेका छन्। जसका कारण गम्भीर विषय उठाउने गीतहरु कम लेखिन थाले। सबै विधाका गीतको उत्तिकै महत्व हुने कुराको बखान गर्दै भन्छन्, ’गम्भीर होस् वा हाँस्य, गीतमा अङ्ग्रेजी भाषा मिसाएर र पुराना उखान टुक्का राखेर मात्र गीत हिट हुने भ्रमबाट मुक्त हुनु पर्छ।‘

कृष्णहरि बराल गीतलाई फूलसँग तुलना गर्छन्। फूलको रसजस्तै मान्छन् गीतको संगीतलाई। रस भएको फूलमा भमरा झुम्मिए जस्तै मिठो संगीत भएको गीतमा स्रोता भुल्ने उनको विचार छ।  भन्छन्, ’गीत शब्द मात्र संगीत मात्र र स्वर मात्र होइन। संगीतले सबैलाई तान्नुपर्छ।  शब्दको अर्थले सबैलाई छुनुपर्छ। स्वरले गीतलाई जीवन दिन्छ।‘

हिन्दी र पश्चिमी गीत संगीतका कारण नेपाली गीतको स्रोता घट्यो भनेको सुन्दा उनलाई रीस उठ्छ। आक्रोशित हुँदै भन्छन् ,'गीत सुन्ने बनाउन त हामी आफैँले सक्नुपर्छ।'

आफ्नो शब्द स्रोतालाई फिल गराउन सके कुनै पनि भाषाको गीतले नेपाली गीतको स्रोता र बजार दुवैलाई असर नगर्ने उनको विश्वास छ। कला, संगीत, साहित्यको भाषा हुँदैन जुनले छुन सक्यो त्यही स्रोताको आफ्नो बन्ने उनको विश्वास छ।

‘गीत रचनाका क्रममा बलियो भए स्थायी हुन्छ,’ उनले थपे, ‘प्रविधिले फड्को मार्‍यो। हाम्रो कला, साहित्य, संगीतको क्षत्रमा प्रविधिसँगै अघि बढ्न आवश्यक छ।‘   

कृष्णहरिलाई लाग्छ नेपाली गीत संगीतलाई नेपाली गीतकार, संगीतकार र स्रोताको शक्तिमा उभ्याउनु पर्छ। दुईवटा धर्कोमा एउटा लामो एउटा छोटो भयो भने छोटोलाई लामो बनाउने हो, लामोलाई मेट्न तिर लाग्ने होइन। उदाहरण सहित उनी बुझाउँछन्- हामी कुनै पनि भाषाको गीत संगीतसँग प्रतिस्पर्धा गर्ने हैसियत राख्छौं। तर गीत संगीतमा प्रतिस्पर्धा भन्दा आफ्नोपनलाई आफ्नै तबरले माथि उठाउने विषय राम्रो सुनिन्छ।

भन्छन्, 'हिन्दी अङ्ग्रेजी सुन्न बन्द गरेर नेपाली सुन भन्नु हामी गीतकार संगीतकारको लाचारिपन हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell