PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

तासको बक्स अफिस : निराजनलाई ओपनिङ मै घाटा!



स्वेच्छा राउत

तासको बक्स अफिस : निराजनलाई ओपनिङ मै घाटा!

काठमाडौं : मोडल निराजन प्रधानलाई पहिले पहिले दशैंमा आमाले सधैं गाली गर्थिन्। कारण थियो उनको तास खेल्ने बानी। बिदा सुरु भएलगत्तै दाजुभाइ र साथीहरु भेट्ने गर्छन् उनी। दशैंताका काठमाडौं प्राय सुनसान हुने भएकाले रमाउनका लागि तास राम्रो माध्यम बन्ने उनको अनुभव छ। त्यसैले अरु बेला तासप्रति लगाव नभए पनि खाली समय काट्न दशैंमा चाहि तास खेल्छन्। र यो बानी उनको आमालाई मनपर्दैन।  त्यसैले सधैं खेल्न बसेको देख्यो कि गाली गर्छिन्। उनको आमालाई लाग्छ - तास पैसा र समयको अनवश्यक खर्च हो।

तर वर्षमा एकपटक आउने दशैं र दशैंमा खेलिने तास निराजनको मन के मान्थ्यो र? भन्छन्, 'सबैजना फुर्सदमा हुने समय के गरेर काट्नु त? घुम्न रमाइलो गर्न जाने पनि प्राय कसैको मुड नै हुँदैन।'

यसपाला दशैंमा भने उनको तासको बक्स अफिस ओपनिङ नै घाटामा गयो। शनिबार राति काठमाडौं सिटी सेन्टर घुमेर फर्केपछि साथीहरुसँग जम्मा भएर म्यारिज खेलेका उनले भने, 'तास खेल्न सुरु गरेको पहिलो दिनमै २४ हजार हारेँ। अझै थुप्रै दिन खेल्न बाँकी छ। जितिएला कि।'

निराजनलाई लाग्छ तास मनोरञ्जनका लागि खेलिन्छ। त्यसैले पर्व विशेषका बेला मात्र खेले छुट्टै महत्व हुन्छ। तर तासलाई बानी वा दैनिकी बनाएको भने उनलाई मन पर्दैन। भन्छ्न्, 'जे पनि बढी भए आफैंलाई हानी गर्छ भन्छन्। तास पनि रमाइलोको लागि खेले ठिकै हो। दिनहुँ समय र पैसा तासैमा खर्चनु त राम्रो होइन।'

दशैंको विशेषता नै टिका जमरा, दक्षिणा, खसी काट्नु, पिङ र तास भए पनि यो दशैं उनको लागि तास विशेष नै बन्दैछ। परिवार सबै क्यानडा भएकाले उनी घरमा एक्लो छन्। केही मख्ख पर्दै सुनाउछन्, 'तास खेल्दा गाली गर्न मम्मी पनि हुनुन्न।' एकछिन् रोकिएर थप्छन्, 'तर बाबा मम्मी बिनाको बिदा, पर्वमा केही न केही खल्लो महसुस भएको अनुभव भइरहेको छ।'

पिङको मजा गत हप्ता भएको गीतको सुटिङमै लुटिसकेका उनलाई दशैंको बेला ठाउँठाउँमा पिङ देख्दा रमाइलो लाग्छ। 'मलाई मच्चिएर खेल्न त आउँदैन तर खुब मज्जा आउँछ,' उनले सुनाए। आफू सानो हुँदा गाउँ बन्दिपुरमा हालिने लिङ्गे पिङ लाइन बसेर खेल्ने गरेको उनी सम्झिन्छन्।

निराजनले दशैं बाल्यकालकै बढी रमाइलो लाग्ने गरेको बताए। सानोमा पिङ खेल्नका लागि  घण्टौ लाइन् बस्थे, आफू खसीको मासु नखाए पनि खसी काटेको हेरेर खुब रमाउथे। आफू छोरा मान्छे भएकै कारण थोरै दक्षिणा पाउनुको चिन्ता हुने गर्थ्यो उनलाई। हाँस्दै सुनाउँछन्, 'तर अहिले चाड पर्व कसरी चाहि जति सक्दो रमाइलो गरी मनाउनेतिर ध्यान जान्छ।'

यो पटक परिवार नेपालमा नहुनुले उनको पर्वका लागि खासै केही योजना बनाएका छैनन्। साथीहरुसँगै रमाउने उनी टिकाको दिन भान्जा र भातिजहरुलाई टिका लगाइदिन्छन्। दशैं सकिए लगत्तै सुटिङ र शोहरुका लागि व्यस्त हुने भएकाले उनी खाली समय आफ्नाको लागि समय दिने बिदाको रुपमा ब्याख्या गर्छन्।  
(फोटो : निराजनले नै उपलब्ध गराएका हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell