PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दसैंको मूडमा यी कलाकार के गर्दैछन्?



स्वेच्छा राउत

दसैंको मूडमा यी कलाकार के गर्दैछन्?

काठमाडौं : दसैं सबैलाई आउँछ। तर सबैले घरमै रहेर दसैं मनाउन पाउँदैनन्। काम विशेषले घर बाहिर रहनेहरुले परिवारलाई निकै मिस गर्छन्। कलाकारहरु व्यस्त हुने भएकाले कतिपय कार्यक्रमले गर्दा घर जान पाउँदैनन्। कतिपय भने कार्यक्रम नै क्यान्सिल गरेर दसैं मनाउने मूडमा हुन्छन्।

हामीले केही कलाकारसँग दसैं कहाँ र कसरी मनाउनुहुन्छ भनेर छोटो कुराकानी गरेका छौं।
 

अरुको जस्तै मेरो दसैं : नवीन के भट्टराई


गायक नवीन के भट्टराईले २० वर्षयता दसैंमा केही नयाँपन नै पाएका छैनन्। आफन्तहरुसँगको भेटघाट र टीकाजमरा बाहेक उनी दसैंमा खास केही पाउँदैनन्। भन्छन्, 'सबैले सोध्छन्- दसैं कस्तो भयो? भनेर। एउटै जवाफ दिँदादिँदा झ्याउ लाग्छ। सबैको जस्तै त हो नि मेरो दसैं पनि।'
 
उनका लागि हरेक वर्ष विशेष लाग्नेचाहिँ चङ्गा हो। परिवारका सदस्य अनि आफन्त सबै मिलेर धागो, चङ्गा र लट्टाईसँग खेल्नुको मज्जा लुट्छन् उनी।
 
यो वर्षको दसैं अर्को एउटा कारण पनि खास बन्यो उनका लागि। चौधरी ग्रुपले सञचालनमा ल्याएको 'नेपाल आइस साउन्डस अफ म्युजिक'मा उनको पनि सहभागिता रह्यो। नेपाली संगीत प्रवर्द्धनका लागि आयोजना गरिएको सांगीतिक कार्यक्रममा भाग लिन पाउनु खुसीको विषय भएको बताउँछन् उनी।
 

तासबिनाको दसैं के दसैं : केकी अधिकारी


अधिनेत्री केकी अधिकारीलाई भने दसैं टीकाजमराकै कारण विशेष लाग्छ। केही समययता दसैं अघिपछि पनि सुटिङकै चटारो खेप्दै आएकी उनले टीकाको लागि भने सकेसम्म सबै परिवार र आफन्तलाई समय दिँदै आएकी छिन्। फिल्म सुटिङका लागि पोखरामा भए पनि आजसम्ममा उनी काठमाडौं आउँदैछिन्।
 
पिङमा पनि खुब रमाउँछिन् केकी। 'घर वरपर छ भने दिदीबहिनीसँग गएर खेल्छु,' उनी भन्छिन्, 'लाइन बसेर भए पनि पिङ त खेल्नेखेल्ने।'
 
केकी हरेक वर्ष जस्तै यसपालि पनि परिवारिक वातावरणमा तास खेल्दै रमाउने मूडमा छिन्। भन्छिन्, 'तास हातमा नपरे दसैंमा के छुट्यो के जस्तो लाग्छ।'
 

पारिवारिक दसैं : भरत सिटौला


गायक भरत सिटौला यसपालि सबै काम थाती राखेर पारिवारिक दसैं धुमधामका साथ मनाउँदैछन्। पुराना अनुभव सुनाउँदै उनी भन्छन्, 'रेकर्डिङ भन्यो, स्टेज शो भन्यो, देशविदेश कुद्यो गर्नाले दसैं आएर गएको पत्तै नहुने। त्यसैले यो पटक सबै काम दसैंपछिका लागि पोस्ट्पोन्ड गरेको छु।'
 
दसैं लागेकै कारण उनको सार्वनजिक हुन लागेको गीत रोक्किएको छ। योजना दसैंका लागि सार्वजनिक गर्ने थियो। तर भ्याएनन्। घटस्थापनाको दिनसम्म स्टुडियोमै रहेका उनले बाँकी काम पछिका लागि सारेका हुन्। 'घरका सदस्यलाई पनि मेरो न्यास्रो लाग्दो हो नि। दसैंमा सँगै भइदिए खुसी भइन्छ,' उनले सुनाए।
 

आफन्त मिस गर्न चाहन्न : आस्था बी



गायिका आस्था बी दसैं कार्यक्रमका लागि देशभित्रकै विभिन्न ठाउँ कुदेको कुद्यै छिन्। टीका लगाउनका लागि भने उनी काठमाडौं आइपुग्नेछिन्। उनलाई दसैंको सबैभन्दा रमाइलो लाग्ने पक्ष भनेकै पारिवारिक जमघट हो। भन्छिन्, 'आफन्तहरुसँगको भेटघाट यो दसैंमा मिस गर्न चाहन्न।'
 
दसैंपछि उनको नयाँ गीत सार्वजनिक हुँदैछ। यसअघि उनी सोही गीतका लागि निकै व्यस्त भइन्। आफ्नो हिट नम्बर 'मलाई पुगेन पुगेन यो बैंसले'ले पोहोर परार दसैं र तिहारका कार्यक्रम तताएकाले गर्दा यो पटक पनि त्यस्तै गीत ल्याउने उनको सोच छ।
 

कार्यक्रम छोडेर पुर्ख्यौली घरमा : मुना थापा मगर


लोकगायिका मुना थापा मगरले पोहोर साल घरमा दसैं मनाउन पाइनन्। त्यही भएर पनि उनी दसैंका स्टेज शो क्यान्सिल गरेर घरमै गएर दसैं मनाउँदैछिन्।
 
'कार्यक्रममै व्यस्त भएको भए मेरो मनलाई कति दिन शान्ति मिल्दैन थियो,' उनी भन्छिन्।
 
एक-दुई दिनको लागि मात्र भए पनि किन नहोस् उनी पुर्ख्यौली घर गोरखामै दसैंलाई रमाइलो गरी मनाउँदैछिन्।
 

विदेशको कार्यक्रम छाडेर घरमै : स्वरुपराज आचार्य


गायक स्वरुपराज आचार्य कार्यक्रम लिएर देशबाहिर जाने तयारी थिए। तर दसैं भित्रिएकाले उनले ती कार्यक्रमलाई पर सारेका छन्।
 
'घरमै मनाए जस्तो दसैं बाहिर कहाँ हुन्छ र,' उनी भन्छन्, 'प्रोग्राम सारेर भए पनि घरपरिवारसँगै रहेर मनाउने निधो गरेँ।'
 
गएको वर्ष उनी अमेरिका थिए। उनको दसैं अमेरिकामै संगीतमय भएर बित्यो। टीकाजमरा र अग्रजको आशीर्वाद लिएर उनको यसपालिको दसैं भने आफ्नै देशमा बित्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell