PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यस्ता छन् आस्थाका दशैं अनुभव



स्वेच्छा राउत

यस्ता छन् आस्थाका दशैं अनुभव

गायिका आस्था राउत परार साल दशैंको टिकाको दिन दुबईमा थिइन्। उनलाई दशैंको दिन पनि रातो टिका र जमरा लगाउन नपाउने पिरलो थियो। तर त्यसो भएन। किनकि उनीसँगै कार्यक्रमका लागि गएका नायक राजेश हमाल र गायिका कोमल ओलीले उनलाई टिका लगाएर आशिर्वाद दिए।
घरमा हजुरबुबा, आमा/बाबाको हातबाट टिका लगाएजस्तो नभए पनि उनलाई खुशी लागेको थियो। भनिन्, ' वरिष्ठ कलाकारहरुसँगको दशैं नौलो अनि रमाइलो अनुभव बन्यो तर घरमा जस्तो नहुँदो रहेछ। धेरै मिस गरेँ त्यो वर्ष घर र परिवारलाई।'
 
पहिलोपटक घरबाट टाढा रहेर मनाएको २०७० को त्यो दशैंमा सोचिन्, यो वर्ष यस्तै भयो। अब अर्को साल परिवारसँग नै दशैं मनाउँछु।
 
३ वर्षयता उनको हिट गीत 'खोई त मलाई झम्के बुलाकी' बोलको गीत निकैले रुचाए। स्टेज शोका निम्ति देश विदेश घुम्न पर्ने भयो। कार्यक्रमका लागि कहिले कता कहिले कता कुद्ने क्रममा २०७१ को दशैं पनि उनले घरमा मनाउन पाइनन्। टन्न स्रोता कमाएकी उनले दोस्रोपटक दशैंको दक्षिणा कमाउने मौका भने गुमाइन्।
 
'अमेरिकामा थियो कार्यक्रम', आस्थाले पुरानो कुरा सम्झिँदै भनिन्, 'हजुरआमा हजुरबाको माया सम्झिएँ। दशैंमा मामाघर गएको पनि सम्झिएँ। तर दर्शकको मायामा चित्त बुझाउनु पर्यो त्यो दशैं पनि।'
 
आस्था पहिलोपोस्टसँगको कुराकानीका क्रममा निकै नोस्टाल्जिक भइन्। र आफ्नो बाल्यकालको दशैं सम्झिइन्। यसरी सुनाइन् दोलखामा उनले मनाउने गरेको दशैंको कथा –

हामी साना थियौं। दशैं भनेपछि गाउँघरको चहलपहलनै बेग्लै। स्कूल बिदा हुन्थ्यो। हामी साथी साथीलाई स्कूलले दिएको होमवर्कको भन्दा नयाँ लुगा र टिका थापेपछि कमाइने दक्षिणाको बढी पीर हुन्थ्यो। टिकाको दिन बिहानै देखि प्राय सबै साथीहरु दशैंको लुगा लगाएर बस्थ्यौं। घरमा हजुरबुबा हजुरआमाले टिका लगाइदिनु भएपछि दक्षिणा गन्नुमा बेग्लै मज्जा थियो।

घरमा मात्र टिका लगाएर कहाँ सकिन्थ्यो र दशैं? हामी त चिनेको जति सबैको घरमा जान्थ्यौं।

केही बेर हाँसेर थपिन्, 'धेरै पैसा दिनेको तारिफ गर्नु र थोरै पैसा दिनेलाई छुच्चोको तक्मा दिन्थें म त।'

मामाघर जाँदाको क्षण उनको लागि सबैभन्दा रमाइलो पल बन्थ्यो। किनकि हजुरआमा हजुरबुबाले एक्ली नातिनी आस्थालाई निकै माया गर्थे। भनिन्, 'दक्षिणा पनि सबैभन्दा धेरै दिनु हुन्थ्यो।'

बाल्यकाल र युवावस्थाको दशैं अवस्थामा धेरै फरक पाइन् आस्था राउतले। जुन खुशी, उमङ्ग, हर्ष हजुरआमाहरुसँगको दशैंमा हुन्थ्यो त्यो रहेन। किनकि केही वर्ष अघि उनले आफ्नो घर र मामाघर दुवैतिरको हजुरआमा गुमाइन्। उनलाई हजुरआमाहरु गुमाउँदाको दशैं निकै खल्लो लागेको थियो। मसँग हजुरबुबाहरु त हुनुन्छ भन्ने भयो र उहाँहरुसँगै दशैंमा रमाउन थालिन्।
 
बुझ्दै थिइन् कलाकार भएपछि आफूले चाहे अनुसारको समय तालिकामा चल्न गाह्रो हुने यथार्थ। नामी गायिका भएपछिको दुई वर्ष त विदेशमा बिताएकी थिइन्।

पोहोरको दशैंमा भने उनले मिलेसम्म नेपाल नै रहने योजना बुनिन्। तर सोही वर्ष उनले नसोचेको घटना घट्यो। एकै वर्ष उनका घर र मामाघर दुवै तर्फका हजुरबुबा बिते।

निकै भावुक हुँदै आस्था सुनाउँछिन्, 'मामाघरको हजुरबुबा त टिकाको भोलिपल्ट बित्नुभयो। अरुको घरमा टिका जमराको माहोल हाम्रोमा अर्कै बन्यो वातावरण नै।'
 
दर्शक र स्रोताको लागि घरबाट टाढा रहेर मनोरञ्जन दिँदै हिडेकी उनको त्यो दशैं घरमै मनाउने योजना मात्र भङ्ग भएर उनको हौसला, प्रेरणाका स्रोतहरुको निधन भयो।
 
आस्था दु:ख पोख्छिन, 'अब यो वर्ष जुठोले छेक्यो। दशैंवाला मुडनै आएको छैन।'

यही असोज १७ गतेमात्र स्टेज कार्यक्रम सकेर अमेरिकाबाट फर्किएकी उनले दशैंमा आफूलाई कार्यक्रममै व्यस्त राख्ने सोच बनाएकी छिन्। कसैको नातिनी हुनुमा जुन मज्जा थियो अहिले त्यही मज्जा प्रिय कलाकार बनेर लुट्ने होडमा छिन्। मामाघर जाँदा वा घरमै पनि नातिनी भन्ने कोही छैनन्, यो कुराले दुखाउँछ आस्थालाई।
 
भन्छिन्, 'साच्चै हजुरबा हजुरआमासँग पर्वहरु मनाउन पाउनु जस्तो रमाइलो क्षण अरु कुनै हुँदैन।'
फोटो : आस्थाको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell