PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

बिहान ५ बजे नै उठेर पिङ खेल्न पुग्थे विकेश



गोविन्दराज नेपाल

बिहान ५ बजे नै उठेर पिङ खेल्न पुग्थे विकेश

काठमाडौं : दसैं नेपालीहरुको महान् चाड। सबैलाई परिवार भेट्ने, रमाइलो गर्न, साथीभाई भेट्न हतार हुन्छ। अझ खेलाडीको लागि त झन् दसैं विशेष नै हुन्छ।
 
कतिपय बेला दसैंमा पनि खेलाडीलाई देशको लागि खेल्नुपर्ने हुन्छ, यस्तो बेला चाडपर्व र घरपरिवार भन्न पाइदैन। त्यसैले पनि खेलाडीको लागि दसैं विशेष हुने नै भयो।
 
राष्ट्रिय फुटबल टिमका गोलरक्षक विकेश कुथु पनि दसैं आगमनसँगै उत्साहित भएका छन्। तर निरन्तरको ट्रेनिङले गर्दा राम्रोसँग दसैं मनाउन भने नपाइने उनको गुनासो छ।
 
'ट्रेनिङहरु भइरहन्छ। दसैंको बेला पनि ट्रेनिङले गर्दा नै समय कम छ, दिल खोलेर मनाउन भने पाइँदैन,' उनी बाध्यता सुनाउँछन्।
 
राष्ट्रिय फुटबल टिमले दसैं छुट्टी दिएपछि विकेश पनि राजधानीबाहिर सिन्धुपाल्चोक आफ्नो घर पुगेका छन्। यसपटक फुटबल खेलाडीलाई दसैंमा १० दिनको मात्र छुट्टी मिलेको छ।
 
सिन्धुपाल्चोकको बाह्रबिसेमा विकेशको सबै परिवार छन्। जति समय उपलब्ध छ, त्यसैमा परिजारसँग बसेर दसैंलाई रमाइलो बनाउने रमाइलो गर्ने योजनामा छन् उनी। मामा घर पनि नजिकै छ। उनी त्यहाँ पनि जाने टीका लगाउने योजनामा छन्।
 
पहिले र अहिलेको दसैंमा निकै फेरबदल आइसकेको विकेश बताउँछन्। 'टाइम सधैं एकैखालको हुँदैन, चेन्ज भइरहन्छ,' उनको बुझाइ छ, 'त्यसैले दसैं मनाउने परिपाटीमा पनि धेरै परिवर्तन आइसक्यो।'
 
सानोमा दसैंको लागि एक महिना स्कुल छुट्टी हुन्थ्यो। होमवर्क र पढ्ने काम बाहेक हरु केही हुन्थेन। दसैंमा रमाइलो गर्नका लागि होमवर्क जति सबै पहिल्यै सकाएर बस्ने चलन जस्तै थियो। विकेश बाल्यकाल पनि यसरी नै बित्यो।
 
होमवर्क सकाएपछि नयाँ लुगा लगाउने, पिङ खेल्न जाने र साथीभाइसँग रमाइलो गर्ने गर्थे उनी। पिङ खेल्न जाँदाको रमाइलो किस्सा पनि छ उनीसँग। 'पिङ खेल्नकै लागि भनेर हामी बिहान ५ बजे नै उठेर लाइनमा गएर बस्थ्यौं,' उनी भन्छन्, 'तर आजकाल पिङको माहोल पनि पहिलेको जस्तो छैन।' पिङ खेल्नमा मात्र होइन ठूलाबडाले पिङ बनाएको ठाउँमा पनि विकेश सहयोग गर्थे।
 
विकेशको काम भनेको पैसा उठाउने, संकलन गर्ने अनि पिङ बनाउनका लागि बाबियोहरु जम्मा पार्ने हुन्थ्यो। यो सबै काम पिङ खेल्ने रहरकै कारण गर्थे उनी।
 
दसैंमा जुवातास भने खेल्न नहुने तर्क राख्छन् उनी। 'यसले झगडा हुने र विकृति निम्ताउने काम गर्छ। साथीभाइबीचमै मनमुटाव गराउँछ,' उनी सजग छन्।
 
परिवारले बाहिर गएर तास खेल्नको लागि बन्देज लगाएका छन् उनलाई। त्यसैले उनी यो दसैंमा घरमै परिवारसँग बसेर रमाइलो गर्दै तास खेल्ने मूडमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell