PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

पोखरा घुमेर दसैं मनाउँदैछिन् तेक्वान्दो खेलाडी रेजिना



गोविन्दराज नेपाल

पोखरा घुमेर दसैं मनाउँदैछिन् तेक्वान्दो खेलाडी रेजिना

काठमाडौं : नजिकिँदै गरेको सातौं राष्ट्रिय खेलकुद र निरन्तरको ट्रेनिङले गर्दा तेक्वान्दोकी रेजिना कार्कीको यो दसैं काठमाडौंमै बित्ने भएको छ।
 
गेम र ट्रेनिङ नभइदिएको भए उनी आज आफ्नै पुर्ख्यौली घर इटहरीमा टीका थापिरहेकी हुन्थिन्। तर मंसिरमा हुने सातौं राष्ट्रिय खेलकुदको तयारी चलिरहेकोले यो दसैंमा उनी घर जान पाइनन्।
 
इटहरी नगए पनि रेजिनाको परिवार सबै काठमाडौंमै भएकोले दसैं यतै मनाउँदै छिन् उनी। काठमाडौंको छाउनीमा रेजिनाका आमा, बुबा, र तीन बहिनी बस्दै आएका छन्। त्यसैले घर नगएपनि रेजिना एक्लो भने हुनेछैनन्।
 
उमेर बढ्दै गएपछि दसैंमा पनि खासै रमाइलो नहुने रेजिनाको बुझाइ छ। 'सानोमा दसैं आउँदा एकदमै खुसी लाग्थ्यो। हामी निकै रमाउथ्यौं,' १२ औं सागकी रजत विजेता रेजिना भन्छिन्, 'अहिले दसैं नै विशेष लाग्न छाडिसकेको छ।'
 
सानोमा उनीहरु इटहरी पुग्थे र हजुरबुवाको हातबाट टीका लगाउँथे। 'पाएको दक्षिणाबाट ड्याडीहरुले सपिङ गरिदिनुहुन्थ्यो,' उनी त्यो दसैं सम्झिन्छिन्, 'मामाघर पनि नजिकै छ। मामाहरुले पनि टीका लगाएर धेरै पैसा दिनुहुन्थ्यो। टन्नै पैसा बनाएर पिङ खेल्थ्यौं रमाइलो गर्थ्यौं।'
 
एक त ठूलो हुँदै गएपछि आमाबुवाले पनि छोरी आफैं पैसा कमाउने भई भनेर पैसा नदिने उनको गुनासो छ भने अर्कोतिर खेलाडी भएकोले प्रायजसो गेम अथवा ट्रेनिङ हुने हुँदा त्यसले रेजिनाको दसैंमा पनि असर गरेको छ।
 
'अहिले खेलाडी भएर आफैं पैसा कमाउने भएर होला ड्याडीले पनि आर्थिक सहयोगबारे वास्ता गर्नुहुन्न,' उनी सुनाउँछिन्, 'दसैंमा पनि धेरै बिदा हुँदैन। त्यसैले भरपूर रमाइलो गर्ने समय पनि नहुँदो रहेछ।'
 
दसैंकै लागि भनेर रेजिनाले सपिङ भने गर्दिनन्। 'म प्रायजसो जुनसुकै बेला सपिङ गरिरहेकै हुन्छु। त्यसैले दसैं नै कुर्नुपर्दैन नयाँ लुगा किनका लागि,' उनी भन्छिन्।
 
काठमाडौंमै टीका लगाउने रेजिना छाउनीमै पिङ खेलेर रमाइलो गर्दैछिन्। घर नगए पनि टीका लगाएर बहिनीहरुसँग पोखरा घुम्न जाने योजना छ उनको।
 
'पोखरामा दुई-तीन दिन घुमेर फर्कन्छौं,' उनले भ्रमण योजनाबारे भनिन्, 'यसपटक बहिनीहरुसँग घुम्नेमात्र हो। एक्लै एड्भेन्चर गर्न डर लाग्छ। पछि साथीहरुसँग जाँदा एड्भेन्चर पनि गरिन्छ।' फोटो : रेजिनाको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell