PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

​बिदाको मौकामा नेपाली फिल्म



स्वेच्छा राउत

​बिदाको मौकामा नेपाली फिल्म

चाडपर्व वा कुनै पनि सार्वजनिक बिदाको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउनु नेपाली चलचित्र क्षेत्रमा ट्रेन्ड बनिसकेको छ। यो दशैंको बिदालाई टार्गेट गरेर पनि दुई नेपाली चलचित्र शुक्रबारबाट सार्वजनिक भए।
 
ऋषी लामिछाने निर्देशित किस्मत २ र राज पोखरेल निर्देशित 'सुब्बा साब'।
 
१० वर्ष अघि प्रदर्शित किस्मत २का निर्माता छबी ओझाका अनुसार सार्वजनिक बिदाको समयमा फिल्म रिलिज गर्नुको मुख्य कारण दर्शकको फ्लो बढाउनु हो। पहिलोपोस्टसँग उनले भने,'खाली समय काट्न र पारिवारिक मनोरञ्जनका लागि पनि बिदाको समयमा फिल्म रिलिज गराउनु निर्माण युनिटका लागि फाइदाजनक छ।'
 
सुब्बा साब निर्देशक राज पोखरेलले पनि दशैंमा काठमाडौंबाट घर फर्कने दर्शकलाई ध्यानमा राख्दै फिल्मलाई काठमाडौं बाहिर बढी हलमा प्रदर्शन गरेको बताएका थिए। उनले भने, 'घर गएकाहरु टिका लगाएपछि वा घरेलु काम सक्काएपछि फुर्सदमा हुन्छन्। फुर्सदमा फिल्म हेर्नु धेरैको छनोट बन्छ।'
 
तर फूलपाती देखि द्वादशीसम्म काठमाडौंका फिल्म हलहरुमा भने दर्शकको फ्लो उत्साहजनक देखिएन। मल्टिप्लेक्समा पनि दशैंलाई टार्गेट गरेर रिलिज गरिएको दुई फिल्म सुब्बा साब र किस्मत टु नभएर ५ साता अघि सार्वजनिक छक्का पञ्जा हेर्नेको उपस्थिति बढी देखियो।
 
किस्मत टुका काठमाडौं डिस्ट्रिब्युटर गोपाल कायस्थका अनुसार काठमाडौंमा किस्मत टुको अपेक्षित दर्शक टार्गेट मिट गरेन।भने,'मल्टिप्लेक्समा छक्कापञ्जाको असर अरु नेपाली फिल्ममा परेको छ। ५ साता भइसक्दा पनि त्यही फिल्मको टिकट बढी बिक्री भएको देखियो।'

कायस्थले बताए अनुसार काठमाडौं भित्र र बाहिर गरी किस्मत टुले हालसम्म ९१ लाखको व्यवसाय गरिसकेको छ। नेपालभर  ७७ वटा हलमा एकसाथ प्रदर्शनमा आएको फिल्म अझै प्रदर्शन भइरहेको छ।
 
फिल्म सुब्बा साबका निर्माता हिरामणि अधिकारीले सुब्बा साब व्यवसायिक रुपमा राम्रो चलिरहेको जानकारी दिए। पहिलोपोस्टसँग भने, 'मल्टिप्लेक्समा हाम्रो फिल्मको शो नभएका कारण अरु नेपाली फिल्मले असर गरेको छैन। चाडपर्वका कारण डिस्ट्रिबयुटरसँग टोटलिङ गर्न नपाए पनि दिनहुँ दर्शक बढ्दो छन्।'
 
चाडपर्वमा बिदाका कारण दर्शक फ्लो बढी हुने मानिए पनि काठमाडौं भित्रका हलहरुमा हप्तादिन भर दुवै फिल्मको अपेक्षित दर्शक भिड देखिएनन्। सुपरहिट फिल्म छक्कापञ्जाका कारण यसअघि प्रदर्शित झुम्की, गाँँठो लगायत फिल्म एक हप्ता पनि नभई हलबाट आउट भएका थिए। साथै दशैंको छेको पारेर सार्वजनिक भएका दुवै नेपाली फिल्मलाई छक्कापञ्जाले असर गरेको देखियो।
 
तिहार बिदाको मौका छोपेर पनि नेपाली फिल्म 'राधा' सार्वजनिक हुने तयारीमा छ। निर्देशक योगेश घिमिरेले पनि बिदाका कारण दर्शक बढ्ने कारण नै फिल्म रिलिज तिहारको छेकोमा सार्वजनिक गर्न लागेको बताए। भने, 'दर्शकको बिदा मनोरञ्जनात्मक ढङ्गले बितोस् भनेरै रिलिज डेट तिहार बिदाको मौका छोपेका हौं।'
 
उसो त दशैं तिहार मात्र नभएर अन्य पर्व र बिदा पनि फिल्म निर्माण पक्षको छनोटमा पर्छन्। २०७४ को वैशाख १ गतेका लागि पनि तीन नेपाली फिल्म घोषणा भएका छन्। दीपेन्द्र के खनाल निर्देशित लभ लभ लभ, दीपेन्द्र लामा निर्देशित घामपानी र सुशील पोखरेलको निर्देशनमा बन्न लागेको राधे, यी तीनै फिल्मले नयाँ वर्षको मौका छोपी रिलिज मिति तय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell