PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

दुइटा दसैं 'मिस' गरेकी श्वेता भन्छिन्- 'दसैंले मलाई थप शक्ति दिएको छ'



स्वेच्छा राउत

दुइटा दसैं 'मिस' गरेकी श्वेता भन्छिन्- 'दसैंले मलाई थप शक्ति दिएको छ'

काठमाडौं : दुई वर्षअघि अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनका कारण श्वेता खड्काका लागि न दसैं आयो न त कुनै चाडबाड उमंग लिएर आए। पति गुमाउनुको पीडासँगै हिन्दु संस्कारले बाँधिएकी श्वेताले त्यो वर्षको दसैंमा दुर्गा भवानीको प्रसाद मानिने टीका-जमरा ग्रहण गरिनन्। त्यसपछिको अर्को दसैं पनि उस्तै उदासीपन बोकेर भित्रियो। २०७२ को दसैंमा पनि उनको निधार रित्तो रह्यो। सासूआमा गुमाएका कारण पोहोरको दसैं मनाउन पाइनन्।
 
दुई वर्ष दसैंमा रमाउन नपाएकी श्वेताले यसपालि भने निधारमा रातो टीका लगाइन्। शिरमा पहेँलो जमरा सिउरिइन्। मान्यजनबाट आशीर्वाद ग्रहण गरिन्।
 
'दुइटा दसैं खल्लो बिताएर पुन: मनाउन पाउनुको मज्जै अर्कै हुने रहेछ,' पहिलोपोस्टसँग उनले खुसी साटिन्, 'यो दसैंमा आफन्त र साथीभाइसँग खुब भेटघाट भइरहेको छ। म त टीका थाप्नैमा व्यस्त छु।'
 
घर र माइती दुवैतिर दसैं मनाउन पाउँदा उनी झनै दंग छिन् उनी। 'मेरो दुई परिवार छ। दुईतिरैबाट शुभेच्छा र आशीर्वाद पाउँदा धेरै खुसी छु,' उनी भन्छिन्।
 
उनले ९३ वर्षका बुबाको हातबाट टीका ग्रहण गरिन्। श्वेतालाई दुई वर्षयता टीका लगाउन नपाएका बुबामात्र होइन परिवारका अन्य सदस्यहरु पनि निकै खुसी देखिएका थिए यस पटक।
 
मान्छेले जीवनमा एउटा निश्चित लक्ष्य लिएर हिँडेको हुन्छ। भरसक ऊ एउटै काममा मात्र लीन भएर लाग्न चाहन्छ। रिल लाइफ, रियल लाइफ अनि बिजनेस लाइफ, यी तीन वटै पाटोलाई सँगसँगै लिएर हिँड्नु भने धेरैका लागि चुनौती हो। तर श्वेता यही चुनौतीलाई सन्तुलनमा राखेर जीवनको गोरेटो तय गरिरहेकी छिन्।
 
दुई दसैं बेचैनी र रङ्गहीन भएरै बिते पनि दसैंले थप शक्ति दिएको उनले महसुस गरेकी छिन्। दसैंमा टीकाको दिनलाई विशेष मान्ने श्वेताले सुनाइन्, 'वास्तवमै दसैंमा पाउने आशीर्वादले मेरो जीवनमा ऊर्जा थपेको छ।' (सबै फोटो श्वेताले नै उपलब्ध गराएकी हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell