PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

तिहार लक्षित अनुगमनका लागि ५ टोली खटियो



काठमाडौं : सरकारले तिहारलाई लक्षित गर्दै आजदेखि पाँच वटा विशेष अनुगमन टोली परिचालन गर्ने भएको छ।
 
तिहारमा मिठाई, फलफूल तथा ड्राइफुड्समा मूल्यवृद्धि र मिसावटलाई नियन्त्रण गर्न विशेष अनुगमन सुरु गर्न लागिएको हो।
 
आपूर्ति मन्त्रालयका सचिव प्रेमबहादुर राईको नेतृत्वमा द्रूत अनुगमन समितिमार्फत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्तावादी संगठन, प्रहरी लगायत सम्बन्धित क्षेत्रका १२ प्रतिनिधि सम्मिलित टोली गठन गरिएको छ। मन्त्रालयका सचिव राईका अनुसार टोलीले उपत्यकामा नाम चलेका मिठाई, फलफूल तथा ड्राइफुड्स पसलहरुमा अनुगमन गर्नेछ। 'दसैंमा विशेष अनुगमन टोली परिचालन गर्दा बजार नियन्त्रणमा आएको थियो,' उनले भने, 'त्यसलाई आधार मानेर तिहारमा पनि विशेष अनुगमन टोली तयार भएको हो।'
 
विशेष अनुगमनमा खाद्यान्नको गुणस्तर, नापतौल र मूल्य प्राथमिकतामा पर्ने मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले बताए। आजदेखि सुरु हुने विशेष अनुगमन तिहारसम्म चल्नेछ।
 
त्यस्तै उपत्यका बाहिरका जिल्लाहरुमा पनि प्रभावकारी बजार अनुगमन गर्न प्रत्येक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विशेष अनुगमन टोली परिचालनका लागि गृहमन्त्रालय मार्फत निर्देशन दिएको श्रेष्ठले जानकारी दिए।
 
तिहारमा बढी प्रयोग हुने खाद्यान्न बाहेक पनि दैनिक उपभोग्य वस्तुमा पनि अनुगमन तीव्र पारिने आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक गोकुल धितालले जानकारी दिए। 'हामीले खानेपानीको अनुगमन थुप्रै उजुरी र कैफियत भेटिएकाले यसलाई प्राथमिकतामा राखेका छौं,' उनले भने।
 
दसैंदेखि छठसम्म सञ्चालन हुने सुपथ मूल्य पसल र ठूला डिपार्टमेन्टल स्टोर लगायत उपभोक्ताको विशेष घुइँचो लाग्ने स्थानमा नियमित रुपमा अनुगमन गर्ने धितालको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell