आवारा केटाहरुको ग्याङ ग्यारेजमा छिर्छ। काम गरिरहेको केटालाई अरुको काम छोडेर आफ्नो गाडी बनाइदिन भन्छन् तीमध्येका एकले। केटो मान्दैन। पूरै ग्याङ युवकमाथि जाइलाग्छ।
थिलथिलो होउन्जेल एक जनाबाट कुटाइ खाँदा पनि काम गर्ने केटोले हात फर्काउन सक्दैन। त्यसै बखत इन्ट्री हुन्छ देवको। देवको एकै लातले ढल्छन् ग्रुपको नाइकेसहित ५/६ जना।
दृश्य हो सात वर्षअघि सार्वजनिक भएको रोज राणा निर्देशित फिल्म 'दोस्ती'को। फिल्म सुरुवातको यो दृश्यलाई फिल्मभरि पछ्याउँछ अन्य मारपिट र झै-झगडाको दृश्यले।
एक्सन जानराको यो फिल्ममा एकसाथ देखिए तीन एक्सन हिरो निखिल उप्रेती, विराज भट्ट र अर्जुन कार्की।
असुरक्षित र जोखिमपूर्ण
फिल्ममा उनीहरुले गुण्डाको झुण्डलाई पटक-पटक उठ्नै नसक्ने गरी कुटेको एक्सनको निर्देशन भने एनबी महर्जनले गरेका हुन्। फिल्म सुटिङताका एनबीसँगै फ्लोरमा जान्थे अर्का एक्सन निर्देशक अष्ट महर्जन। टेलिसिरियलहरुमा झैझगडाको निर्देशन गर्ने अष्ट निकै उत्साही थिए गुरु एनबीसँग ठूलो पर्दाको फिल्मका लागि काम गर्न।तर, फिल्म दोस्तीको सुटिङका क्रममा निकै अप्रिय घटना घट्यो। भिरबाट बाइक खसेर पड्केको दृश्यमा आगो लगाउनुपर्थ्यो। त्यसै गरियो पनि। तर अचानक आगो उछिट्टिएर गुरुसँग गएका अष्टको ज्यानमा पर्योथ। आगोले उनी सिकिस्त भए। टाउकोको बीच भागका सबै कपाल गुमाए। घटना सम्झँदै अष्टले सुनाए, 'आगोले पोलेको पीडा त छँदै छ। तर, अहिले पनि मेरो टाउकोको बीचमा कपाल छैन।'
उनलाई लाग्छ असुरक्षित स्टन्ट र अव्यवस्थित एक्सन सिनका कारण निम्तिएको अवस्था थियो त्यो। त्यतिखेर एक्सन भन्नासाथ हिरोले गुण्डाको भिडलाई मुक्का वा लात हानेर ढालिदिने, बाइक सहित हिरो वा गुण्डा ढल्ने, बन्दुक वा कुनै धारिलो हतियारबिनै फाइट सिन अपूरो हुने मान्यता थियो। दर्शकको अपेक्षा पनि त्यही अनुरुप हुन्थ्यो। निकै असुरक्षित एवं जोखिमपूर्ण सिनहरु एनिमेट गर्नका लागि प्रविधि सस्तो भइसकेको थिएन। त्यसैले कुनै पनि हालतमा फाइट सिनलाई भयानक देखाउन जोखिम मोल्थे फिल्म निर्माता, निर्देशक देखि फाइट निर्देशक र कलाकार।
दर्शक बाठा, प्रस्तुति परिवर्तन
यथार्थपरक द्वन्द्व निकै कम देखाइन्थ्यो। तर अष्ट महर्जनले ५/६ वर्ष अघिसम्म पनि देखाइने त्यस्ता काल्पनिक एक्सनमा निकै कमी आएको महसुस गरेका छन्। भन्छन्, 'दर्शक बाठा भइसकेका छन्। उनीहरुलाई हिरो एउटाले गुन्डाको पूरै ग्याङलाई एक्लैले ढाल्छ भनेर विश्वास छैन अब।'केही वर्षयता नेपाली फिल्मले उठाउने विषय र प्रस्तुतिमा परिवर्तन भएको छ। पहिले धेरै काल्पनिक कथा, संवाद र दृश्यलाई ठाउँ दिइन्थ्यो। केही अपत्यारिला र हुनै नसक्ने घटनाहरु देखाइन्थ्यो।
तर अहिले प्रस्तुतिमा परिवर्तन आएको छ। फिल्ममा समाजलाई देखाउने, धेरैले भोग्ने, देख्ने, महसुस वा अनुभव गर्ने विषय उठान गर्ने फिल्म बन्न थालेको बताउँछन् चलचित्र निर्देशक निश्चल बस्नेत। 'अहिले त परिवर्तन भयो नि! सबै संवाद, पटकथा एवं दृश्य प्रस्तुतिमा त्यस्तै असर देखिएको छ,' उनी भन्छन्।
पछिल्ला चलचित्रहरुमा हिरोहरु भुईंबाट सात फुटमाथि उडेको दृश्य कम देखिन थालेका छन्। चलचित्रमा भावनात्मक द्वन्द्व र पात्रहरुको टकराव देखाउने प्रस्तुति छन्। चलचित्र सफर, गाँठो, कबड्डी कबड्डीमा पनि पात्रहरु जुध्छन् तर एक्सन भद्दा र अस्वभाविक लाग्दैन।
प्रविधिले ल्याएको परिवर्तन
एकपटक हानेपछि भिलेन मरेको पनि विरलै देखिन्छ। ७/८ तला घरमाथिबाट हामफाल्दा पनि हिरो वा भिलेन सकुशल रहेको देखिने दृश्य पनि कम भएका छन्। केही डरलाग्दा र जोखिम मोलेर प्रस्तुत गरेको प्रष्ट देखिने सिन त राखिन्छ। तर त्यसमा पनि प्राय एनिमेसन हुने बताउँछन् एनबी महर्जन। २३ वर्ष यता एक्सन निर्देशन गर्दै आएका एनबीले फिल्ममा देखिएको परिवर्तनलाई सकारात्मक र आवश्यक भन्छन्। एनबीका अनुसार पहिले फिल्ममा एक्सनमात्र होइन अन्य दृश्य पनि खिच्न गाह्रो हुन्थ्यो। एक्सन सुट गर्नका लागि सामना गर्न पर्ने अफ्ठ्याराहरु छुट्टै थिए।दुई दशक लामो अनुभव बोकेका एनबी भन्छन्, 'प्राविधिक विकास नै एक्सन निर्देशन र प्रस्तुतिको ठूलो सकारात्मक परिवर्तन हो। प्रविधिपछि प्रतिस्पर्धा अर्को ठूलो परिवर्तन मान्छु म।'
प्रविधिकै विकासका कारण एक्सन प्रस्तुति केही हदसम्म सुरक्षित र कम जोखिमपूर्ण भएको ठान्छन् उनी।
महिला निर्देशक किरण दाहाल पनि सुरक्षा बढेको र रिस्क कम भएकै कारण महिला निर्देशकको पनि सङ्ख्या बढेको बताइन्।
तरङ्ग, कुइनेटो लगायतका फिल्ममा एक्सनको निर्देशन गरेकी किरणले पहिलेको तुलनामा अहिले निर्देशन सहज हुनुको कारण रियालिस्टिक प्रस्तुति हो भन्ने ठान्छिन्। भन्छिन्, 'द्वन्द्वमा ड्रामा मिसाउन छोड्नुले रिस्क कम गरेको छ।' तर एक्सन निर्देशनलाई थप व्यवसायिक बनाउन आवश्यक देख्छिन् उनी।
एक्सनको आकर्षण बढी तर छाप कम छ नेपाली फिल्ममा। किरण भन्छिन्, 'सुरुवातमा एक्सन निर्देशक दु:खी हुन्छन् - पैसाको हिसाबमा, सुरक्षाको हिसाबमा। पछिसम्म हरेश नखानेहरु यो फिल्डमा टिक्छन् पनि बिक्छन् पनि।'
'नेपाली फिल्मले एक्सन सिक्न बाँकी'
तर, निखिल उप्रेती एक्सनको परिवर्तनलाई मान्ने पक्षमा छैनन्। ‘हाम्रो सोचले यथार्थ प्रस्तुति मान्ने भए हाम्रो देशमा आएर हलिउड र बलिउड एक्सन मुभीले किन करोडौंको व्यापार गर्छ?’ उनको तर्क कम बलियो छैन।भन्छन्, 'एक्सनमा ड्रामा दर्शकलाई नरुच्ने भए हलिउड मुभीमा सास फेर्दा भित्ता भत्केको फिल्मलाई किन धुप बत्ती बालेर पुँजुला झै गर्छन्?'
फिल्मका एक्सनकै कारण निखिलको ज्यानमा कुनै पनि हड्डी सकुशल नरहेको उनको दाबी छ। पटक पटक सुनाएका छन् उनले। अझै पनि उनलाई लाग्छ नेपाली फिल्मले एक्सन सिक्न बाँकी छ। भन्छन्, 'हामीले जती ड्रामाटिक एक्सन देखाउँछौं त्यतिले अझै पुगेकै छैन।'
ड्रामाटिक एक्सनकै कारण उनी फिल्म इन्डस्ट्रीमा टिकेको दावी गर्छन्। व्यङ्ग्यात्मक ढङ्गमा सुनाउँछन्, 'रियालिटीको नाममा दर्शक निराश पार्ने कामको प्रयोग हुन्छ। गर्न सहज काम गरेर दर्शक खुशी हुँदैनन्।'
उनको लागि एक्सन नै हिरोइज्म हो।
दुई किसिमका दर्शक
निर्देशक अष्ट महर्जनले आफ्नो गरेको अवलोकन अनुसार एक्सनको दर्शक दुई भागमा विभाजित छन्। उनले सुनाए, 'मल्टिप्लेक्सको दर्शकले रियालिटी बेस्ड एक्सन चाहेको पाएँ। त्यस्तै सिंगल थियटरमा उपस्थित प्रायले ड्रामाटिक एक्सन रुचाएको देखेँ।'तर एक्सन निर्देशक योगेन्द्र श्रेष्ठको भिन्न तर्क छ। उनलाई लाग्छ एक्सनले पनि सन्देश बोकेको हुन्छ र सन्देशको दर्शक छुट्टिँदैनन्। भन्छन्, 'एक्सन कथाको माग हो। कथा धेरै काल्पनिक छ भने एक्सन नि त्यही अनुसार हुनुपर्छ र कथा यथार्थापरक छ भने एक्सन पनि त्यस्तै हुनुपर्यो।'
श्रेष्ठ एक्सनको ट्रेन्डमा परिवर्तन आएको मान्दैनन्। भन्छन्, 'परिवर्तन भनिएको सबै एक्सनहरु नयाँ प्रयोग मात्र हुन्।'