PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पुरानो नेतृत्वले धेरै गुण लगाउनुभएको छ, धेरै योगदान छ : नवनिर्वाचित एन्फा अध्यक्ष



पुरानो नेतृत्वले धेरै गुण लगाउनुभएको छ, धेरै योगदान छ : नवनिर्वाचित एन्फा अध्यक्ष

  • नरेन्द्रलाल श्रेष्ठ
आज फुटबलको जित हो। हाम्रो योजना भनेको फुटबललाई विकास गर्ने हो। फुटबललाई अगाडि बढाउने हो। अहिले फुटबलले राम्रो स्तर देखाएको छ। त्यसलाई निरन्तरता दिने हो। काम गर्नुपर्ने धेरै छ। जस्तो पारदर्शिता, आर्थिक पारदर्शिता, सामूहिक नेतृत्वमा विश्वास गर्ने, ग्रासरुट डेभलपमेन्ट प्रोगामहरु छन् जसलाई हामीले जिल्ला-जिल्लामा पुर्यावउने सोच बनाएका छौं।

अर्को- फुटबलको मुख्य आधारको रुपमा रहेको जिल्ला फुटबल संघ, क्लबहरुलाई सक्षम बनाउने। फिफा र एएफसीबाट पनि राम्रो सहयोग रहेको यसै साधारण सभाबाट देखिएको छ। साधारण सभा पनि सफल रुपमा सम्पन्न भएको छ। फिफा र एएफसी पनि धेरै खुशी छन्। यसले राम्रोसँग काम गर्ने वातावरण मिल्नेछ। 

हामीले चुनाव जिते पनि कोही कसैसँग पूर्वाग्रह छैन। हाम्रो सबैसँग राम्रोसँग मिलेर जान्छौं। राम्रो कामका लागि हारजित हुन्छ नै। हामी स्पोर्टसम्यानसिप र फेयर प्लेमा विश्वास गर्छौ।

र, हामीलाई यहाँसम्म आउन ज-जसले साथ दिनुभो, विश्वास गर्नुभो। हामी त्यसलाई डगमगाउन दिने छैनौँ। 

चुनावका बेला धेरै किसिमका कुराहरु अगाडि आउँछन्, तर यस्ता खाले कुराले खासै प्रभाव पार्छ जस्तो लाग्दैन।

अब नयाँ नेतृत्व आएपछि काम पनि नयाँ नै हुन्छ, पुरानो नेतृत्वको कुरा गरेर काम छैन। तर पुरानो नेतृत्वले पनि फुटबलमा धेरै गुण लगाउनु भएको छ। त्यसलाई सबैले मान्नुपर्छ। । 

फुटबललाई यो स्टेजसम्म पुर्‍याउन उहाँले पनि योगदान गर्नुभएको छ। त्यसैलाई निरन्तरता दिँदै अझ नयाँ-नयाँ काम गर्नु हाम्रो कर्तव्य हो।
हामीले मात्रै एक्लै गर्छु भनेर पनि सकिने होइन। सम्पूर्ण टिम, जिल्ला संघ, क्लबहरु मिलेर अब फुटबललाई अगाडि बढाउने हो। 

हामी दुईटा चिरा देखिएको जस्तो देखिए पनि कोहीसँग पूर्वाग्रह छैन। सबै मिलेर जानुपर्छ। अर्को वर्ष फेरि नियमित प्रक्रियाअन्तर्गत नै सम्पूर्ण पदाधिकारीको चुनाव हुन्छ। त्यसैले एक वर्ष सबै मिलेर जानुपर्छ।

चुनाव भयो भने एउटा पक्ष र विपक्ष हुन्छ नै तर हामी त्यस्तो होइन। हाम्रो मुख्य लक्ष्य भनेको सबैसँग मिलेर अगाडि बढ्ने र सबै मिलेर फुटबलको विकास गर्ने नै हो।

यस्तै विधानमै उल्लेख भएका कारण हामीले मानार्थ अध्यक्षको पनि चयन गरेका छौं। फुटबलमा योगदान गरेको व्यक्तिलाई मानार्थ अध्यक्षको रुपमा राख्न सकिने व्यवस्था विधानमा भएकै कारण हामीले टासी घलेलाई मानार्थ अध्यक्ष चयन गरेका हौं। 

फुटबलमा लागेका व्यक्तिलाई कुनै न कुनै रुपमा हामीले हामीसँगै अगाडि लैजानुपर्छ।

यसले फुटबलमा काम गर्ने धेरै म्यानपावर र विज्ञहरुको जमघट हुन्छ जसले गर्दा हामीले कार्यविभाजन गरेर अगाडि बढ्न सक्छौं। विधानमै उल्लेख भएका कारण हामीले यसो गरेका हौं। उहाँको भोटिङ राइट चाँही हुन्छ। आवश्यक परे सल्लाह सुझाव दिन सक्नुहुन्छ।

हामी थप कार्यक्रमहरु ल्याएर फुटबललाई अझ राम्रोसँग अगाडि बढाउँछौं। 

मलाई खासै चुनौति भए जस्तो लाग्दैन। हामीसँग काम गर्ने टीम छ।, हामीले बी र सी डिभिजन लिग गरिसकेका छौं। अब ए डिभिजन लिग गर्न बाँकी छ। यस्तै विभिन्न खालको ट्रेनिङ प्रोग्रामहरु पनि सुरु गरिसकेका छौं। राष्ट्रिय फुटबल टीमको पनि राम्रो तयारी भइरहेको छ। नोभेम्वरमा मलेसियामा सोलिडारिटी कप खेल्न जाँदै छ। 

हामीसँग केही चुनौती होला तर त्यसलाई पार गरेर जाने क्षमता पनि हामीसँग छ।

(सोमबार सम्पन्न साधारण सभाबाट कर्माछिरिङ शेर्पालाई पराजित गर्दै अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदमा नियुक्त भएका श्रेष्ठले सञ्चारकर्मीहरुसँग गरेको कुराकानीको सम्पादित अंश)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell