एक जमाना थियो, कलाकार बसुन्धरा भुसाल निर्धक्क मञ्चमा नाटक प्रस्तुत गर्थिन्। सँगै काम गर्नेको तारिफ बटुल्थिन्। मञ्चबाट निस्किएपछि भने एक किसिमको भयले सताउँथ्यो। दर्शक, समाज र परिवारको भनाई वा गाली कलाकार महिलाको बाध्यता थियो। नाटक मञ्चन भएको दिन उनलाई थाहा हुन्थ्यो बुबाले आज कुट्नु हुन्छ भन्ने।
'नाटक गरेको भनेरै बुबाको हातको कुटाई त कति खाएँ खाएँ। तर त्यो समय कुटाई स्वीकार्न नसकेको भए अहिले अवार्ड, सम्मान स्वीकार्न कहाँ योग्य हुन्थें र?,' उनी भन्छिन्।
सामाजिक संरचना नै त्यस्तै थियो। कलाकार मात्र होइन महिलालाई दैलो बाहिर निस्किएर काम गर्दा धेरैले मान्यता विपरीत सोच्ने उनको अनुभव छ। छोरी मान्छेले पढेको, लेखेको देख्न नसक्नेहरुको भिडमा काम गर्नु, कलाकारितामा लाग्नु निकै तल्लो तहको काम मानिन्थ्यो।
२०२२ सालमा पहिलोपटक सूचना मन्त्रालयको बनाएको आमा फिल्म सार्वजनिक भएसँगै हास्यकलाकारको रुपमा देखिएकी बसुन्धरालाई 'जोकर'को उपमा दिइयो। कलाकारितामा लाग्नाले घरमा सिर्जना भएको अफ्ठ्यारो परिस्थिति त छँदै थियो। साथै समाजले बिग्रिएकी, छिल्लिएकी जस्ता वचन लगाउँदा पनि उनमा कलाकारिता प्रतिको लगाव उस्तै रह्यो। २०१४ सालमा रङ्गमञ्चबाट अभिनय थालेकी बसुन्धराको माइतीमा अभिनय बुझ्ने कोही भएनन्।
केही निराश हुँदै सुनाँउछिन्,'बुबा त मैले अपनाएको क्षेत्रलाई नस्वीकारेरै बितेर जानु भयो। आमाले चाही निकैपछि मात्र मेरो अभिनय हेर्न थाल्नु भयो।'
पतिले भने उनलाई हरेक फिल्म, नाटकका लागि सहयोग गरे, साथ दिए। त्यसैले उनी नेपाली कलाकारितामा आजसम्म सक्रिय छिन्। आफ्नो सुरुवाती दिनदेखी आजसम्म कलाकारिता, कलाकारको जीवन र कलाकारितालाई हेर्ने शैलीमा आएको परिवर्तनलाई सकारात्मक रुपमा हेर्छिन् उनी। अभिभावकदेखि समाजसम्मले कलाकारिता मनोरञ्जन मात्र नभएर संदेशका लागि, चेतनाका लागि, सामाजिक यथार्थ प्रस्तुत गर्ने माध्यमका रुपमा लिन थालेको उनको मान्यता छ।
भन्छिन्,'हरेक स्कुल कलेजमा नाट्य, गायन, नृत्य कक्षा अनिवार्य हुनु पक्कै परिवर्तन हो। अझ हरेक आमाबुबाले आफ्नो छोराछोरीलाई स्टेजमा देख्नु चाहनु निकै सुन्दर परिवर्तन।'
बसुन्धरा भुसालले जस्तो घरमा गाली, कुटाई खाएर, डर र भयबीच कलाकारितामा लाग्न परेन नेपालकी पहिलो नायिका भुवन चन्दलाई। पहिलोपटक आमा फिल्ममा नायिकाको रुपमा देखिएकी उनी गायक तथा संगीतकार भैरवराज थापाकी छोरी थिइन्। भन्छिन्,'कलाको महत्व बुझेको परिवार भएको कारण मलाई अरुलाई भन्दा केही सहज भयो नाटक र फिल्ममा काम गर्न।'
'पहिले त पैसा हैन प्रसाद मात्रै पाइन्थ्यो'
अभिनय गर्छु, पैसा कमाउँछु भन्नु कुनै पनि कलाकारको अपेक्षा हुँदैन थियो। कलाकार कला प्रस्तुतीकै लागि मात्र समाजसँग बिद्रोह गर्थे। महिलाको हकमा निकै गाह्रो भएपनि कलाकारिता प्रति लगाव भएका महिलाकै कारण नेपाली फिल्महरु एक पछि अर्को गर्दै बन्न थालेको उनको बुझाई छ। उनी यसरी आफ्नो तर्क राख्छिन्,'महिला कलाकारले समाज, परिवारसँग डराएर बसेको भए, पैसा कमाउने काम होइन भन्दै तर्किएको भए के हुन्थ्यो?'
पहिले फिल्म खेल्दा पाइने खाजा, खाना र नाट्यदेवीको प्रसादसँग अहिले नायक, नायिकाको पारिश्रमिक दाज्दै सुनाउँछिन्,'पैसा महङ्गो थियो या हामीलाई त्यसको मतलब भएन कुन्नी, आम्दानी नभएपनि कला क्षेत्र छोड्न सकिएन।'
पहिले सरकारले कलाकेन्द्रलाई दिने अनुदानले संस्था चल्थ्यो। २०२०, २०२१ र २०२२ सालमा भने प्रज्ञा प्रतिष्ठानले नै ट्रेनिङ दियो र त्यसबापत कलाकारलाई हरेक महिना १५० दियो। त्यतिमै दङ्ग थिए सबै।
अहिले फिल्म र नाटक व्यवसायिक हुँदै जानाले नै यसप्रतिको क्रेज बढेको, समाजले सहज रुपमा कलाकारिता स्वीकार्न सकेको उनको विश्वास छ।
'ग्ल्यामरको नाममा भद्दापन बढ्यो'
आमा फिल्ममै आमाको भूमिका गरेकी र पहिलो रङ्गिन नेपाली चलचित्रमा नायिका रहेकी चैत्यदेवी सिंह। उनले त्यस समय फ्रान्सबाट निर्देशन सम्बन्धी पढाई सक्काएर आइन्। उनको लागि फिल्म क्षेत्रमा लाग्नु समाज वा परिवारसँगको लडाईं बनेन। तर नेपालमा फिल्मका लागि न प्रविधि राम्रो थियो न दर्शकको भिड। 'नेपाली कलाकारिता क्षेत्रमा सकारात्मक परिवर्तनको लागि प्राविधिक विकासले धेरै ठूलो भूमिका निभाएको जस्तो लाग्छ', चैत्यदेवी केही सन्तुष्ट भएको जनाउ दिंदै आफ्नो भनाई राख्छिन्।तर ग्लामरको नाममा भद्दापन केही बढेको उनको अनुभव छ। अश्लीलतालाई कलामा नमिसाउँदा राम्रो भन्छिन् उनि। भन्छिन, 'हरेक प्राकृतिक वस्तु, विषयलाई कलात्मक ढङ्गलेनै प्रस्तुत गर्न सके कलाकारिताको छुट्टै महत्व रहन्छ। अति छोटा पहिरनमा देखिनु र हल्का शब्दहरुको प्रयोग मात्र अभिनय हुनै सक्दैन।'
पहिले अनुहार, जिउडाल जस्तो भएपनि कलाकार खोजिन्थ्यो। उसको प्रस्तुति, बोली जाँचिन्थ्यो। कलाकारको कमी थियो तर पनि अभिनयमा 'राम्रो'लाई स्टेज र स्क्रिनमा ठाउँ दिइने र अहिले 'हाम्रो' र अनुहारमा 'राम्रो' खोजीने प्रवृती हाबी भएको चैत्यदेवीको दाबी छ।
'जो टिक्छन् उही बिक्छन्'
'मनको बाँध' फिल्मबाट ठूलो पर्दामा अभिनय सुरु गरेकी रङ्गमञ्चकी कलाकार हुन् सुभद्रा अधिकारी। उनले चिनो, कन्यादान, भाउजु जस्ता दर्जनौं सफल मानिएका चलचित्रमा अभिनय गरिन्। बिक्रम संवत् २००७ साल देखि २०६० सालसम्म निरन्तर नाटक साथै ठूलो पर्दामा अभिनय गरिन्। उनको लामो अभिनय यात्रामा भने अरुको भन्दा फरक अनुभव छ।भन्छिन्,'न दर्शक बढे सरह हाम्रो बजार, लगानी बढ्न सक्यो न कलाकारितामा लाग्न सहज रह्यो।'
अपवाद बाहेक निकै कमले कलाकारिताबाट चर्चा कमाउन सकेका छन्। चर्चा परको कुरा यो क्षेत्रमा टिक्न सक्ने निकै कम छन्। जो टिक्छन् उही मात्र बिक्छन् भन्नु उनको बुझाई रहेको छ।
कलाकार बढ्नु, निर्माता निर्देशक बढ्नु, प्रविधिमा बिकास हुनुले सिङ्गो समाजको मान्यता, सोचाईलाई प्रतिनिधित्व गर्दैन भन्छिन् उनी। 'अभिनय गर तर अभिनयलाई नै मात्र लक्ष्य नबना भन्नेको झुण्ड धेरै छ', उनी आफ्नो तर्कलाई निरन्तरता दिंदै भन्छिन्,'फिल्म नाटक हेर्ने तर त्यसैमा अभिनय गर्नेलाई पुर्ण सकारात्मक भएर हेर्नेहरु नबढेसम्म दर्शक बढे भन्न मिल्दैन।'
भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवी र सुभद्रा यी एउटा पुस्ताको महिला कलाकार प्रतिनिधि मात्र होइनन्। दुई दशकभन्दा लामो समय निरन्तर नेपाली फिल्म क्षेत्रमा महिला पात्रको भूमिका धानेका मेरुदण्ड हुन्। यिनले आआफ्नो ढङ्गबाट फिल्म क्षेत्रको परिवर्तन नियालेका छन्। यी सबैलाई लाग्छ नेपाली फिल्म क्षेत्र अझै व्यवसायिक हुनु छ, विश्वव्यापी रुपमा यसको विकास हुनु छ। त्यो भन्दा बढी कलाकारले सहज वातावरणमा यसै क्षेत्रमा केही दिंदै केही लिंदै जीवन कटाउन सक्ने अवस्था सिर्जना हुनुछ।