काठमाडौं : शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आयो फिल्म 'राधा'। पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मले त्यहाँको स्थानीय कथा बोकेको निर्देशक योगेश घिमिरेले दाबी गर्दै आएका छन्। के राधाले साँच्चै त्यहाँको आम जनताको कथा बोकेको छ त? दर्शकको मनमा प्रश्न उठ्न सक्छ।
एक युवती राधा (सञ्चिता) राम नामक पात्र (जीवन) लाई चिन्नुअघि उसको व्यक्तिगत कुरामा चासो दिन पुग्छे। एक अपरिचित केटीले विवाह सम्बन्धी अनावश्यक चासो राखेको मन नपरेपछि राम राधाबाट भाग्न खोज्छ। तर नियति वा संयोग- उसको काम गर्ने ठाउँमा पुन: राधासँग भेट हुन्छ।
यी दुई पात्रकै विसंगत जीवनचक्र देखाउने होडमा फिल्मको रिल घुम्छ तर कथा, विषय र पात्रको अन्योलमै फिल्म सकिन्छ। मुख्य विषय के हो? यसमा भने 'राधा'ले उत्तर दिँदैन।
फिल्ममा कमजोरी हुँदाहुँदै पनि केही सबल पक्ष पनि छन्।
सबल पक्ष
१. सञ्चिता सामर्थ्य : आलोचनाकी पात्र बनेकी सञ्चिता लुइँटेल फिल्म रिलिजअघि नायिका सञ्चिताको शरीरको मोटाइको निकै चर्चा रह्यो। फिल्मी क्षेत्रमा उनको रि-इन्ट्रीसँगै अनावश्यक मोटो शरीरले मिडियामा खुब ठाउँ पायो। तर, राधामा भने उही सञ्चिताको अभिनय कृत्रिम देखिएको भान हुँदैन। केही ठाउँमा बाहेक उनको हाउभाउ र अभिनयलाई मोटो शरीरले असर नपारेको प्रस्ट हुन्छ।नृत्यमा पनि उनले आफैंलाई साबित गरेकी छिन्। अनावश्यक तन्काइएको राम-राधाबीचको झगडाले दर्शक बोर हुँदै गर्दा 'छपक्कै फूल फूल्यो' गीतमा नाचेकी सञ्चिताले पुन: दर्शकको ध्यानलाई एकत्रित गर्ने सामर्थ्य राख्छिन्।
२. गीत, संगीत : फिल्मका गीतमा शब्द दिएका डा. कृष्णहरि बरालले पहिलोपोस्टसँगको कुराकानीमा भनेका थिए, 'फिल्म चल्न गीतले पनि ठूलो भूमिका खेल्छ। राधामा दर्शक, स्रोतालाई छुने गीत र संगीतको प्रयोग छ।'
उनले भनेजस्तै फिल्ममा फरक शब्दका तीन गीत छन्। सबै रोमान्टिक र रमाइला। 'फूल सारा बेकार' गीतलाई ट्राजिक सङ्गका रुपमा पनि प्रयोग गरिएको छ।
गीतहरुमा शब्द भावनात्मक सुनिन्छन्। यसमा बसन्त सापकोटाको संगीत प्रयोग राम्रो लाग्छ।
पार्श्व संगीतमा पनि एलिस कार्कीले मेहनत गरेको पाइन्छ। तर गीतकार बरालले भने जस्तै प्रस्ट कथाबिना गीत, संगीतले मात्र हलहरुमा फिल्मको आयु कति समयलाई निर्धारण होला? यो त हेर्न बाँकी नै छ।
३. सुन्दर दृश्य र निर्देशकीय : सफल निर्देशकका रुपमा परिचित योगेश घिमिरेले राधामा पनि मेहनत गरेको देखिन्छ। विषय उठान र कथा प्रस्तुतिमा फिल्म कमजोर लाग्दालाग्दै पनि निर्देशनको कोणबाट फिल्म नराम्रो भन्न मिल्दैन।
पूर्वका झापा, इलाम र भारत दार्जिलिङका दृश्यलाई छायांकारले निकै सुन्दर ढङ्गमा खिचेका छन्। ती दृश्य भने फिल्मका प्लटमा कम र गीतमा बढी देखाइएको छ।
४. चेतनाका लागि विषय उठान : बेरोजगारीले निम्त्याउने युवा मनोभाव, पारिवारिक चिन्तालाई नायक-नायिकाको मिटिङ पोइन्ट बनाइएको छ। सोही विषयमाथि संवादमा जोड दिइएको छ। वैदेशिक रोजगारका लागि विदेशिन बाध्य युवायुवतीको कथाझैं पनि लाग्छ फिल्म। जुवातासका कारण बिग्रिएको परिवारको कथा पनि बोल्छ। पासपोर्ट दुरुपयोग गर्ने मेनपावरलाई पनि व्यङ्ग्य गर्छ। र, निकट मानिएकाहरुबाट नै हुने धोकालाई पनि क्लाइमेक्समा पनि अटाइएको छ।
विषय टुक्राटुक्रा छन् तर ती सिन चेतनाको स्तरमा हिट गर्ने उद्देश्यले उठाइएका जस्तो लाग्छन्।
फिल्म राधाले प्रचारका समय हिन्दु धर्मका देउता मानिने 'राधा र कृष्ण' होइन राम र राधाको कथा भनेर प्रोमोशनमा लाग्यो। तर राधा र रामको कथाले फिल्मको धर्म भने पूरा गर्न सकेको दर्शकले पाउँदैनन्।
कमजोर पक्ष
१. छरप्रस्ट कथा : दुई मुख्य पात्र राम र राधाको गरिबी र बेरोजगारी अवस्थालाई फिल्मले देखाउन खोजेको छ। सँगै एउटा अनलाइन सपिङ चलाउने साहुको चरित्र चित्रणले पनि ठाउँ पाएको छ। अनलाइनबाटै सामान मगाउने ग्राहकको गुनासो निकै अनावश्यक लाग्छ। जहाँ ऊ श्रीमती गर्भवती हुनुको गुनासो पोखेको दृश्य देखाइन्छ। पात्रहरु हुत्तिदै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् र एउटा प्लटको टुङ्गो नलागी अर्को कथा सुरु हुन्छ। यसले गर्दा कथानक बीचमै भाँचिएको छ। लगत्तै अर्को विषय घुस्दा दर्शकलाई बोर लाग्नु अस्वाभाविक होइन।२. देखाउनकै लागि द्वन्द्व : फिल्मलाई गाउँले प्रेमकथा भनिएको छ। तर मसालेदार धारको फिल्म बनाउने होडमा अनावश्यक चिच्याउने, कराउने, मुख बिगारेर जबर्जस्ती हसाउँने कोसिस गरिएको छ। अनावश्यक भिलेनहरुको उपस्थिति सुहाउँदो लाग्दैन। उनीहरुको काम एकपटक देखिएकी केटीको लागि नायकलाई बोलाएर कुट्नुबाहेक अरु देखिन्न। एउटा फाइटको दृश्यपछि खलपात्रहरु नदेखिनुले द्वन्द्व जबरजस्ती राखेको बुझाउँछ। यति हुँदा हुँदै पनि हिमाल केसीले एक्शन डिरेक्सन भने राम्रो गरेका छन्।
३. कमजोर संवाद : पटकथा र संवाद लेखनमा ध्यान नदिएर हो वा लेखेको कुरा प्रस्तुतिमा उतार्न नसकेर; फिल्ममा बोलिने डाइलग निकै सतही लाग्छन्। स्पटमै कल्पना गर्दै संवाद बोल्न लगाए जस्तो, लिडदेखि सपोर्टिङ कलाकारसम्मको डाइलग डेलिभरी कमजोर लाग्छ। फिल्मको बीचमा सामान्य पात्रहरुले हाँसेको र बोलेको निकै नाटकीय सुनिन्छ।
४. ससपेन्सको नाममा क्लाइमेक्सको फिनिसिङ छैन : फिल्ममा नायक-नायिकालाई धोका भएपछि कथाले नयाँ मोड लिन्छ। तर न नायिकाको पासपोर्ट कसरी, कता, कसलाई किन बेचियो भन्ने कुरा देखाइन्छ। न त उसले पासपोर्ट बेचिएपछि भोग्न परेको अवस्था नै।
त्यस्तै नायकको निकट साथी बुद्धिले उसलाई केटीको लागि धोका त दिन्छ। तर बुद्धि पात्र आफ्नै भूमिकामा अलमल्ल देखिन्छ। अकल्पनीय ढङ्गमा उसको अनुहार देखाइदिएर भिलेन बनाएको दर्शकले थाहा पाउँछन्।
रियल मोशन पिक्चर्सको ब्यानरमा बनेको राधामा निर्देशक योगेश घिमिरे, नायिका सञ्चिता लुइँटेलका साथमा गीतकार, संगीतकार, छायांकारले भूमिकामा सक्दो कोसिस गरेका छन्। तर फिल्म मूल कन्टेन्टमै चुकेको छ।
जे होस्, सञ्चिताका लागि कमब्याकको राम्रो माध्यम बनेको छ राधा। लगानी उठाउन दुई करोडको व्यापार गर्नुपर्ने भनिएको फिल्मले बजारचाहिँ कस्तो लिन्छ होला?