PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

राष्ट्रपतिले राखिन् तीन बुँदे टोस्ट प्रस्ताव, रात्रिभोज सम्बोधनको पूर्ण पाठ



राष्ट्रपतिले राखिन् तीन बुँदे टोस्ट प्रस्ताव, रात्रिभोज सम्बोधनको पूर्ण पाठ

गणतन्त्र भारतका राष्ट्रपति महामहिम श्री प्रणव मुखर्जीको सम्मानमा आयोजना गरिएको राजकीय रात्रिभोजका अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको स्वागत सम्बोधन

काठमाडौँ 
भारतका राष्ट्रपति महामहिम श्री प्रणव मुखर्जी,
विशिष्ट अतिथिगण,
भद्रमहिला तथा सज्जनवृन्द !

नेपालको राजकीय भ्रमणमा पाल्नु भएका महामहिम र यहाँको प्रतिनिधिमण्डलका सदस्यहरुलाई नेपाल सरकार, नेपाली जनता र आफ्नै तर्फबाट हार्दिक स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ ।

अठार वर्षको लामो अन्तरालमा भएको यो राजकीय भ्रमणलाई हामीले ठूलो महत्व दिएका छाँै । आपसी हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न तपाईको यो भ्रमण फलदायी हुने हामीलाई विश्वास छ ।

नेपाली जनता तपाईलाई असल मित्र र राष्ट्रको सेवामा पाँच दशकदेखि समर्पित दक्षिण एशियाकै वरिष्ठ राजनेताका रुपमा उच्च सम्मान गर्दछन्।

सौहार्दता, सद्भावना, समानता र पारस्परिक सम्मानका आधारमा नेपाल र भारतबीच युगौँ पुरानो सम्बन्ध विद्यमान छ । यो निकटता बलियो सामाजिक साँस्कृतिक सूत्र र जनस्तरको सम्बन्धबाट परिपोषित छ ।

नेपालको विकास अभियानमा भारतले पु¥याएको सहयोगको हामी सराहना गर्दछौँ । विगत सात दशकमा भारतले अनेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यसै परिप्रेक्ष्यमा द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्न हामी इच्छुक छौँ ।

अठार महिना अगाडि गएको विनाशकारी भूकम्पपश्चात राहत र खोजी कार्य तथा पुनर्निर्माणका लागि प्राप्त सहयोगका निमित्त हामी भारत सरकार तथा जनतालाई धन्यवाद दिन्छौँ । नेपाल यतिबेला भूकम्पको प्रभावमा परेका निजी घर, अमूल्य सम्पदा र भौतिक संरचनाको जिर्णोद्धार र पुनर्निर्माणको अभियानमा जुटेको छ । राष्ट्रिय सङ्कल्प र मित्र राष्ट्रहरूको  सद्भावका आधारमा यो अभियान सफल हुनेमा हामी विश्वस्त छौँ ।

महामहिम,

गतवर्ष जारी भएको संविधानको उद्देश्य हालैका वर्षमा हामीले हासिल गरेका लोकतान्त्रिक उपलब्धिको रक्षा र सुदृढीकरण गर्नु हो । अबको हाम्रो राष्ट्रिय प्राथमिकतामा मुलुकको समृद्धि प्राप्तिका लागि संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, सामाजिक आर्थिक रुपान्तरणमा जोड दिनु रहेको छ ।

नेपाल प्राकृतिक सौन्दर्य र विविध संस्कृतिले सम्पन्न गौरवमय मुलुक हो । पर्यटक र अन्वेषकका रुपमा भारतीयलगायत ठूलो संख्यामा विदेशीहरु नेपाल भ्रमणमा आउँछन् । 

विश्व शान्ति, भातृत्व, करुणा र मानवताका अग्रदूत गौतम वुद्धको जन्मस्थलका रुपमा  छिमेक र विश्वमै शान्ति र समुन्नतिको प्रवद्र्धन गर्ने नीति हामीले अनुशरण गर्दै आएको छौँ । 

विश्वमा लोकतन्त्रको विकास र सामाजिक चेतनामा भएको अभूतपूर्व प्रगतिले जनआकांक्षा तीब्रतर रुपमा बढेको छ । यही पक्षलाई आत्मसात गर्दै विधिको शासन तथा मानवअधिकार र समानताका मूल्य एवं मान्यताहरुको परिपालनाका साथै मानव जीवनस्तर उकास्न विज्ञान र प्रविधिको क्षेत्रमा हासिल भएका उपलब्धिको विश्वव्यापीरुपमा न्यायोचित वितरण हुनसक्दा विश्व शान्ति र समुन्नति अभिबृद्धि हुनेछ । 

मानव र भौतिक श्रोतको प्रचूरताका बावजूद विश्वका गरिव जनताको सबैभन्दा ठूलो हिस्सा दक्षिण एशियामा रहनु बिडम्बनाको विषय हो । यस क्षेत्रको प्रमुख आवश्यकता गरिबी निवारण भएकाले शान्ति, स्थायित्व र विकास, उपलब्ध श्रोतसाधनको सदुपयोग र रोजगारीका अवसरको सिर्जनालाई प्राथमिकता दिइनु पर्दछ । राष्ट्रहरुबीच आपसी समझदारी र विश्वासको वातावरण सिर्जना गर्नसके यसक्षेत्रको दू्रततर विकासमा ठोस योगदान पुग्नेछ । 

गरिबी, अभाव र द्वन्द्वको सबैभन्दा ठूलो असर महिला र बालबालिकाको भविष्यमाथि पर्ने यथार्थलाई मनन गर्दै हामीले महिला सशक्तीकरण गर्न र भावी सन्ततिलाई अझ प्रतिष्पर्धी तथा सक्षम बनाउन बालबालिकाको हित प्रबद्र्धनका साथै सर्वव्यापी शिक्षा र सार्वजनिक स्वास्थ्यको स्तरोन्नति गर्नु पर्दछ । खाद्य सुरक्षा, शुद्ध पिउने पानी, सरसफाई र उर्जा आपूर्ति अरु ज्वलन्त विषय हुन् । जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न तथा उपयुक्त अनुकूलन र न्यूनीकरण उपायहरु अवलम्बन गरी मानव जीवनको सुरक्षा गर्न र भावी पुस्तालाई सुरक्षित र दीगो धरती हस्तान्तरण गर्न संयुक्त प्रयास गरिनु पर्दछ । 

महामहिम,  

विगत दुई वर्षको अवधिमा दुबै देशका प्रधानमन्त्रीको नियमित भ्रमणको आदानप्रदान भएको प्रसंगमा तपाईको यो राजकीय भ्रमणले हाम्रो निकट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने कुरामा कुनै सन्देह छैन । 

यसअघि भ्रमण गर्नु भएका कारण नेपाल तपाईका लागि नौलो होइन । काठमाडौँका अतिरिक्त नेपाल र भारतको साँस्कृतिक सम्बन्धको प्रतीकका रूपमा रहेको ऐतिहासिक नगरी जनकपुर र सुन्दर पर्यटकीय नगरी पोखराको भ्रमणले यहाँलाई नेपालको प्राकृतिक र साँस्कृतिक विविधतासँग अझ नजिकबाट साक्षात्कार गर्ने अवसर प्राप्त हुनेछ । आशा छ, तपाईको वर्तमान भ्रमण सुखमय र स्मरणीय रहने छ । 
अन्तमा, महामहिमहरु, विशिष्ट अतिथिगण, भद्र महिला तथा सज्जनवृन्द,

  • गणतन्त्र भारतका महामहिम राष्ट्रपतिको सुस्वास्थ्य र सुखका लागि,
  • मैत्रीपूर्ण भारतीय जनताको सुख, शान्ति र समुन्नतिका लागि, तथा
  • नेपाल र भारतवीच चिरस्थायी मैत्री र सहयोगका लागि

मेरो टोस्ट प्रस्तावमा सरिक हुन तपाईहरुलाई आव्हान गर्दछु ।
धन्यवाद ।

२०७३ साल कार्तिक १७ गते बुधबार।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell