PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​युट्युबको भिडियोलाई लिएर अविनाश घिसिङ र म्युजिक नेपालबीच विवाद, भएको के हो?



स्वेच्छा राउत

​युट्युबको भिडियोलाई लिएर अविनाश घिसिङ र म्युजिक नेपालबीच विवाद, भएको के हो?

काठमाडौं : गायक अविनाश घिसिङले गएको सोमबार आफ्नो सातौं सोलो एल्बम कन्ट्रिसाइडको गीत ‘चुईँचुँई चुइँकने जुत्ता’ बोलको गीत युट्युबमा आफ्नै च्यानलबाट सार्वजनिक गरे। 

गीत युट्युबमा राखेको चार दिनपछि घिसिङलाई गीतमा ‘कपिराइट क्लेम’ लागेको जानकारी दिँदै मेल आयो। 

सोही दिन अविनाशले ‘चुईँचुईँ चुइँकने जुत्ता’का लेखक तथा संगीतकार जयनन्द लामासँग गीत रिमिक्सका लागि गरेको सहमतिको कानुनी कागज सार्वजनिक गरे। उनले फेसबुक पोस्टमार्फत् म्युजिक नेपाललाई कलाकार शोषण गरेको आरोप लगाए। आफूले किनेको गीतमाथि म्युजिक नेपालले कपिराइट क्लेम गर्न नहुने उनको तर्क छ।

म्युजिक नेपालका उत्तम थापाका अनुसार गीतलाई युट्युबले नै म्युजिक नेपालको भनी क्लेम गरेको हो। जयनन्द लामाको शब्द, संगीत तथा स्वर रहेको सो गीतको म्युजिक नेपालले अडियो किनेको थियो। र, चाहेको खण्डमा लामाले आफ्नो गीत बेच्न सक्ने पनि भनेको थियो। जयनन्द लामाले गीत २०६९ चैत १० गते अविनाश घिसिङलाई रिमेकका लागि दिए पनि।

उनी भन्छन्, 'उहाँले आफ्नो गीत दिनुले हामीलाई केहि समस्या थिएन। तर  हामीले हालेको ओरिजिनल गीतसँग कन्टेन्ट म्याच भएपछि युट्युबले आफै रिमिक्स गीतमाथि क्लेम गरेको हो।' 

थापाका अनुसार युट्युबमा दर्ता भएपछि कुनै पनि कन्टेन्टसँग मिल्दो अरु सामाग्री अपलोड भए त्यसको सूचनासहित क्लेम लाग्छ। र, ३० दिनभित्र सो क्लेम डिसेबल गर्न पनि मिल्छ।

उनले भने, 'हामीले क्लेम हटाइसक्यौं। अविनाशजीले स्टाटस पोस्ट गर्न हतार गर्नुभयो।' 

गायक घिसिङको भने तर्क बेग्लै छ। भन्छन्, 'युट्युबले हटाउँथ्यो भने किन मैले अपलोड गर्ने बित्तिकै क्लेम गरेन? किन चार दिन लगायो? भ्यु धेरै भएपछि मात्र हो कन्टेन्ट चेक हुने?' 

म्युजिक नेपालले यस विषयलाई सामान्य असमझदारी माने पनि गायक अविनाश घिसिङ कानुनी लडाईँ लड्ने होडमा छन्। घिसिङका अनुसार सधैं यसरी रिमेक गरिएको गीतमाथि क्लेम गर्नाले कलाकारहरुमा राम्रो सन्देश जाँदैन।

गीतका सर्जक जयनन्द लामा भने आफू अन्यौलमा परेको बताउँछन्। अनुमति लिएर बनाएको गीतमा म्युजिक नेपालले क्लेम गरेको हो भने सरासर गलत गरेको उनको भनाई छ। भन्छन्,'म्युजिक नेपालबाट मेरो गीत आएको भए पनि मैले अरुलाई रिमेकका लागि दिन पाउनु मेरो अधिकार हो।' 

म्युजिक नेपालसँग भएको कागजी सहमतिमा रोयल्टीको कुरा भएपनि उनले आजसम्म पाउनु पर्ने रकम नपाएको उनको दाबी छ।
भने, 'अविनाश भाइ र म्युजिक नेपाल सल्लाह गरेर अगाडि बढ्न पर्ने देख्छु।'

म्युजिक नेपालले आपसी सल्लाहको लागि आफूले गायकलाई बोलाएको जनाए पनि घिसिङ भन्छन्,'नेपालमा हुने कलाकारको अपमान र जे गरे पनि हुने कानुनको परीक्षा हो यो।'

भएको के हो?

युट्युबले आफ्नो प्लेटफर्ममा भिडियो अपलोड गर्नेहरुलाई कन्टेन्ट आइडी सिस्टमको सुविधा दिएको हुन्छ। यसले अटोमेटिक रुपमा आफ्नो कपिराइट भएका कन्टेन्टलाई पहिचान गर्ने र त्यसको व्यवस्थापन गर्ने सुविधा दिन्छ। 

यस्तो सुविधा युट्युबले सबै भिडियो अपलोडकर्तालाई भने दिँदैन। केही निश्चित क्राइटेरिया पुर्‍याउने कपिराइट धनीहरुलाई मात्रै यो सुविधा प्राप्त हुन्छ।
 
युट्युबमा कुनै भिडियो अपलोड गर्ने बित्तिकै कन्टेन्टको स्वामित्व भएकाहरुले अपलोड गरेका भिडियोहरुको डेटाबेसमा अटोमेटिक स्क्यान हुन्छ। यदि भिडियोको कुनै संगीत, दृश्य म्याच भयो भने कन्टेन्ट आइडी क्लेम हुन्छ। यस्तो क्लेम भिडियो अपलोड गर्ने बित्तिकै तुरुन्तै पनि हुनसक्छ, एक वर्ष पछि पनि हुनसक्छ। 


म्युजिक नेपालले जयनन्द लामाको गीत अपलोड गरेको हुनाले त्यसको संगीतसँग मिलेपछि अविनाश घिसिङको म्युजिक भिडियोमा कन्टेन्ट आइडी क्लेम भएको हुनुपर्छ। 

कन्टेन्ट आइडी म्याच भएपछि कपिराइट धनीले त्यो भिडियोलाई यत्तिकै राख्न दिने, डिसेबल गरिदिने वा त्यसमा देखिने विज्ञापनबाट आउने रकम आफूलाई आउने गर्न सकिन्छ। गलत क्लेम भएपछि म्युजिक नेपालले त्यसलाई हटाउनु पर्थ्यो।

कन्टेन्ट आइडी कसरी प्रयोग गर्ने भन्नेबारे पनि युट्युबले विस्तृत गाइडलाइन बनाएको छ। अविनाश घिसिङको गीतमा जस्तो गलत कन्टेन्ट आइडी क्लेम धेरै भएको रिपोर्ट भयो भने युट्युबले कन्टेन्ट आइडी एक्सेस डिसेबल मात्र हैन युट्युबबाट रकम आउने व्यवस्थासमेत खारेज गरिदिनसक्छ। 

तर यसका लागि नेपालमा कानुनी लडाइँ हैन युट्युबमा गलत कन्टेन्ट आइडी क्लेम भएको भनेर प्रमाणसहित उजुरी गर्नुपर्ने हुन्छ। यसलाई प्राविधिक भाषामा ‘कन्टेन्ट आइडी क्लेम डिस्प्युट गर्ने’ भनिन्छ। 

यस्तो प्राविधिक विषय नबुझेकाहरु चुप बसे भने त्यसको फाइदा कन्टेन्ट आइडी क्लेम गर्नेले अर्थात् यो केसमा म्युजिक नेपालले उठाउँछ।   

आफूले किनेको गीतमाथि म्युजिक नेपालको नामबाट क्लेम आउनुलाई कलाकार माथि भएको शोषण मान्छन् घिसिङ। उनी भन्छन्,'यसअघि पनि मेरो ५ गीतमा म्युजिक नेपालले कपिराइट क्लेम गरेको छ।' 

यस्तो गलत क्लेम कै कारण आफ्नो च्यानलको 'मनिटाइज डिसेबल' भएको घिसिङ बताउँछन्। युट्युबमा हेरिने भिडियोमा मुनितिर देखिने विज्ञापनवापत् केही अ‌ंश रकम मनिटाइज गरेको च्यानल भए अपलोड गर्नेले पाउने गर्छन्। मनिटाइज डिसेबल नभएको भए यो रकम घिसिङले पाउँथे। कन्टेन्ट आइडी क्लेम भए पनि घिसिङ चुप लागेको भए यो रकम म्युजिक नेपालले आफूलाई आउने बनाउन सक्थ्यो। 

मनिटाइज डिसेबल भएका कारण अहिले अविनाश घिसिङका कुनै पनि भिडियोमा विज्ञापन देखिँदैन जसका कारण उनको भिडियो हेरेवापत उनलाई हुने आम्दानी गुमेको छ। 
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell