PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दिलजान उर्फ डा. कर्ट, जसले घर बेचेर खुसी किने



स्वेच्छा राउत

दिलजान उर्फ डा. कर्ट, जसले घर बेचेर खुसी किने

काठमाडौं : डाक्टर दिलजान मन्सुर उर्फ डाक्टर कर्ट खुसी किन्छन्। उनी भन्छन्, 'मान्छेहरु खुसी किन्न सकिन्न भनेर आदर्श सिकाउँछन्। म तिनैलाई खुसी किन्न सिकाउँछु।'
 
उनको खुसी-हाँसो पैसाले किन्ने उपाय गज्जबको छ।
 
दिलजान हरेक महिना आफूले बिरामी जँचाउने गरेको हस्पिटल र पढाउने गरेको कलेजबाट तलब थाप्छन्। त्यो पैसा न उनको बैंक खातामा जम्मा हुन्छ न आमालाई राख्न दिन्छन्। किन्छन्- विभिन्न औषधि, मेडिकल सामग्री र केही आवश्यक सामान। अनि बिदा मिल्नासाथ लाग्छन् कुनै विकट गाउँ, जहाँ स्वास्थ्य चौकी भएर पनि स्वस्थ मान्छे भेटिन गाह्रो पर्छ।
 
दिलजान सुनाउँछन्, 'केही ठाउँमा त अब मेरो नाम थाहा नभएका र मलाई चिन्दै नचिन्नेहरु पनि झुम्मिदै आउँछन्।' आफूले दिएको उपचार, सेवा र औषधिकै कारण त्यहाँका स्थानीयको हाँसो देख्न र न्यानो आत्मिक प्रेम पाउँदा उनलाई सबभन्दा खुसी लाग्छ।
 
'जुन समय अपरिचितहरु आएर मसँग हाँसो साट्छन्, त्यतिखेर लाग्छ म मेरो तलबले खुसी किन्न सफल भएँ,' उनी खुसीको रहस्य सुनाउँछन्।
 
दिलजान डाक्टर र नर्सको टिम लिएर गाउँगाउँ पुगिरहन्छन्। उनको शब्दमा खुसी लिने बहानामा। र, उल्टै दिएर आउँछन् गाउँका मानिसहरुलाई। जो बाध्य छन् घाउहरुमा कुनै झार कुटेर दल्न, जो विवश छन् एक पुरिया जीवनजल किन्न घन्टौं हिँड्न र कुर्न।
 
कहिले एक्लै, कहिले साथीहरुसँग त कहिले संस्थाबाट सामान्य स्वास्थ्य शिविरदेखि प्राकृतिक प्रकोप पीडित सबैको उपचार गर्दै आएका छन् उनी। तर यसरी उपचार गर्दै हिँड्नुलाई समाजसेवा कहिल्यै मानेन् उनले।
 
'सेवा त गरे पनि हुन्छ नगरे पनि हुन्छ। मैले जे गर्दै आएको छु यो सब त मेरो कर्तव्य हो। सक्छु, त्यसैले मैले गर्नैपर्छ,' उनको साहस यसरी प्रस्फुटन हुन्छ।
                                                                           
                                                                      ***
दिलजानले जाजरकोटमा झाडापखाला र हैजाले मान्छेको ज्यान जाने गरेको थाहा पाए। मृत्युको कारण थियो दूषित पानी। सोही समस्याको समाधान गर्ने उपाय थियो पानी छान्ने फिल्टर। 'मिसन जाजरकोट' भनेर उनले अभियान नै सुरु गरे। त्यहाँ फिल्‍टर र पियूष पनि पठाए। उनलाई साथ दिए केही युवायुवतीले।
 
जाजरकोटको पानी शुद्ध बनाउने होडमा काठमाडौंका गल्ली गल्लीमा नाच्ने, टिसर्ट बेच्नेदेखि अन्य कला देखाउँदै सहयोग अपिल गर्नेसम्मको काम गरे। तर उनको टोलीले पुग्दो रकम जुटाउन सकेन।
 
अन्तत: बारास्थित आफ्नो घर बेचेर जाजरकोटका ३० विद्यालयमा पानी छान्ने फिल्टर दान गरे।
 
जाजरकोटबाट दिलजानको कार्यलाई नियालिरहेका दुर्गा श्रेष्ठ भन्छन्, 'अहिले फिल्टर राखेको विद्यालयका विद्यार्थीहरुमा पखालाको समस्या देखिएको छैन।'
 
दिलजानले बिरामीको उपचार गर्नुलाई पेसा मात्र नभएर धर्मको रुपमा स्विकारेका थिए, यसैले पनि मिसन जाजरकोट सफल भयो। मन्सुर भने त्यतिलाई मात्रै सफलता मान्ने पक्षमा थिएनन्। त्यसैले आँटे 'मिसन काभ्रे'।
 
राजधानीबाट निकट रहेर पनि धेरै कुराको पहुँच नभएको काभ्रेको माझी बस्तीमा स्वास्थ्य र शिक्षा सबैको लागि भन्ने अभियान सुरु गरेका छन् उनले। जहाँ तीन वर्षअगाडि देखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आए। तर, उनीसँग न पैसा बाँकी थियो न बेच्नका लागि घर नै।
 
मिडियामा दिलजानको अतुलनीय सहयोगको खबर पढेर सहयोग गर्छु, हामी साथमा छौं भन्नेहरु धेरै थिए। उनले पनि सोचे- गर्छु भन्नेले गर्लान् नै।
 
त्यसैले दिलजानले मिसन काभ्रे अन्तर्गत माझी गाउँमा ११० वटा घर, एक विद्यालय र एक स्वास्थ्य चौकी बनाउने घोषणा गरे। 'तर सहयोग गर्छु भन्नेहरु त सबै शब्दमै सीमित रहे,' केही सहयोगीहरुको घात सुनाउँदा उनी दु:खी बन्छन्।
 
अभियान घोषणा गरेको पाँच महिना भइसक्दा पनि उनको सामाजिक संस्था 'बिङ होमो सेपियन्स'को खातामा तीनलाख भन्दा बढी रकम जुट्न सकेको छैन। त्यति रकम जम्मा गर्न पनि उनले देशविदेश घुमेर 'अनलाइन क्याम्पेन' चलाउनुपर्‍यो। त्यसमा पनि एक लाख त डा. समिरमणि दीक्षित एक्लैले सहयोग गरे।
 
हार मान्ने वा निराश हुने पक्षमा भने अझै पनि छैनन् दिलजान। उनलाई विश्वास छ, कसैले गर्छु भन्ने इच्छाशक्ति तीव्र भएपछि गर्छु भएको काम पूरा हुन्छ। यो त उनको अनुभवले नै बताउँछ। 'आज नहोला, भोलि नहोला तर एक दिन पक्कै हुन्छ,' उनमा आँट कति पनि डगमगाएको छैन, 'मिसन काभ्रे पनि म पूरा गरेरै छोड्छु।'
  
फाइदाबिनाको कामलाई काम वा कर्तव्य नसोच्ने प्रवृत्तिका कारण सहयोग जुट्न गाह्रो भएको उनले अनुभव गरिसकेका छन्। समाजमा देखिएका समस्यालाई नदेखे जस्तो गर्नुलाई भने मानवीय संवेदनामा आएको ह्रास मान्छन् उनी। 'समस्याको समाधान खोज्नु त दायित्व हो। तर मान्छे पैसामुखी हुनाले जति भए पनि आफैंलाई पुग्दैन। अरुको लागि कसले गर्ने भन्ने सोच बढेको छ,' उनी यस्ता प्रवृत्तिबारे खुलेर कुरा गर्न हिचकिचाउँदैनन्।
 
एक्लो दिलजानको मिसनमा साथ दिने १६ युवायुवती छन्, उनीहरुसँग आँट छ, मिसन पूरा हुने विश्वास पनि छ, र मनकारी दिल पनि छ।
 
उनी अथक रुपमा लागिपरेका छन् यतिखेर। आशा गरेर बसेका माझी बस्तीको मुहारमा खुसी पनि थप्न के गर्न सकिन्छ, यसैमा योजना बुनिरहेका छन्।
 
दिलजानको मान्यता छ- गरेको जस्तो गरेर झारो टार्न आफ्नो धर्मले दिँदैन। 'खर्च ठूलो रकमको देखाएर आधाभन्दा कम बजेटमा काम गर्ने संस्थासँग मिलेर काम गर्न न मनले मान्छ न मेरो धर्मले नै दिन्छ,' मानवीय धर्म पछ्याउने उनी सुनाउँछन्।
 
उनलाई विभिन्न अफरहरु नआएका होइनन्। तर उनको मनले मानेन।
 
'म काम गर्न चाहन्छु, उनीहरु काम गरेको प्रमाण बटुल्न,' यस विषयमा धेरै बोल्न नचाहेका दिलजान भन्छन्, 'रगताम्य मान्छेको फोटो खिच्न भन्दा उसको उपचार गरिसकेपछि ऊ हाँसेको फोटो खिच्न खुब मज्जा आउँछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell