PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'जात्रा' समीक्षा : स्खलित क्लाइमेक्स, आकर्षक कथा



स्वेच्छा राउत

'जात्रा' समीक्षा : स्खलित क्लाइमेक्स, आकर्षक कथा

काठमाडौं : समाज जति आधुनिकता उन्मुख छ, मानिसको जीवनशैली पनि उसरी नै बदलिँदो छ। भौतिक विलासितामा मानिसको रुचि बढ्दो छ। बजार महँगिदो।
 
बजारले मान्छेलाई कसरी पैसामुखी बनाउँछ र ऊ आफ्नै इमानदारितामा प्रश्न उठाउन बाध्य हुन्छ? यही हो फिल्म 'जात्रा'को केन्द्रीय कथ्य।
 
असन गल्लीका तीन व्यापारीले बैंकबाट लुटिएर हराएको पैसा भेट्छन्। त्यसपछि सुरु हुन्छ मुख्य पात्र फणीन्द्र तिमसिना (विपीन कार्की), जोयस (रविन्द्रसिंह बानियाँ) र मुन्ना (रविन्द्र झा) बीचको मानसिक द्वन्द्व। पैसा लुकाउने र भाग लाउने होडले उनीहरुलाई आन्तरिक द्वन्द्ले मज्जैले लखेट्छ।
 
इमान भए पनि आर्थिक अवस्थाले कमजोर मान्छेको जीवनमा जोडिएका परिवार, आफन्त, साथी आदिको सोच, चाहना, आकांक्षाको वरिपरि फिल्मको रिल घुमिरहन्छ। त्यसैले पनि 'पैसा' केन्द्रमा छ फिल्म।
 

४ सबल पक्ष

१) निर्देशकीय : असन गल्लीभित्रको सानो ठाउँ फिल्मको मुख्य सेटिङस्थल हो। फिल्मका मेजर प्लटहरुलाई कुनै समस्याबिना सोही सेटिङमा देखाउन सफल भएका छन् निर्देशक प्रदीप भट्टराई। सीमित पात्र, दृश्य र तडकभडकबिना पनि फिल्मले कथा भन्न सक्छ, जात्राले यो उदाहरण पेश गरेको छ।
न कुनै रमणीय दृश्य न त चलेको ठाउँको झलक। साधारण मान्छेको जीवन र उसैको दैनिकीलाई नै फिल्मले अन्त्यसम्म निर्देशन गर्छ।
 
२) संवाद र पटकथा : उत्कृष्ट कथा भएको फिल्म होइन जात्रा। तर जुन विषयलाई उठाइएको छ, त्यसलाई न्याय गर्न सकेको छ। कथा प्रस्तुतिलाई पटकथा र संवादले सरल शैलीमा तानेका छन्। जात्रामा न पात्रहरु अनियन्त्रित भएर बोल्छन्, न पुराना जोकहरु दोहोर्‍याउँछन्। दर्शक हँसाउने होडमा मुख बिगार्ने संघर्ष पनि गर्दैनन् कलाकार। साधारण संवादले नै गाम्भीर्यता बोक्छ र दर्शक स्वस्फूर्त हाँस्न पुग्छन्।
 
दैनिक जीवनमा हामीले भोग्ने, देख्ने विषयवस्तु फिल्ममा उठाइएको छ। लेखकले केही हदसम्म आममान्छेले जे सोच्छ, त्यसैलाई पात्रहरुको मानसिक र सामाजिक द्वन्द्वमार्फत देखाउने प्रयत्न गरेका छन्।
 
३) अभिनय र प्रस्तुति : जात्रामा कलाकारहरुले आफ्नो ९९ प्रतिशत मेहनत दिएका छन्।  कलाकारले नै फिल्मलाई यथार्थपरक बनाएका छन्। उनीहरु जसरी फिल्ममा प्रस्तुत भएका छन्, त्यसले फिल्मलाई नाटकीय हुनबाट जोगाएको छ। फणीन्द्र, जोयस र मुन्ना जस्ता मुख्य पात्रले आफ्नो भूमिका निर्वाह गर्न विपीन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झालाई बिर्सिएको भान हुन्छ।
 
जात्रा हेरिसकेकाले सम्भवत: पशुपतिप्रसादको भष्मे बिर्सिएर जात्राको फणीन्द्रलाई विपीन कार्कीमा देख्नेछन्। फणीन्द्रकी श्रीमतीको रुपमा प्रस्तुत भएकी वर्षा राउतले पनि आफैंलाई आम गृहिणीको भूमिकामा फिट गराएकी छिन्।
 
बाल कलाकार अरबिन्द उर्फ इमानले पनि पर्दामा कुशल प्रस्तुति दिएका छन्। त्यस्तै फणीन्द्रको ससुराका रुपमा देखिएका प्रकाश घिमिरेले पैसामुखी सोच भएको एउटा मान्छे र काठमाडौंमा घरजग्गा हुनेलाई महत्व दिनेको राम्रो प्रतिनिधित्व गरेका छन्।
 
४) कमेडी : कमेडी शैलीको फिल्मले दर्शकलाई भरपूर मनोरन्जन दिन सक्छ। दर्शकलाई हसाउँदै हसाउँदै पनि त्यहीँ गम्भीर विषयको उठान पनि गरिएको छ। र, ती विषयले सिर्जना गर्ने परिस्थितिहरुलाई राम्रोसँग चित्रण गरिएको छ। व्यङ्ग्य पक्ष पनि सस्तो लाग्दैन।
 
फिल्म सुरु भएदेखि दर्शक हाँस्छन्, अन्त्यसम्मै। हाँस्दाहाँस्दै सोच्नुपर्ने अवस्था पनि सिर्जना गरिदिन्छ- पात्रहरुको हाउभाउ र संवादले।
 

४ कमजोर पक्ष

१) नाटकीय प्लट : जात्राबाटै डेब्यु गरेकी प्रेक्षा बज्राचार्य उर्फ परीलाई जोड्ने कथा नाटकीय लाग्छ। हुन त जोयसले परीको कथा फिल्मकै कथा सुनाए जसरी सुनाउँछ। तर यथार्थपरक प्रस्तुतिमा बगिरहेको फिल्मलाई पढ्नका लागि किड्नी बेच्ने युवतीको कथा केही कमजोर लाग्छ।
 
२) कमजोर भिलेन : फिल्ममा ३ करोड नगद बोराबाट एउटा ठाउँबाट अर्को ठाउँमा ओसारिन्छ। हराएको सोही रकमको खोजीमा लाग्छन् लुटेराहरु र प्रमुख तीन पात्र पैसा लुकाउन संघर्ष गर्छन्। फिल्मलाई कमेडी बनाउने होडमा ती लुटेरालाई बैंक लुट्न सक्ने दमदार पात्र देखाउनबाट फिल्म चुक्छ। ती पात्रहरुलाई दिइएको हल्का भूमिका र उनीहरुको प्रस्तुतिले भिलेन पात्र जोडिएको प्लटलाई कमजोर बनाउँछ।
 
३) गीतको प्रयोग कम : पुराना फिल्मभित्र प्राय: ४/५ वटा गीत अटेका हुन्छे। पछिल्ला फिल्ममा प्रयोग गर्न थालियो र कतिपयले गीतलाई कमै महत्व दिन थाले। जात्रा युनिटले भने प्रचारको लागि गीतको प्रयोग गरेन। फिल्ममा एउटा गीत छ, जसलाई फिल्म सक्किएपछि प्रयोगमा ल्याइएको छ। गीतको प्रयोग नगर्नाले फिल्मलाई एकोहोरो बनाएको झैं लाग्छ।
 
पात्रहरुको स्थितिलाई नै कुनै गीतको भिडियो मार्फत देखाउन सकिन्थ्यो होला तर फिल्म संवाद र पटकथामा मात्र फोकस भएको छ।
 
४) मध्यान्तरपछि स्लो कथा : पहिलो हाफमा नै पात्रहरुको मानसिक द्वन्द्वले धेरै ठाउँ पाएको छ। दोस्रो हाफमा दर्शकको अपेक्षा 'क्लाइमेक्स'को हुन्छ। तर जात्राको दोस्रो हाफमा पुग्दा पनि पात्रहरु एउटै कुरामा अलमलिन्छन्। फिल्म अगाडि बढ्छ तर कथा जहीँको त्यहीँ। जबरजस्ती तन्काएर फिल्मको अन्त्यमा मात्र कथालाई नयाँ मोड दिइएको छ।
 
समग्रमा फिल्मको कथाभन्दा पनि विषय र प्रस्तुति उत्कृष्ट लाग्छ। निर्देशकीय र लेखाइको हिसाबमा प्रदीप भट्टराईले र अभिनयमा सम्पूर्ण कलाकारले सक्दो मेहनत नगरेको भए सिंगे लामा र यादव पौडेल राम्रो फिल्म निर्माण गर्नबाट चुक्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell