PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नेपाली क्रिकेटको विवाद मिलाउने जिम्मा वसन्त चौधरी र विनयराज पाण्डेलाई



गोविन्दराज नेपाल

नेपाली क्रिकेटको विवाद मिलाउने जिम्मा वसन्त चौधरी र विनयराज पाण्डेलाई

काठमाडौं : नेपाली क्रिकेटमा देखिएको समस्या सुल्झाउने जिम्मा आइसिसीले उद्योगपति वसन्त चौधरी र क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई दिएको छ।
 
अनतर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको टोली र आइसिसीले नै बनाएको क्रिकेट सल्लाहकार समितिको मंगलबार बसेको बैठकले चौधरी र पाण्डेलाई समितिको संयोजक तोक्दै जिम्मेवारी दिएको हो।
 
नेपाल क्रिकेट संघको विधान परिमार्जन गर्न र क्रिकेटको समस्या समाधन गर्न बनाइएको सल्लाहकार समिति र आइसिसी टोलीबीच मंगलबार बिहान काठमाडौंमा बैठक भएको थियो। बैठकमा आइसिसीबाट एकाउटेन्ट अमर शेखको टोली उपस्थित थियो।
 
बैठकले पाण्डे र चौधरीलाई फरकफरक कामको संयोजक तोकेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टका प्रेस सल्लाहकार रोहित दाहालले पहिलोपोस्टलाई बताए।
 
चौधरीले कानुनी पाटो हेर्ने र पाण्डेले क्यानको विधान र नेपाली क्रिकेटको संरचना हेर्नेगरी जिम्मेवारी तोकिएको दाहालले बताए।
 
यस्तै बैठकलले दाहाललाई सल्लाहकार समितिको प्रवक्ता तोकेको छ भने क्यानकै पूर्वअध्यक्ष पवन अग्रवाललाई समितिको सचिव तोकेको छ। यस्तै ६ सदस्यीय सल्लाहकार समितिमा क्यानका पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला र युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेल रहेका छन्।
 
अब सल्लाहकार समितिको बैठक आगामी आइतबार बस्ने र त्यसका लागि दुबईबाट आइसिसीको टोली आउनु नपर्ने पनि दाहालले बताए।
 
सल्लाहकार समितिले क्यानको विधान परिमार्जन लगायतका अन्य काम आगामी जुन महिनाको तेस्रो हप्तासम्म सकिसक्नुपर्ने दाहालको भनाइ छ।
 
यसअघि गत अक्टोबरमा आइसिसीका सिइओ डेविड रिचर्डसन सहितको ३ सदस्यीय टोली नेपाली क्रिकेटको समस्या समाधान गर्न नेपाल आएको थियो। त्यति बेलै सल्लाहकार समिति गठन गर्ने तयारी गरेको आइसिसीले निर्वाचित क्यानको अवरोधका कारण समिति गठन गर्न सकेको थियो। त्यसको एक महिनापछि मात्र गत सेप्टेम्बरमा ६ सदस्यीय सल्लाहकार समिति चयन गरेको थियो। तर त्यस समितिको काम कारबाही स्पष्ट नभएको भन्दै उक्त समितिले आइसिसीलाई पत्र पठाएपछि समस्याको समाधान गर्न आमिर शेख लगायतको टोली सोमबार नेपाल आएको हो।
 
नेपाली क्रिकेटमा देखिएको आन्तरिक विवाद र राजनीतिक हस्तक्षेपका कारण आइसिसिसीले गत बैसाखमा क्यानलाई निलम्बन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell