काठमाडौं : पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेश फर्कँदै गरेको नेपाली फुटबल टोलीलाई स्वागत गर्न फ्यानहरु मंसिरको जाडोको परवाह नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
बाजागाजासहित आएका फ्यानहरुले हिपहिप हुर्रे, यो जित कसको नेपालको...नारा लगाइरहेका छन्। फ्यानहरुको उपस्थिति बाक्लो भएका कारण अन्य यात्रु लिन र पुर्याउन आउनेहरुलाई समेत कठिनाइ भएको छ।
एन्फाबाट स्वागतका लागि महासचिव धीरेन्द्र प्रधान, उपाध्यक्ष मणि कुँवर र सिइओ इन्द्रमान तुलाधर विमानस्थल पुगेका छन्। त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्बाट सदस्य सचिव केशव विष्ट पनि विमानस्थल पुगेका छन्।
अखिल नेपाल फुटबल संघ एन्फाले राति नै भए पनि फुटबल टोलीलाई नगर परिक्रमा गराउँदैछ। मलेसियाबाट नेपाली टोली आज राति ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भए पनि र्याली सुरु हुन एक घण्टा थप समय लागेको थियो।
र्याली विमानस्थलबाट गौशाला हुँदै बत्तीसपुतली-मैतीदेवी-पुतलीसडक-घण्टाघर-सहिदगेट-न्युरोड-दरबारमार्ग-त्रिपुरेश्वर-थापाथली-कुपण्डोल-पुल्चोक-मंगल बजार-ग्वार्को हुँदै एन्फा कम्प्लेक्समा गएर टुङ्गिनेछ।