PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सोलिडारिटी कप जितेर फर्केका खेलाडी र कोचले विमानस्थलमा यसो भने



गोविन्दराज नेपाल

सोलिडारिटी कप जितेर फर्केका खेलाडी र कोचले विमानस्थलमा यसो भने

काठमाडौं : 'यो नेपाली फुटबलको लागि नयाँ ट्रयाक हो,' पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेशको भूमि टेकेपछि नेपाली टोलीका सहायक प्रशिक्षक राजुकाजी शाक्यले भने। उनले यो सफलताका लागि सबै नेपालीलाई बधाई तथा शुभकामना पनि दिए।

उनले विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुलाई यसो भनिरहँदा टिम नेपाललाई स्वागत गर्न फ्यानहरु म‍ंसिरको जाडोको परवाह नगरी राति १० बजिसक्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरिरहेका थिए। 

'हामीले जुन अठोट लिएका थियौँ, त्यो पूरा गर्‌यौँ', शाक्यले भने, 'समग्रमा जित हासिल गरेपछि उत्साहित हुनु स्वाभाविक हो।' कप जित्ने लक्ष्य र अठोट लिएर गएकोमा त्यो पूरा भएको पनि शाक्यले बताए। 'नेपालमा आर्टिफिसियल मैदानमा ट्रेनिङ गरिरहेका थियौै। मलेसियामा घाँसे मैदानमा खेल्न निकै गाह्रो भएको थियो। निरन्तर वर्षाले मैदान हिलो भएको अवस्थामा खेल्नुपर्‍यो जहाँ बल गुडाउन पनि गाह्रो थियो,'  उनले उत्साहित हुँदै भने, 'हिलाम्मे मैदानमा पनि ट्रफी जित्नु निकै खुसीको कुरा हो अझ लगातार तीन उपाधि जित्नु त नेपालको लागि ठूलो सफलता हो।' 

मलेसियामा विजयी नेपाली टोलीको नेतृत्व गरेका कप्तान विराज महर्जनले भावुक हुँदै आफूलाई निकै खुसी लागिरहेको बताए। 'हामीले जुन टार्गेट राखेका थियौं। त्यो पूरा गर्दै ट्रफी जित्न सफल भयौं,' उनले भने, 'आगामी दिनमा यो सफलतालाई कायम राख्न नियमित ट्रेनिङ, म्याच एक्स्पोजर र अन्तर्राष्ट्रिय खेलहरु भइरहनुपर्छ।'

बाजागाजासहित आएका फ्यानहरुले हिपहिप हुर्रे, यो जित कसको नेपालको...नारा लगाइरहेका थिए। फ्यानहरुको उपस्थिति बाक्लो भएका कारण अन्य यात्रु लिन र पुर्‌याउन आउनेहरुलाई समेत कठिनाइ भएको छ। 

एन्फाबाट स्वागतका लागि महासचिव धीरेन्द्र प्रधान, उपाध्यक्ष मणि कुँवर र सिइओ इन्द्रमान तुलाधर विमानस्थल पुगेका थिए। त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्बाट सदस्य सचिव केशव विष्ट पनि विमानस्थल पुगेका थिए। 

​अखिल नेपाल फुटबल संघ एन्फाले राति नै भए पनि फुटबल टोलीलाई नगर परिक्रमा गराउँदैछ। मलेसियाबाट नेपाली टोली आज राति ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भए पनि र्‌याली सुरु हुन एक घण्टा थप समय लागेको थियो। 

र्‍याली विमानस्थलबाट गौशाला हुँदै बत्तीसपुतली-मैतीदेवी-पुतलीसडक-घण्टाघर-सहिदगेट-न्युरोड-दरबारमार्ग-त्रिपुरेश्वर-थापाथली-कुपण्डोल-पुल्चोक-मंगल बजार-ग्वार्को हुँदै एन्फा कम्प्लेक्समा गएर टुङ्गिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell