PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सोलिडारिटी कप ल्याउनेलाई चीसो रातमा सेनाको ट्रक चढाई सम्मान : हेर्नुस् ३८ फोटो

सोलिडारिटी कप ल्याउनेलाई चीसो रातमा सेनाको ट्रक चढाई सम्मान : हेर्नुस् ३८ फोटो

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : 'यो नेपाली फुटबलको लागि नयाँ ट्रयाक हो,' पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेशको भूमि टेकेपछि नेपाली टोलीका सहायक प्रशिक्षक राजुकाजी शाक्यले भने। 

उनले विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुलाई यसो भनिरहँदा टिम नेपाललाई स्वागत गर्न फ्यानहरु म‍ंसिरको जाडोको परवाह नगरी राति १० बजिसक्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरिरहेका थिए। 

'हामीले जुन अठोट लिएका थियौँ, त्यो पूरा गर्‌यौँ', शाक्यले भने। 

मलेसियामा विजयी नेपाली टोलीको नेतृत्व गरेका कप्तान विराज महर्जनले भावुक हुँदै आफूलाई निकै खुसी लागिरहेको बताए। 

बाजागाजासहित आएका फ्यानहरुले हिपहिप हुर्रे, यो जित कसको नेपालको...नारा लगाइरहेका थिए। फ्यानहरुको उपस्थिति बाक्लो भएका कारण अन्य यात्रु लिन र पुर्‌याउन आउनेहरुलाई समेत कठिनाइ भएको छ। 

स्वागतका लागि खेल मन्त्री दलजित श्रीपाइली, एन्फाबाट महासचिव धीरेन्द्र प्रधान, उपाध्यक्ष मणि कुँवर र सिइओ इन्द्रमान तुलाधर विमानस्थल पुगेका थिए। त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्बाट सदस्य सचिव केशव विष्ट पनि विमानस्थल पुगेका थिए। 

​अखिल नेपाल फुटबल संघ एन्फाले राति नै भए पनि फुटबल टोलीलाई नगर परिक्रमा गराउने निर्णय आजै गरेको थियो। त्यस अनुरुप नेपाली सेनाको एउटा ट्रक विमानस्थल पुर्‍याइएको थियो। त्यसैको छतमा खेलाडीहरु बसे। मलेसियाबाट नेपाली टोली आज राति ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भए पनि र्‌याली सुरु हुन एक घण्टा थप समय लागेको थियो। 

र्‍याली विमानस्थलबाट गौशाला हुँदै बत्तीसपुतली-मैतीदेवी-पुतलीसडक-घण्टाघर-सहिदगेट-न्युरोड-दरबारमार्ग-त्रिपुरेश्वर-थापाथली-कुपण्डोल-पुल्चोक-मंगल बजार-ग्वार्को हुँदै एन्फा कम्प्लेक्समा गएर टुङ्गियो। राति अबेर भइसकेको हुँदा नगर परिक्रमा औपचारिकतामा सीमित भयो। सडक दायाँबायाँ सर्वसाधारण उपस्थित थिएनन्। 


ट्रेन्डिङ पोस्ट

Ncell