PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सोलिडारिटी कप च्याम्पियन टोलीको स्वागतमा देखिएका पाँच फरक दृश्य



गोविन्दराज नेपाल

सोलिडारिटी कप च्याम्पियन टोलीको स्वागतमा देखिएका पाँच फरक दृश्य

काठमाडौं : मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोली गएराति नेपाल फर्किएको छ। च्याम्पियन्स टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो। स्वागतपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विजय र्‍यालीको आयोजना गर्दै खेलाडीहरुलाई नगर परिक्रमा समेत गरायो।
 
स्वागतमा खेलकुद निकायका उच्च पदाधिकारीसँगै राष्ट्रिय टिमका पूर्व कप्तान, खेलाडीहरु, महिला खेलाडी, खेलाडीका आफन्त, थुप्रै समर्थक विमानस्थल पुगेका थिए।
 
विमानस्थलमा खचाखच मानिसहरुले भिडले गर्दा सञ्चारकर्मीहरुलाई भने खेलाडीको स्वागतको दृश्य कैद गर्न र विजेता टोलीसँग कुराकानी गर्न हम्मेहम्मे परेको थियो।
 
राति साढे ८ मै विजेता टोली आउने भनिए पनि करिब एक घन्टापछि मात्र उक्त भिडले खेलाडी र नेपालले जितेको ट्रफी हेर्ने मौका पायो।
 
यस क्रममा विमानस्थलमा केही भिन्न दृश्य पनि देखिए।
 
१) जापानिज कोचलाई बेवास्ता

नेपाली टोलीलाई सफलता दिलाउन पर्दापछाडिका नायक बनेका मुख्य प्रशिक्षक ग्योतुकु कोजीलाई विमानस्थलमा कसैले मार्क गरेनन्। अन्य प्रशिक्षक खेलाडीले जस्तो उनले बाहिर निस्कन सास्ती झेल्नुपरेन। उनी आफ्नै सुरुमा बाहिर निस्के। यो सञ्चारकर्मीले पनि पत्तो पाएनन्। सञ्चारकर्मीहरु भने सहायक प्रशिक्षक राजुकाजी शाक्य र कप्तान विराज महर्जनसँग कुरा गर्न व्यस्त रहे। यस्तै नेपाललाई च्याम्पियन बनाउन फाइनलमा मकाउविरुद्ध गोल गर्ने सुजल श्रेष्ठलाई पनि कसैले मार्क गरेनन्।
 
२) खादा लगाउन तँछाडमछाड

आगमन कक्षबाट सहायक प्रशिक्षक राजुकाजी शाक्य सोलिडारिटी कपको ट्रफीका साथ सुरुमै बाहिरिए। त्यसपछि खेलाडीहरु निस्के। खेलाडीलाई खादा पहिर्‍याउन खेलकुद निकायकै ठूला पदाधिकारी समेत तँछाडमछाड गरिरहेका थिए। जसले गर्दा खेलाडीहरुलाई पनि सहज रुपमा बाहिरिन गाह्रो भएको थियो भने फोटो र भिडियो खिच्ने सञ्चारकर्मीलाई समेत त्यसले अप्ठेरो बनाइदियो।
 
३) सेल्फी खिच्ने हतारो

समर्थकहरुको सेल्फी मोहले पनि भिडलाई झनै अव्यवस्थित बनाइदियो। विजेता खेलाडीसँग सेल्फी खिच्न नपाए ठूलै कुरा छुट्ने जस्तो गरी केही समर्थकहरु सेल्फी खिच्नमै व्यस्त देखिन्थे। त्यसो त खेलकुदका केही पदाधिकारीहरुले पनि सेल्फी खिच्न भ्याए।
 
४) १० बजेपछि र्‍याली

खेलाडीहरु राति फर्किने समय तोकिएको थियो। एन्फाले खेलाडी आउनु केही घन्टाअघि मात्र विजेता टोलीलाई राति नगरपरिक्रमा गराउने घोषणा गर्‍यो। ८:३० मा आउने भनिए पनि खेलाडीहरुको टोली करिब एक घन्टा ढिलो मात्रै विमानस्थलबाट बाहिरिएका थिए। मंसिरको चिसोमा पनि त्यसको कुनै परवाह नगरी एन्फाले खेलाडीलाई रातको १० बजेपछि विजय र्‍यालीस्वरुप नगरपरिक्रमा गरायो। दिउँसो हुने र्‍यालीमा सडकको दुवै किनारामा समर्थकको उपस्थिति हुने भए पनि रातको समय भएका कारण यसपटक भने खेलाडीले कुनै झमेला बेहोर्नुपरेन। नगर परिक्रमा पनि चाँडै सकियो।
 
५) हिपहिप हुर्रे, यो जित कसको नेपालको

तोकिएकै समयमा विमानस्थल पुगेका समर्थकहरुले सुरुदेखि नै नारा लगाउन थालिसकेका थिए। हिपहिप हुर्रे, यो जित कसको नेपालको… निकै बेरसम्म समर्थक, नेपालको महिला टिमका खेलाडी, युवा खेलाडीहरुले नारा गुन्जाइरहे। यस्तै विजय र्‍यालीमा ब्याण्ड बाजाले पनि साथ दिइरहेको थियो। विमानस्थलमा फ्यानहरुको बाक्लो उपस्थितका कारण अन्य फ्लाइटमा रहेका र आउने यात्रुहरुलाई समेत कठिनाइ भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell