PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सोलिडारिटी कप च्याम्पियन टोलीलाई प्रधानमन्त्रीको सम्मान, नगद पुरस्कारका लागि कुर्नुपर्ने



गोविन्दराज नेपाल

सोलिडारिटी कप च्याम्पियन टोलीलाई प्रधानमन्त्रीको सम्मान, नगद पुरस्कारका लागि कुर्नुपर्ने

काठमाडौं : मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्।
 
बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सोलिडारिटी कप च्याम्पियन खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई माला, खादा र अबिरले सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा प्रचण्डसहित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फाका कार्यवाहक उपाध्यक्ष कणि कुँवर लगायतको उपस्थिति थियो।
 
नेपालले मलेसियाको कुचिङमा नोभेम्बर २ देखि १७ सम्म भएको एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १-० ले पराजित गर्दै पहिलो पटक महादेशीय प्रतियोगिताको उपाधि जितेको हो।
 
सम्मानपछि प्रधानमन्त्रीले सोलिडारिटी कपको उपाधि जितेकोमा कप्तान विराज महर्जन सहितको टोलीलाई बधाई दिँदै आगामी प्रतियोगिताहरुमा अझ राम्रो गर्न शुभकामना दिए।
 
'तपाईंहरुको सफलताले देश उत्साहित भएको छ, सबैको शिर ठाडो भएको छ,' प्रचण्डले भने, 'सबै नेपाली जनताले तपाईंहरुलाई बधाई दिइरहेका छन्।'
 
२१ वर्षपछि लगातार ३ पदक जित्न सफल हुनुले खेलकुद क्षेत्रमा नयाँ ट्रयाक समेत खुलेको प्रधानमन्त्रीको भनाइ थियो। देश राजनीतिमा पनि नयाँ ढंगले अगाडि बढिरहेको उदाहरण दिँदै उनले खेलकुदको सफलताले अझ बढी उत्साह थपेको बताए।
 

नगद पुरस्कार कहिले?


नेपालले सोलिडारिटी कपको उपाधि जित्ने बित्तिकै प्रचण्डले फेसबुकमार्फत घोषणा गरेको नगद तीन लाख पाउन भने खेलाडीले अझै कुर्नुपर्ने भएको छ।
 
सम्मान कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्डले प्रोत्साहनस्वरुप सरकारले प्रत्येक खेलाडीलाई तीन लाख दिने घोषणा गरेको बताए। 'यो नितान्त सरकारको घोषणा हो,' उनले भने।
 
सम्मान कार्यक्रममा एन्फाका उपाध्यक्ष मणि कुँवरले देशको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला छिट्टै पुनर्निर्माण गर्न पहल गरिदिन गरेको आग्रहमा प्रधानमन्त्रीले पुनर्निमाण कार्य भइरहेको र यसलाई छिट्टै सम्पन्न गर्ने विश्वास दिलाए। 'रंगशाला सानो भइसकेको छ। एउटाले मात्र पुग्दैन,' उनले भने, 'त्यसैले हामीले नयाँ रंगशाला निर्माण गर्ने तयारी गरिरहेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell