PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

महिला एसिया कप : नेपाली टोली घोषणा, विवादका कारण प्रशिक्षक छानिएनन्



गोविन्दराज नेपाल

महिला एसिया कप : नेपाली टोली घोषणा, विवादका कारण प्रशिक्षक छानिएनन्

काठमाडौं : यही नोभेम्बर २६ देखि थाइल्याण्डमा आयोजना हुने महिला एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ। रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।

नेपाली सिनियर राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटा, महिला टीमकी कप्तान रुविना क्षेत्री र आइसिसीका प्रतिनिधि वेङकटापती राजुको छनोट समितीले टोलीको छनोट गरेको हो।

अक्टोबरमा हङकङमा भएको आइसिसी विश्वकपको एसियाली छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी निर्मलाकुमारी शाही भने टीममा पर्न असफल भएकी छिन्। उनीबाहेक अन्य १३ खेलाडी नै एसिया कप खेल्ने टोलीमा परेका छन्। उनको स्थानमा संगीता राईलाई टोलीमा समावेश गरिएको छ। यस्तै विश्वकप छनोटमा टीममा पर्न असफल रहेकी शोभा आलेलाई पनि १५ सदस्यीय टोलीमा राखिएको छ।

किन परिनन् त निर्मला टीममा? 

प्रशिक्षक जगत टमाटाले पहिलोपोस्टसँग भने, 'निर्मला भारतमा बस्छिन्, उतै खेल्छिन्। भारतीय टिम रेल्वेबाट खेल्ने क्रममा चोट लागेपछि निर्मलालाई टीममा नराखएिको हो। हामीले रेल्वे टीमका प्रशिक्षक र फिजियोसँग पनि कुरा गरेका छौं। उनको चोट रिकभरी हुन अझै ३ हप्ता लाग्छ।'

आफूहरुले निर्मलाको मेडिकल रिपोर्ट पनि मगाएको टमाटाले बताए। आज बेलुका वा भोलि बिहानसम्ममा उनको रिपोर्ट पनि आइपुग्ने उनको भनाइ छ।

खोइ प्रशिक्षक?

नेपाली टोलीको घोषणा भए पनि प्रशिक्षकको घोषणा भने भएको छैन। यसअघि हङकङमा भएको प्रतियोगितामा राजु बस्न्यातले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए। तर उक्त प्रतियोगिताको क्रममा खेलाडीमाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि प्रशिक्षकको घोषणा भने भएको छैन।

'राजुको बारेमा आएको कन्ट्रोभर्सीले गर्दा प्रशिक्षक घोषणामा ढिलाइ भएको छ,' टमाटाले भने। आइसिसीका अर्का प्रतिनिधि वन्दुला वार्नपुरा आजै नेपाल आउने र प्रशिक्षकको विषयमा पनि टुङ्गो लाग्ने पनि उनले जानकारी दिए।

एसिया कप नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म थाइल्याण्डमा हुँदैछ। नेपाल विश्वकपको एसियाली छनोटमा उपविजेता बन्दै महिला एसिया कपको लागि छानिएको हो।
 
नेपाल र आयोजक थाइल्याण्डसँगै यस प्रतियोगितामा एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ।

राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २६ मा पाकिस्तानसँग खेल्नेछ। नेपालले नोभेम्बर २८ मा श्रीलंका, २९ मा बंगलादेश, डिसेम्बर १ मा थाइल्याण्ड र डिसेम्बर २ मा भारतसँग खेल्नेछ। (फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell