PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चर्यामै ३४ वर्ष बिताएका गुरु मुनिकार भन्छन्- 'खोइ चर्याको चर्चा?'



स्वेच्छा राउत

चर्यामै ३४ वर्ष बिताएका गुरु मुनिकार भन्छन्- 'खोइ चर्याको चर्चा?'

काठमाडौं : चर्या नृत्य सिक्नकै लागि उनले गुरुहरुको घर पुछ्ने, भाडा माझ्ने, लुगा धुनेसम्मका घरेलु काम गरे। पाँच चर्या गुरुहरुबाट दस वर्ष नृत्य सिक्दा धेरै ज्ञान हासिल गरे। त्यपछि नै सांस्कृतिक एवं धार्मिक महत्वसँग जोडिएको चर्याको ज्ञानसँग उनी विस्तारित हुँदै गए। यसपछिका ३४ वर्ष भने उनी अनवरत चर्याको उत्थानका लागि जुटिरहेका छन्।
 
हरेक बिहान नुवाउथे, केही समय ध्यान गर्थे र पुग्थे चर्या सिकाउने गुरुको घरमा। 'गुरुकोमा गरेका ती काम सबै गुरुदक्षिणा नै थिए,' चर्यागुरु चन्द्रमान मुनिकार सम्झन्छन्, 'पहिले पैसा तिर्ने चलन नै थिएन।'
 
२०४० सालमा एसएलसी दिएपछिको दैनिकी थियो यो। खाली समयको भरपूर उपयोग चर्या सिक्नमै गरे उनले। उनको यही चाहना बुझेर कक्षाकै साथीले पुर्‍याएका थिए, आफ्नै बुबा रत्नकाजी बज्राचार्यकहाँ।
 
हेर्दा उनले जति सहज ठानेका थिए, नृत्य सिक्नु सुरुमा उति सजिलो थिएन। धार्मिक नियमभित्र बाँधिएर नाच्नुपर्थ्यो। समाजले नाच्नेहरुलाई हेर्ने दृष्टिकोणका कारण नृत्य नसिक्न पनि परिवारले दबाब दिने गर्थे। चर्या सिक्ने समय सिकाउनेको मूडमा भर पर्थ्यो। चन्द्रमान भने चर्याको मुद्रा आफूले नै प्रस्तुत गर्थे। सार्वजनिक रुपमा निकै कम प्रस्तुत हुने चर्या सिक्नेहरु निकै कम थिए। गुरुहरु त थिए, बौद्ध दीक्षा लिएर चर्या कला सिकेका। धार्मिक महत्वलाई ध्यानमा राखेर नै ती गुरुले भने सबै जात र धर्मकालाई चर्या कलाको ज्ञान दिएनन्।
 
मुनिकार भन्छन्, 'त्यसैले त मैले जुन गुरुहरुबाट सिकेँ उहाँपछि हाम्रो समयमा चर्या सिक्ने/सिकाउनेहरु देखिन छोडे। जसका कारण विस्तारै चर्या लोप हुन थालेकोमा चिन्ता लाग्न थालेको छ।'
 

के हो चर्या नृत्य?


बज्रयानी बौद्ध धर्मको तान्त्रिक विधाको कला प्रस्तुत गर्ने माध्यम हो चर्या नृत्य। ध्यानभावमा ढालिएर नृत्यद्वारा बौद्ध दर्शनको प्रस्तुति दिनु यो नृत्यको विशेषता भएको बताउँछन्, चर्यागुरु मुनिकार।
 
ध्यानको भाव र मुद्राको आधारमा केन्द्रित हुन्छ चर्या। त्यसैले पनि शारीरिक चालढालसँग यो नृत्य थोरैमात्र सम्बन्ध नरहने उनको तर्क छ।
 
मुनिकारका अनुसार यो नृत्य दुई किसिमको हुन्छ- गोप्य र सार्वजनिक।
 
गोप्य नृत्य सिक्न र प्रस्तुत गर्नका लागि बज्रयान बौद्ध धर्मको विशेष ज्ञान लिनुपर्छ। यसमा कलाकारलाई नियमले बाँध्छ। बिहान उठेर नुहाउनु, गुरुमण्डलीको पूजा गर्नु र ध्यान गरेर मात्र दिनाचर्या सुरु गर्नु चर्याको नियम हो।
 
'समाधिभित्र बसेर बौद्ध दीक्षा लिनेले गोप्य चर्या गर्न पाउँछन्,' मुनिकार सुनाउँछन्, 'गोप्य चर्याको प्रस्तुति पनि सीमित मानिसबीच हुन्छ।'
 
आम दर्शकले हेर्न, सिक्न सक्ने सीमित चर्या हो। बौद्ध पूजासँगै प्रस्तुत गरिने मुद्राहरु जस्तै भए पनि यसमा गोपनीयता भङ्ग गरिँदैन।
 
ग्रन्थ, ध्यान र एकाग्रतासँग सम्बन्धित भएकाले गोप्य चर्याका लागि दीक्षा लिन गाह्रो हुने मुनिकार बताउँछन्। 'हामीले गर्ने हेर्ने सबै बाह्य चर्या हो। यो पनि गाह्रो छ तर यसमा नियमभित्र बाँधिनु पर्दैन,' उनले भने।
 

चर्याको महत्व किन?


चर्यामा नृत्यमा न कुनै व्यावसायिक अपेक्षा जोडिएको थियो न यसलाई रुचाउने दर्शकको भिड। तर एउटा इच्छाशक्तिले चन्द्रमान मुनिकारलाई त्यस समयको असल चर्या शिष्य र अहिलेको सफल गुरु बनायो। भन्छन्, 'चर्या नाच सिकाएरै बीस हजार बढी विद्यार्थी कमाएँ।'
 
उनमा सांस्कृतिक संरक्षणमा चर्या नृत्यको प्रस्तुतिले खेल्न सक्ने भूमिकाबारे पहिले नै अलिअलि चेत भइसकेको थियो। त्यसैले पनि यस मौलिक नृत्य र सांस्कृतिक कला उत्थानका लागि चर्या नछोडेको उनको भनाइ छ।
 
भन्छन्, 'देवत्व अनुभव गर्न पनि यो नाच महत्वपूर्ण छ। धर्म र आस्थासँग जोडिएकोले नाच्ने र हेर्ने दुवैले आत्मीय सन्तुष्टि पाउन सक्छन्।'
 
चर्या नृत्यको अर्को विशेषता हो- अनुशासन र नियम। अनुशासनभित्र रहँदा पनि स्वतन्त्र महसुस गर्न सिकाउने कलाको रुपमा चर्यालाई व्याख्या गर्छन् मुनिकार।
 
'ध्यान र एकाग्रता चर्याको पर्यायवाची हुन्,' मुनिकार यसको विशेषताबारे थप्छन्, 'मान्छेको मनलाई स्थिर बनाउन सक्छ यो नाचले।  अन्य महत्वसँगै जोडिन्छ मनोरञ्जन।' चर्या आजको समयसम्म आइपुग्दा धार्मिक दर्शनलाई मात्र नभई मनोरञ्जनको राम्रो माध्यम पनि बनेको उनको बुझाइ छ।
 संस्कृतिविद् सत्यमोहन जोशी भने चर्याले सांस्कृतिक महत्व मात्र नभई राष्ट्रिय पृष्ठभूमिको केही अंश पनि बोकेको बताउँछन्। २०१३ सालमा बौद्ध सम्मेलनका लागि आएका पाहुनालाई देखाउन भनेर पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन सुरु गरेको यो नृत्यले त्यसयता मनोरञ्जनात्मक कार्यमा पनि खास ठाउँ बनाएको उनले बताए।
 
त्यसो त शारीरीक कसरतमा पनि चर्याले सहयोग पुर्‍याउने मुनिकार बताउँछन्। '५० वर्ष पुग्न लाग्दा पनि म त्यस्तो बुढो देखिन्छ त? न ठूलो पेट छ न अनुहारमा चाउरी,' चर्याले नै आफूमा ऊर्जा थपेको उनको अनुभव छ।
 

महँगो नृत्य

एक समय चर्या लोप हुने संकेत देखिएको चर्या गुरुहरुको अनुभव छ। भन्छन्, 'हाम्रै समूहको पहलमा केही उत्थान भएको छ।'
 
२३ वर्षयता मुनिकारले हरेक वर्ष निःशुल्क चर्या नृत्य प्रशिक्षण गराउन सम्पदा शिविर आयोजना गर्दै आएका छन्। शिविरमा १५० सम्म प्रशिक्षार्थीको सहभागिता रहने गरेको छ। नियमित चर्या सिक्न आउनेहरु पनि सङ्ख्यात्मक रुपमा बढेको उनी बताउँछन्।
 
मुनिकारले पोखरा, दमौली, खैरेनी आबुखैरेनी लगायत विभिन्न ठाउँमा र नेपालबाहिर बंगलादेशमा पनि चर्या प्रशिक्षण दिइसकेका छन्। त्यसबाहेक १२ देशमा प्रस्तुति दिइसकेको उनीसँग अनुभव छ।
 
'अन्तराष्ट्रिय मञ्चमा चर्या प्रस्तुत हुनु भनेको नेपालको कला प्रस्तुत हुनु हो। सिक्नेहरुका लागि पनि यस्तो कार्यक्रमले प्रोत्सहान थपिदिन्छ,' उनले भने।
 
नृत्यका विभिन्न विधा व्यवसायिक हुँदै गइसकेका छन्। तर चर्यालाई भने व्यावसायिक बनाउन नमिल्ने मुनिकार बताउँछन्। भन्छन्, 'गोप्य चर्या यसै पनि सार्वजनिक गर्न मिल्दैन। बाहिर देखाइने पनि कलाको महँगो विधा हो।'
 
उनका अनुसार चर्या नाच्ने एक जनाको कस्ट्युमलाई नै करिब दस हजार मूल्य पर्छ। नाचमा प्रयोग हुने बाजाहरु २५ देखि ३० हजारसम्का हुन्छन्। चर्याको लुगा र बाजा विशेष ठाउँमा अर्डरअनुसार मात्र बन्ने उनी सुनाउँछन्।
 
धार्मिक पक्ष र सांस्कृतिक पाटोलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने यस नृत्यलाई अझै विस्तार गर्न आवश्यक उनले देखेका छन्। आफ्ना गुरुहरुको युगपछि यसले निरन्तरता पाउला नपाउला उनमा चिन्ता पनि छ। यसैले उमेर, जात, धर्म नहेरी इच्छा गर्नेहरुलाई उनी निरन्तर चर्या प्रशिक्षण दिइरहेकै छन्।
 
'हरेक पुस्तालाई यो सिकाउँदै जानुपर्छ। नत्र नाश हुन्छ,' उनी भन्छन्। मुनिकारका दुई छोरा, एक छोरी र श्रीमती पनि सबै चर्यामै लागेका छन्।
 
घरमा पाँच लाख बराबरको चर्या कस्ट्युम राखेका उनले आफ्नै खर्चमा पनि अरुलाई चर्या नृत्यका लागि प्रोत्साहन गर्छन्।
 
व्यवस्थापनमा स्नातकोत्तर गरेका मुनिकारले २३ वर्ष कम्प्युटर शिक्षकका रुपमा काम गरे। तर चर्या नृत्यमा पनि कम मेहनत र समय लगानी गरेनन्। १० वर्षको अध्ययनपछि 'चर्या नेपाल' नामक किताब पनि निकाले। पाँच वर्षयताको रिटायर्ड लाइफ भने चर्या एकेडेमी स्थापनाको सम्भावना र अध्ययनका लागि खर्चिएका छन्।
 
'म रहुन्जेल चाहिँ यही नृत्य संरक्षणका लागि नै काम गर्छु,' चर्या गुरुको सपना निकै ठूलो छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell