PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

निर्माता संघले लाखौं रुपैयाँ ठगेको आरोप लाउने नवल खड्काको दाबी- 'बक्सअफिस स्थापना गर्छौं'



स्वेच्छा राउत

निर्माता संघले लाखौं रुपैयाँ ठगेको आरोप लाउने नवल खड्काको दाबी- 'बक्सअफिस स्थापना गर्छौं'

काठमाडौं : नवगठित 'चलचित्र निर्माता संघ नेपाल'ले नेपाल चलचित्र निर्माता संघले आर्थिक अनियमितता र विधानविपरीत कार्य गरेको आरोप लगाएको छ।
 
भवन निर्माण कोषका लागि जम्मा भएको २३ लाख ८३ हजार र सदस्यताको ८ लाख संघले हिनामिना गरेको भरखरै स्थापित नयाँ संघका अध्यक्ष नवल खड्काले दाबी गरे।
 
चलचित्र व्यवसायलाई पनि उद्योग बनाउने हेतुले आफूहरु सदस्य बने पनि संघले सिन्को भाँच्न नसकेको आरोप खड्काले दोहोर्‍याए।
 
बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी नयाँ संघका पदाधिकारीहरुले निर्माता संघको आलोचना गरे। 'कानुनी ढङ्गबाट अगाडि बढ्दा पनि संघले कुनै निचोड निकाल्न नसकेपछि मुनाफा रहित नयाँ संघ दर्ता गरेका हौं,' सचिव मनोज श्रेष्ठले बताए।
 
राजकुमार राई अध्यक्ष रहेको नेपाल चलचित्र निर्माता संघप्रति असन्तुष्ट रहँदै आएका खड्काले आफ्नो नेतृत्वमा गत कात्तिक २५ गते नयाँ संस्था 'चलचित्र निर्माता संघ नेपाल'को घोषणा गरेका थिए। पत्रकारहरुमाझ संघले कानुनी रुपमा पाएको संघ दर्ताको प्रमाणपत्र पनि सार्वजनिक गरेको छ।

सोही कार्यक्रममा अध्यक्ष खड्काले ६ महिनाभित्र नेपाली चलचित्रका लागि बक्सअफिस स्थापना गर्ने दाबी गरेका छन्। 'बक्सअफिसले कसैलाई घाटा गराउँदैन,' उनले भने, 'तर पनि निर्माता संघ प्रालिले आजसम्म किन स्थापना गर्न सकेन?'
 
बक्स अफिस, फिल्म प्रोजेक्ट बिमा, पाइरेसी रोकथाम, बजार बिस्तार, फिल्म सिटी, व्यवस्थित प्रदर्शन, सर्भर चार्ज आदिको विकास संघको कार्ययोजना रहेको खड्काको भनाइ छ।
 
फिल्मको लगानी, दर्शक संख्या, फिल्मको कमाइबारे पारदर्शिताका लागि बक्स अफिस आवश्यक भएको सहसचिव किसन पोखरेलले बताए।
 
बक्स अफिस नहुनाले चलचित्र व्यवसायीलाई कुल आम्दानीबारे निश्चित तथ्य थाहा नहुने भएकाले कलाकारसहित निर्देशक, निर्माता, बिक्रेताहरुले बक्स अफिसको माग गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell