PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'मिल्क टी'मा घोलिएको सामाजिक सम्बन्धको प्रश्न



स्वेच्छा राउत

'मिल्क टी'मा घोलिएको सामाजिक सम्बन्धको प्रश्न

काठमाडौं : एउटी महिलाको मनोविज्ञानमा कस्तो असर पर्छ, जब आफ्नो गर्भमा भएको बच्चालाई बुबाको नाम दिन ऊसँग कुनै पुरुष उभिँदैन!
 
यही प्रश्नको उत्तरसँगै नारी स्वतन्त्रता र हक अधिकारको विषयलाई ठाउँ दिएको छ नाटक 'मिल्क टी'ले।
 
नारी र पुरुष एकै सिक्काका दुई पाटा भन्दै आए पनि बोलीलाई व्यवहारमा उतार्न चुक्छ समाज। र, त्यही समाजको सोचमा निर्देशित हुन्छ हाम्रो समाजका महिलाको दैनिकी। यही प्रवृत्तिलाई व्यङ्ग्य गर्छ सिर्जना भट्टराईले निर्देशन गरेको नाटक मिल्क टीले। नाट्य अभिनेत्रीको यो पहिलो निर्देशकीय काम हो।
 
नाटककी मुख्य पात्र राधा सरकारी जागिरे हुन्छे। आर्थिक हिसाबले सम्पन्न परिवारकी भएर पनि ऊ परिवारसँग हुँदिन। किनकि आफ्नै भाउजूहरुसँग उसको सोच मिल्दैन। ऊ स्वतन्त्रताको पक्षमा उभिएर एक्लो जीवन बाँचिरहेकी हुन्छे तर भाउजूहरु सोच्छन्- नन्द छाडा भई। आफू लगायत परिवारका अन्य सदस्यलाई दुःख दिई।
 
राधाको एक प्रेमी पनि छ, शिव। जो विवाहित हुन्छ। शिवले आफ्नो भाउजूको वचन राख्न गर्भवती महिलासँग विवाह गरेको हुन्छ। तर उसलाई स्विकार्न सक्दैन। राधासँगै समय बिताइरहँदा जब उसले राधा नै गर्भवती भएको थाहा पाउँछ, मानसिक द्विविधामा पर्छ।
 
विभिन्न प्लटहरुले कथालाई जोड्छन्। राधाको भान्सामा उम्लने चियाले पात्रहरुलाई कहिले नोस्टाल्जिक बनाउँछ त कहिले जीवनको स्वादबारे दर्शन सिकाउँछ।
 
कुनै पनि नारी अविवाहित रहेर पनि उसमा मातृत्वको भावना पैदा हुन सक्छ भन्ने कथा बोक्छ नाटकले। अविवाहित भएर पनि एक्लै बस्न रुचाउने, आलोचना सहन सक्ने, आमा बन्न चाहाने नारीलाई मुख्य पात्र देखाएर नारी स्वतन्त्रताको मात्र विषय उठाउँदैन मिल्क टीले। विवाहेत्तर सम्बन्धले पुरुषमा निम्त्याउने लाचारीपनमाथि पनि व्यङ्ग्य गर्छ। अरुको सन्तान जन्माएकी ऋतुलाई श्रीमती स्विकार्न नसक्ने शिवले आफ्नै गर्भ बोकेकी राधालाई पनि स्विकार्न नसकेको कथाले सामाजिक मान्यतामा प्रश्न गर्छ।
 
समाजको यथार्थलाई सीमित, सेटिङ र प्लटमा अटाएको छ, सुलक्षण भारतीको लेखन रहेको यो नाटकले।
 
गहन विषयलाई संवाद र प्रस्तुतिबाटै उठाए पनि दर्शक हसाउन भने नाटकमा पात्रहरुको प्रयोग भएको छ। जसमा दुई भाउजू मुख बङ्ग्याएर हाँसो गुञ्जाउन मेहनत गर्छन्।
 
अभिनयमा सक्रिय भए पनि यसअघि बोक्सीको घर लेखेका सुलक्षण भारतीले लेखेको यो दोस्रो नाटक हो।
 
निर्देशक सिर्जना स्वयं राधा पात्रकी रुपमा छिन् भने लेखक सुलक्षण शिव। असल जीवनमा यी दुई पति-पत्नी हुन्। अन्य कलाकार प्रेमवर्षा, लुनिभा तुलाधार, रेनुका कार्की, कियर राई, अनुप न्यौपाने, आशिष घिमिरेको पनि अभिनय छ।
 
मंसिर ३ गतेबाट सुरु भएको नाटक मण्डला थिएटरमा पुस ३ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ। ४:३० बजेबाट सुरु हुने नाटक एक घन्टा ३० मिनेट लामो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell