PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​फिल्म समीक्षा पुरानो डुङ्गा : भन्ने कमेडी, बिकाउन खोज्ने आँसु



स्वेच्छा राउत

​फिल्म समीक्षा पुरानो डुङ्गा : भन्ने कमेडी, बिकाउन खोज्ने आँसु

काठमाडौं : कुनै लिखित कथालाई दृश्य र संवादमा उतार्दा त्यसको विषयले न्याय पाउँछ वा पाउँदैन केले निर्धारण गर्छ? यो कुरालाई ध्यानमा राखेर फिल्म निर्देशन गर्लान् कुनै पनि निर्देशकले। रामबाबु गुरुङले माओत्से गुरुङको कथालाई आफै लेखे र त्यसलाई फिल्मको रुपमा प्रस्तुत गर्न आँटे पनि। र बनाए 'पुरानो डुङ्गा'।

बेगनास तालको किनारमा रहेको माझी परिवार। डुङ्गा खियाएर घर चलाउँदै आएका हुन्छन्। अचानक भाइले बाइक 'यमाहा आरएक्स १००' किन्नका लागि अंश माग्छ। घर र डुङ्गा बाहेक केही नभएपछि भाइले घर दाइलाई छोड्छ र डुङ्गा लिएर भाग्छ। अनि सुरु हुन्छ फिल्मको द्वन्द।

एउटा वियोगान्त कथा, जसले साधारण नेपाली (माझी)को जीवनशैली, गरिबी, दु:ख, पीडा, घरेलु विवाद आदिलाई समेट्छ। फिल्ममा प्रस्तुत भएको कथा सरर सम्झदा मार्मिक लाग्छ तर यो कथा फिल्मका लागि फिट भएको भान हुँदैन। किनकि सानो कथालाई अनावश्यक तन्काएर लामो बनाएका छन् रामबाबु गुरुङले। 

पुरानो डुङ्गासँग जोडिएको भक्ते माझीको जिन्दगीको कथा। त्यससँगै जोडिन्छ भक्तेको भाइ बतासेको प्रेम कथा। सो प्रेम कथाकी अर्की पात्र चन्दु, चन्दुको पनि दोहोरी साँझको साहुसँगको सम्बन्ध। र घरको हलीसँग भागेर विवाह गरेको कथा। एउटा प्लटसँग अर्को प्लटको आवश्य कनेक्शन नभए पनि फिल्म लामो बनाउनकै लागि यी कथाका फुर्का गाँसिएको प्रष्ट हुन्छ।

शुक्रबार (हिजो) प्रदर्शनमा आउनुअघि ‘पुरानो डुङ्गा’ले हिन्दी फिल्म 'डियर जिन्दगी'को बुकिङ उछिनेको खबर सार्वजनिक भयो। फिल्म प्रचारको कुन पक्षले तान्यो दर्शक? डाक्टर कृष्णहरी बराल भन्छन्,'फिल्म सफल वा असफल हुनुमा फिल्ममा प्रयोग भएको गीत संगीतको पनि ठूलो भूमिका हुन्छ।' 

पुरानो डुङ्गामा तीन गीतको प्रयोग छ 'निर जैले रिसाउने, डुङ्गा चलाउ माझी र मन्द मन्द हाँसीदिनु। गीतमा प्रयोग भएका शब्द र संगीत उत्कृष्ट लाग्छन्। जसमा कालिप्रसाद बास्कोटाको मिहिनेत झल्कन्छ। गीतहरु क्याची छन्। तर दुई गीतको भिडियोले दुई घण्टाको फिल्मको पूरै कथा बोल्छ। निर जैले रिसाउने बोलको गीतले दयाहाङको प्रेम कथा र डुङ्गा चलाउ माझीले मुख्य पात्र भक्तेको अवस्था। 

'निर जैले रिसाउने' बोलको गीत सफल हुनुकै कारण प्रतिक्षित फिल्मको लिस्टमा परेको हो। कृष्णहरि बरालले भने जस्तै गीत सुनेरै फिल्मप्रति आशावादी बनेका दर्शक भने फिल्म हेरिसकेपछि केही हदमा निराश हुन सक्छन्। 

अभिनयको हिसाबले माओत्से गुरुङ र मेनुका प्रधानले उत्कृष्ट काम गरेका छन्। प्रियंका कार्की र दयाहाङले राम्रो प्रस्तुति दिएपनि उनीहरुको अभिनयमा कुनै नयाँपन झल्कँदैन। उस्तै लाग्छन्, जस्तो अरु फिल्ममा देखिन्छन्। 

पोखराको सुन्दरताको भरपुर फाइदा उठाएका छन् सिनेमाटोग्राफर सैलेन्द्र डि कार्कीले। दृश्यहरुलाई राम्रो कैद गरेका छन् उनले। 

रोमान्टिक कमेडी भनेर अनाउन्स गरिएको फिल्म हो पुरानो डुङ्गा। संवाद र हाउभाउलाई माध्यम बनाएर दयाहाङ राई, बुद्दी तामाङ, डिबी गुरुङ मणीराम पोखरेल, सुदाम सिके जस्ता कलाकारहरु दर्शक हँसाउन संघर्ष गर्छन्। तर फिल्म कमेडी जनराको हुनै सक्दैन। बरु संवेदना, गरिबी, आँसु बिकाउने प्रयास गर्छ।

समग्रमा फिल्मको कथा यथार्थपरक छ। संवेदनाले मन छुन्छ तर फिल्ममा सो वियोगान्त कथालाई अन्त्यसम्म जबरजस्ती तानिएको छ। प्लटहरुले धेरैवटा कथा जोड्छ तर क्लाइमेक्सले ठाउँ नै पाउँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell