हेलम्बु, तार्केघ्याङकी जमुना लामाले कक्षा ३ मा पुगेर मात्र नेपाली भाषा बुझ्न थालिन्। नेपाली राम्ररी बोल्न र लेख्न त उनलाई अझै पनि आउँदैन। कक्षा ३ पछि पढ्नका लागि स्कूल परिवर्तन गर्न पर्थ्यो तर उनले ४ कक्षामा भर्ना पाइनन्। कारण हो भाषामा समस्या। स्थानीय स्कूलले पास गराउँदै त लग्यो तर तीन कक्षा उत्तीर्ण भइसक्दा पनि न उनले आफ्नो नाम, ठेगाना लेख्न सिकिन् न पढ्न नै जानिन्।
'नेपाली बोल्न, लेख्न गाह्रो लाग्छ। इङ्गलिस पनि गाह्रो हुन्छ तर नेपाली जस्तो धेरै गाह्रो होइन,' उनले लजाउँदै सुनाइन्।
लवज ह्योल्मो भाषाको आए पनि आफूले ठीक नेपाली बोल्दै छु भन्नेमा सम्हालिंदै बोल्छिन् उनी। सुनाउँछिन्,'आजकाल टुरिस्टहरुले सोधेको कुराको जवाफ इङ्गलिसमै दिन सक्छु।'
उनका अभिभावक वाङ दोर्जे लामा भने चिन्तामा छन्। जमुनाले एक कक्षाबाट पुन: पढाई दोहोर्याउनु परेकोमा। घर, समाजमा एउटा भाषा बोलेको, सिकेको कारण नेपाली र अङ्ग्रेजी भाषामा पढ्न नसकेको उनको तर्क छ। भन्छन्,'न पढाउनेहरुले ह्योल्मो भाषामा बुझाउन सक्छन् न यताका विद्यार्थीले सोध्न।'
हेलम्बु गाविसकै केही विद्यालयमा ह्योल्मो भाषा र संस्कृतिसँग मिल्दो 'सम्बोटा' लिपिमा पढाई भएपनि जमुना लामा पढ्ने गोर्खा विद्यापिठमा भने सो लिपि पनि राखिएको छैन। पाँच कक्षासम्म पढाई हुने सो स्कूलमा जम्मा दश विद्यार्थी र दुई शिक्षक छन्।
सरकारले लागू गरेको स्थानीय भाषाको वैकल्पिक पाठ्यक्रममा राखिएको सम्बोटा लिपि हेलम्बु ६, मेलम्चीघ्याङ स्कूलमा भने कक्षा पाँचसम्मका लागि अनिवार्य पढाइन्छ। प्रध्यानाध्यापक पूर्ण गौतमका अनुसार कक्षा एकदेखि पाँचसम्म सो लिपिको पाठ्यक्रम राख्नाले सांस्कृतिक विषयका ज्ञानहरु विद्यार्थीले चाँडो सिक्ने गरेका छन्। उनी भन्छन्,'किन्डरगार्टेन र नर्सरीमा त नेपाली भाषा सिकाउनकै लागि पनि किताबहरु राखेका छैनौं।'
अभिभावक र विद्यार्थीले नै सम्बोटा लिपि भन्दा पनि नेपाली र अङ्गेजी भाषामा अध्यापन भएको रुचाउँछन् भन्ने उनको दावी छ। भन्छन्,'कक्षा ६ देखिमाथि पनि सम्बोटा लिपिमा पढ्न चाहनेले निवेदन लेख्न विद्यालयले निर्देशन दिए पनि आजसम्म एउटा पनि निवेदन आएको छैन। ह्योल्मो समुदायकै पनि इच्छा हुनुपर्यो नि यो भाषामा पढ्न।'
राष्ट्रिय पाठ्यक्रम र परीक्षा तयारीका लागि अफ्ठ्यारो हुने भएकाले पनि सम्बोटा लिपि कक्षा पाँचसम्म मात्र राख्न परेको बताउँछन् गौतम। भौगोलिक अफ्ठ्याराका कारण पनि समय, कम, शैक्षिक जनशक्ति, सीमित स्रोत आदिका कारण पनि स्थानीय भाषामा पढाई गर्न/गराउन गाह्रो हुने उनको दाबी छ।
स्थानीय स्तरमै पाठ्यक्रम विकास र समावेश गरिनुपर्ने भनिए पनि ह्योल्मो समुदायको विद्यालयको हकमा त्यसो भएको छैन। हेलम्बु तिम्बुकी कुर्चुङ ह्योल्मोले पनि कक्षा १ मा भर्ना भएको एक वर्षपछि मात्र नेपाली बोल्न जानिन्। अहिले उनी पढ्ने गोल्मादेवि विद्यालयमा अङ्रेजी माध्यममा पढाई हुन थालेको छ। ९ कक्षामा अध्ययनरत कुर्चुङ भन्छिन्,'नेपाली त बल्ल बल्ल बोल्न लेख्न र पढ्न जानेको। अहिले अङ्ग्रेजीले गाह्रो बनाएको छ।'
'घरमा आमाबुबासँग बोल्ने भाषामा पढ्न र लेख्न पाए कति सजिलो होला', कुर्चुङ सुनाउँछिन्। उनी पढ्ने विद्यालयमा शिक्षकहरु प्रायः नेपाली भाषा बोल्ने छन्। उनको अनुभवमा धेरै पटक आफूले र ह्योल्मो समुदायका अरु साथीहरुले भाषाकै समस्याका कारण पाठ्यक्रम नबुझ्ने गरेको बताउँछिन्।
गोल्मादेवि विद्यालयमा पनि कक्षा १ देखि ३सम्म अनिवार्य सम्बोटा लिपि राखिएको प्रिन्सिपल रोहिणीप्रसाद अधिकारीको दाबी छ। भन्छन्,'सुरुमा भाषा अनुवाद गरेर भएपनि सिक्ने वातावरण बनोस् भनेर राखेका हौं। नत्र हेलम्बुको यो तल्लो बेल्टमा नेपाली नबुझ्ने कमै हुन्छन्।'
मोफसलमा रहेका विद्यालउहरुले स्थानीय भाषा, सम्प्रदाय, संस्कृति आदिलाई ध्यानमा राख्नुपर्छ भनिए पनि हेलम्बुका धेरै विद्यालयमा एकअर्कालाई नबुझी शिक्षक पढाउनकै लागि जाने र विद्यार्थी हाजिर गर्न मात्र पुग्ने गरेको स्थानीय ओमु ह्याल्मु बताउँछन्। भन्छन्,'शिक्षकले के पढायो र विद्यार्थीले के बुझे? यी प्रश्नको जवाफ कुनै पनि निकायले दिन सक्दैन।'
गोल्मादेवि स्कूलका शिक्षक देवराज दाहाल भने सम्बोटा लिपि राख्नाले पनि विद्यार्थीहरु नियमित स्कूल आउने गरेको बताउँछन्। भन्छन्,'बोलिराख्ने लिपि लेख्न पढ्न पाउँदा साना नानीहरु नेपाली, अङ्गेजी भाषामा पढ्न भन्दा धेरै रमाउँछन्।'
उनलाई लाग्छ सांस्कृतिक र सम्प्रदायिक रुपमा सम्बोटा लिपिले सहयोग गरे पनि अभिभावक र कक्षा ७,८ देखि विद्यार्थीले सो भाषामा पढाईको डिमान्ड खासै गर्दैनन्।