काठमाडौं : थाइल्याण्डमा भइरहेको एसीसी महिला एसिया कप अन्तर्गत नेपालले सोमबार दोस्रो खेल श्रीलंकासँग खेल्दैछ।
पहिलो खेलमा पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित भएको थियो।
थाइल्याण्ड जानु अघि नै बंगलादेश र श्रीलंका मध्ये एक लाई हराउने योजना बनाएको नेपालले भोली श्रीलंका विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशा गरेको छ।
नेपालका प्रशिक्षक राजु बस्न्यातले श्रीलंका विरुद्ध राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।
'श्रीलंकाले पनि आज पाकिस्तानसँग हार बेहोरेको छ। त्यसैले पनि हाम्रो खेलाडीहरुको मनोवल उच्च बनेको छ।' थाइल्याण्डबाट राजुले पहिलोपोस्टसँग भने।
आज भएको खेलमा श्रीलंका पाकिस्तानसँग ७ विकेट हारेको थियो।
पहिलो खेलमा पाकिस्तान विरुद्ध नेपालको ब्याटिङ चल्न सकेको थिएन। प्रशिक्षक राजुले श्रीलंका विरुद्ध ब्याटिङ सुधार गर्नुपर्नेमा जोड दिए।
'हामीले अझै पनि ब्याटिङमै बढी ध्यान दिनुपर्छ। श्रीलंकन टीममा लेफ्ट ह्याण्ड खेलाडी धेरै छन् त्यसैले अफ स्पिनरलाई मुख्य प्राथमिकतामा राख्नेछु।' राजुले योजना बताए।
'श्रीलंका विरुद्ध १२० रन बनाउन सके हामीले जित्न सक्छौं।'
यस्तै टस जितेमा के योजना छ भन्ने प्रश्नमा राजुले भने,' यहाँ पानी परेर हल्का समस्या भइरहेको छ। भोली हाम्रो दिनको दोस्रो खेल हो। त्यसैले टसको योजना नी भोलि नै बन्छ।'