PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

१२ वर्षपछि खोलो फर्कियोस् नफर्कियोस्, फिल्मको नाम भने फर्कियो



स्वेच्छा राउत

१२ वर्षपछि खोलो फर्कियोस् नफर्कियोस्, फिल्मको नाम भने फर्कियो

काठमाडौं: सन् २००४मा श्याम राईको निर्देशनमा नेपाली फिल्म 'समर्पण' सार्वजनिक भएको थियो। प्रेम कथामा आधारित सो फिल्ममा त्यससमयका चर्चित कलाकारहरु सुशील क्षेत्री, सज्जा मैनाली, सुमी खड्का, वीरेन श्रेष्ठ आदिको अभिनय रहेको छ।

कविता राई निर्मात्री रहेको यही फिल्म कै नाममा नयाँ 'समर्पण' सार्वजनिक मिति तय भएको छ। 

उसो त केही समय यता पुराना हिट फिल्मको नामका पछाडि 'टु' थपेर फिल्म बनाउने क्रम बढ्दो छ। कति फिल्मलई त पुरानो फिल्मसँग कथा मिल्दो नभए पनि सिक्वेल भन्दै प्रचार गरियो। दर्पणछायाँ दुई, हिरो रिटर्नस्, ए मेरो हजुर दुई जस्ता फिल्म निर्माण युनिटले त कथा नमिले पनि नामको प्रयोग गरेको स्वीकार गर्दै आएका छन्।

वसन्त निरौला निर्देशित नयाँ 'समर्पण' पनि पुरानोको सिक्वेल भने होइन। तर किन दुरुस्तै राखियो बाह्र वर्ष पछि सार्वजनिक हुन लागेको फिल्म 'समर्पण'को नाम? 

निर्देशक निरौला भन्छन्,'कथासँग मिल्दो नाम यही रहेछ। त्यसमाथी फिल्मका स्कृप्ट राइटरले नै चयन गर्नु भएको नाम हो यो।' 

आम दर्शकमा चेत भएको विषय हो, कुनै पनि फिल्मको नाम पुरानो फिल्मसँग मिल्दो हुनुहुन्न। नाम जुधेमा चलचित्र विकास बोर्डले फिल्म दर्तामा रोक लगाउँछ। तर दश वर्ष भन्दा बढी पुरानो फिल्मको हकमा त्यसो नहुने विकास बोर्डका अधयक्ष राजकुमार राईले जानकारी दिए। उनले भने,'कुनै पनि फिल्म १० वर्ष अघि सार्वजनिक भएको छ भने सो नाममा पुन: नयाँ फिल्मको दर्ता स्वीकृत हुन्छ।'

उनका अनुसार फिल्म दर्ता भएर पनि सार्वजनिक भएको छैन भने १० वर्ष पछि त्यही नाममा अर्को फिल्मले स्वीकृति पाउँछ। पुरानो समर्पण भने युट्युबमा समेत सार्वजनिक भइसकेको फिल्म हो।
 
चलचित्र विकास बोर्डले लागू गरेको नियम भित्र बाँधिएर मात्र आफ्नो युनिटले फिल्म निर्माण प्रक्रिया अघि बढाएको बताउँछन् निर्देशक निरौला। भने,'हामीले पुरानो फिल्मको नामको गलत प्रयोग गरेका होइनौं। नियमले नदिने भएको भए हामीले कुनै नयाँ नाममा फिल्म दर्ता गर्थ्यौं।'

नयाँ समर्पणको आजै मात्र फस्ट लुक र गीत सार्वजनिक भएको छ। फिल्मका दुई गीतको छायाङ्कन बंगलादेशमा गरिएको हो। फायर इन्टरप्राइजेज एण्ड मिडिया प्रालिको प्रस्तुति रहेको चलचित्रमा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा, विश्वास लामा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्र पुसको १५ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell