PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

खस्किँदो महिला क्रिकेट, के हो खास समस्या?



गोविन्दराज नेपाल

काठमाडौं : गत अक्टोबरमा हङकङमा भएको आइसिसी महिला विश्वकपको एसियन क्वालिफायरमा नेपाल थाइल्याण्डसँग दुई पटक पराजित भएको थियो। चार राष्ट्र सम्मिलित उक्त प्रतियोगिता डबल राउण्ड रोविन लिगमा भएको थियो। जसमा नेपालले खेलेका ६ मध्ये ३ खेलमा जित हात पार्दा ३ खेलमा पराजित भयो।
 
नतिजा- नेपाल थाइल्याण्डभन्दा पछि रहँदै उपविजेता बन्यो।
 
च्याम्पियन बन्दै महिला विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्ने लक्ष्यसहित हङकङ पुगेको नेपाली चेलीले लक्ष्य पूरा गर्न सकेनन् तर थाइल्याण्ड नै च्याम्पियन बनेको कारण नेपाललाई एसिया कप खेल्ने चिठा पर्‍यो।
 
हङकङ प्रस्थान गर्नुअघि च्याम्पियन बन्दै नेपालीलाई दसैंको शुभकामना दिने बताएकी कप्तान रुबिना क्षेत्रीले प्रतियोगिता सकेर फर्केपछि उपविजेता बन्नु नै उपलब्धि मानेकी थिइन्।
 
ग्लोबल क्वालिफायर र विश्वकपमा पनि टेष्ट राष्ट्रसँग नै खेल्ने भएको र एसिया कपमा पनि एसियाका चार टेष्ट राष्ट्रहरुसँग खेल्न पाउने भएपछि त्यसलाई नै रुबिनाले उपलब्धि भएको बताएकी थिइन्।
 
प्रशिक्षक राजु बस्न्यातले हङकङबाट फर्केपछि नेपाली टोलीको स्तर बढेको प्रतिक्रिया दिँदै एसिया कपमा टेष्ट खेल्ने श्रीलंका वा बंगलादेशमध्ये एक टोलीलाई हराउने बताएका थिए। नेपालले एसिया कपमा टेष्ट खेल्ने तीन राष्ट्र पाकिस्तान, श्रीलंका र बंगलादेशसँग खेलिसक्यो।
 
परिणाम के त?
 
जित हात पार्न त सकेन नेपालले, तीनै खेलमा लज्जास्पद हार नै बेहोर्‍यो।
 
श्रीलंकासँगको खेलमा त रेकर्ड नै कायम गर्‍यो, सबैभन्दा कम स्कोरमा अलआउट हुने। नेपाल जम्मा २३ रनमा अलआउट भयो। ३ खेल गरेर जम्मा ३ खेलाडीले नै दोहोरो स्कोर गर्न सके।
 
नेपालले यसअघि राखेको महत्वाकांक्षी लक्ष्य त पूरा हुन सकेन नै, अब नेपाललाई आफ्नो इज्जत जोगाउनकै लागि भए पनि आयोजक थाइल्याण्डलाई हराउनुपर्ने चुनौती छ। नेपालले एसिया कपको अन्तिम खेलमा एसियन पावर हाउस भारतसँग खेल्नेछ। त्यसअघि भोलि बिहीबार नेपालले थाइल्याण्डको सामना गर्नेछ।
 
थाइल्याण्डसँग खेल्नुअघि नेपालले हङकङमा भएको दुई खेललाई सम्झनु जरुरी छ। विश्वकप क्वालिफायरको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३ तथा दोस्रो खेलमा १ विकेटको अन्तरले हारेको थियो। पहिलो खेलमा पूरा २० ओभर खेल्दै ७६ रन मात्र बनाएको नेपालले दोस्रो खेल सुधार गर्दै सय रनको आँकडा पार गरेको थियो।
 
१०८ रन बनाउँदा समेत नेपाल थाइल्याण्डसँग पराजित भयो।
 
अहिले भइरहेको एसिया कपमा नेपालको ब्याटिङ सबैभन्दा खराब देखिएको छ। थाइल्याण्डविरुद्ध पनि त्यसलाई सुधार नगर्ने हो भने नेपाल फेरि अर्को पराजयको भागीदार नहोला भन्न सकिन्न। त्यसैले यसअघिका खेलमा देखिएको पुरानो समस्यालाई नेपालले थाइल्याण्डविरुद्ध दोहोर्‍याउनु हुँदैन।
 
यी भए खेल र त्यसमा नेपालले गरेको प्रदर्शनको अवस्था। त्यसबाहेक पनि नेपाली टिमका बारेमा यसबीचमा धेरै कुरा भयो।
 
विश्वकप क्वालिफायर खेलेर आएपछि र थाइल्याण्ड जानुअघि नेपाली महिला क्रिकेटमा गम्भीर घटना सार्वजनिक भयो।
 
हङकङमा नेपालको प्रशिक्षक रहेका राजु बस्न्यातले महिला खेलाडीहरुमाथि यौन दुर्व्यवहार गरेको तथा गाली गरेको जस्ता घटना सार्वजनिक भयो। टिमकै केही खेलाडीहरुले यसविरुद्ध राखेपमा उजुरी दिएको भनेर आए तापनि स्वयम् प्रशिक्षक बस्न्यात कप्तान रुबिना र अन्य खेलाडीहरुले समेत यसको खण्डन गर्दै गलत समाचार बाहिर आएको बताए
 
एउटा टिमको लागि योभन्दा ठुलो झड्का के हुन सक्छ। त्यसलगत्तै एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भयो। जसमा रुबिनाकै नेतृत्वमा १५ सदस्यीय खेलाडीको नाम छनोट भयो।
 
टोली छनोट पनि विवादरहित हुन सकेन। कारण हङकङमा नेपालको तर्फबाट अलराउण्ड प्रदर्शन गरेकी निर्मलाकुमारी शाही टिममा थिइनन्। विश्वकप छनोटमा थाइल्याण्ड विरुद्धको पहिलो खेलमा निर्मलाले मात्र दोहोरो अंक स्कोर गर्दै ३६ रन बनाएकी थिइन् भने बलिङमा पनि सर्वाधिक ४ विकेट लिएकी थिइन्।
 
छनोट समितिले निर्मला भारतीय टीम रेल्वेबाट खेल्ने क्रममा चोट लागेको र तीन हप्ता आराम चाहिने बताएको थियो। तर नेपालका क्रिकेट समर्थकहरुले निर्मला टिममा नपरेको भन्दै सामाजिक सञ्जालमा ठूलो विरोध समेत गरेका थिए। त्यसको एसिया कप खेल्ने टोली घोषणा हुँदा प्रशिक्षकको घोषणा नगरे पनि थाइल्याण्ड प्रस्थान गर्नुअघि राजु बस्न्यातलाई नेपाली टीमको प्रशिक्षकको जिम्मेवारी सुम्पियो।
त्यसपछि झन् ठूलो विरोध भयो। 
 
नेपाली क्रिकेटमा यत्रो ठूलो स्क्याण्डल बाहिर आउँदा पनि सम्बन्धित निकायले आवश्यक चासो नदेखाएको पाइयो। खेलाडीहरुमा पनि मानसिक समस्या देखिएको धेरैले अनुमान गरे। जसको असर अहिले थाइल्याण्डमा भइरहेको प्रतियोगितामा प्रस्टै देखिएको छ। नेपाल सामान्य स्कोरमा समेटिएको छ। खेलाडीहरुले आफ्नो स्तर अनुसार प्रदर्शन गर्न सकिरहेका छैनन्।
 
एक पूर्व खेलाडीले अहिले नेपाली टिम आफैं पनि एकजुट भएर खेल्न नसकिरहेको प्रतिक्रिया दिइन्। नेपाली क्रिकेट समर्थकहरुले प्रशिक्षक र कप्तानको राजीनामाको माग गर्दै व्यापक विरोध समेत गर्न थालिसकेका छन्।
 
प्रशिक्षक राजु बस्न्यातले समेत राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै नेपालको ब्याटिङ डिजास्टर भएको प्रतिक्रिया दिएका थिए। अब नेपालले थाइल्याण्डविरुद्ध नतिजा आफ्नो पक्षमा पार्ने हो भने ब्याटिङमा सुधार गर्दै टिम गेमको भावनामा खेल्नु जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell