PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

महिला साफ फुटबल च्याम्पियनसिप : कस्तो रहला भारतविरुद्ध नेपालको प्रदर्शन?



गोविन्दराज नेपाल

महिला साफ फुटबल च्याम्पियनसिप : कस्तो रहला भारतविरुद्ध नेपालको प्रदर्शन?

काठमाडौं : नेपाली महिला फुटबल टोलीको लागि भारत चिरपरिचित प्रतिद्वन्दी जस्तै बनिसकेको छ। सन् १९८६ मा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन।
 
सन् १९९९ को एएफसी वुमन्स च्याम्पियनसिप खेलेपछि एकैचोटि २०१० को दक्षिण एसियाली खेलकुदमार्फत पुनरागमन जनाएको महिला फुटबल टोली २०१० मै दुई पटक भारतसँग पराजित हुन पुग्यो। एक दशकभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपाली महिला टोलीले दक्षिण एसियाका अन्य टोलीलाई भने फराकिलो अन्तरले हराइसकेको छ।
 
त्यसको करिब ६ वर्षसम्म पनि नेपाली महिला टोलीको नतिजा उस्तै आइरहेको छ। भारतसँग जहिल्यै हार्ने अनि दक्षिण एसियाका अन्य टोलीलाई हराउने।
 
२०१० यता नेपालले दुई पटक दक्षिण एसियाली खेलकुदमा फुटबलमा भाग लिइसकेको छ भने २०१० बाटै सुरु भएको महिला साफ च्याम्पियनसिप ३ पटक खेलिसकेको छ।
 
नेपाली महिला फुटबल टोलीले खेलेको यी पाँच वटै प्रतियोगितामा नेपाल उपविजेता बनेको छ। उपाधि भने सधैं भारतले नै जित्दै आएको छ।
 
गत फेब्रुअरीमा भारतमै भएको १२ औं दक्षिण एसियाली खेलकुदमा भारतलाई नेपालले बराबरीमा रोक्यो। यो नै नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो, भारत विरुद्ध। तर भारतसँगकै फाइनलमा भने नेपाल ४-० ले पराजित हुँदै रजत पदकमा समेटियो।
 
नेपालले दक्षिण एसियाली खेलकुदमा अहिलेसम्म भारतसँग ४ पटक भिडेको छ, जसमा ३ हार र एक बराबरीको नतिजा निकालेको छ। यस्तै साफ च्याम्पियनसिपमा नेपालले भारतसँग ३ पटक खेलेको छ। तीनै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ।
 
नेपालले भारतसँग कुल ७ पटक भिड्दा ६ हार बेहोरेको छ भने एक खेल मात्र बराबरी गर्न सफल भएको छ। यसक्रममा भारतले नेपालविरुद्ध २२ गोल गरिसकेको छ भने नेपालले २ गोल मात्र गरेको छ।
 
फेरि एक पटक भारतमै चौथो संस्करणको साफ च्याम्पियनसिप आयोजना हुँदैछ। नेपाल र आयोजकसँगै यसमा अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाउँदैछन्।
 
भारतको सिलिगुढीमा डिसेम्बर २६ देखि सुरु हुने प्रतियोगितामा नेपाल श्रीलंका, भुटान र माल्दिभ्ससहित समूह ए मा छ।
 
नेपाल र भारत आआफ्नो समूहको विजेता बनेको खण्डमा यी दुई टिमको भेट फाइनलमा मात्र हुनेछ। दुईमध्ये एक टिम समूह विजेता र अर्को उपविजेता बनेको खण्डमा भने सेमिफाइनलमै भेट हुनेछ।
 
साफ च्याम्पियनसिपको लागि नेपाली चेलीहरु अहिले दैनिक अभ्यासरत छन्। पहिलो पटक महिला टोलीको कमाण्ड पूर्व राष्ट्रिय फुटबल खेलाडी कुमार थापाले सम्हालेका छन्। अहिले ३० खेलाडी बन्द प्रशिक्षणमा छन्। केही दिनपछि नै अन्तिम टोलीको टुङगो लाग्नेछ।
 

भारतविरुद्ध नेपाल

  • दक्षिण एसियाली खेलकुद २०१०
समूह चरण ५-० ले पराजित
फाइनल ३-१ ले पराजित
 
  • साफ च्याम्पियनसिप २०१०
फाइनल १-० ले पराजित
 
  • साफ च्याम्पियनसिप २०१२
फाइनल ३-१ ले पराजित
 
  • साफ च्याम्पियनसिप २०१४
फाइनल ६-० ले पराजित
 
  • दक्षिण एसियाली खेलकुद २०१६
समूह चरण ०-० को बराबरी
फाइनल ४-० ले पराजित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell