PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कान्तिपुर गाथा : संसदमा कनिकालाई सांसदको सेक्सिस्ट रिमार्क



कान्तिपुर गाथा : संसदमा कनिकालाई सांसदको सेक्सिस्ट रिमार्क

पछिल्लो साता कनिकाले काम गरिन। अनिकेतसँगको डेटिङपछि उसको मन अलिकति पश्चतापमा र धेरै आल्हादमा बहकिएको थियो। अनिकेतसँग उसकोे यो सम्वन्धबारे चार्लीले चाल पायो भने के होला? यो प्रश्नले उसको दिमाग घुमाइरहेको थियो। तर, आज ऊ बेग्लै मूडमा थिइ। उसले सोची, अनिकेतसँगको सम्बन्ध चार्लीले चाल पाए पनि के भो र? केटा–केटी एकअर्काप्रति आकर्षित हुनु त सामान्य कुरा हो। यत्तिकैमा उसले केही भनेछ भने देखा जाला। केटीहरुले एकभन्दा बढी ब्वाइफ्रेण्ड बनाउन नहुने हो र? केटाहरुले पनि त एकभन्दा बढी गर्लफ्रेण्ड राखेकै हुन्छन्।

कनिका फ्रेस भैसकेकी थिइ। यसैपनि ऊ एउटै कुरामा धेरै दिन ह्याङ हुने केटी होेइन। उसको दिमागमा अब कुनै टेन्सन बाँकी थिएन। ऊ ‘सिरियसली’ काम गर्ने मूडमा थिइ। त्यही अनुसार उसले सुदिप्तीसँग भेटी। सुदिप्तीले उसलाई संसदको रिपोर्टिंग कन्टिन्यू गर्न भनेकी थिइ। कनिका खुश थिइ। संसदमा गएपछि दिन रमाइलो कट्छ। सांसदहरुका सयौँ नखरा हेर्न पाइन्छ। साथीभाइहरुको दायरा पनि फराकिलो हुन्छ।
आज ऊ समयभन्दा केही अघि पुगेकी थिइ संसदमा। समय निकै ढल्किसक्दा पनि पत्रकार साथीहरु दीर्घामा देखिएका थिएनन्। कनिकालाई आज कुनै न कुनै कुरा राम्रो नहुने आभास भएको थियो।

केहीबेरमा नै संसद प्रारभ्म हुन लागेको संकेत घण्टी बज्यो। त्यसपछि संसदको मार्सलले माननीय सदस्यहरु, माननीय सभामुख भन्ने जनाउ दियो। कनिकालाई यो दृश्य रमाइलो लाग्यो। ऊ संसद शुरु हुनुभन्दा अघि कहिल्यै आएकी थिइन। सभामुख आफनो कुर्सीमा बसिन् र संसदको कारवाही शुरु भएको जानकारी दिइन्।
 
सभामुखले संसद शुरु भएको जनाउ दिने बित्तिकै सभा भवनमा अचानक हल्ली–खल्ली मच्चियो। संसद सांसदहरुको कोलाहलमा डुब्यो। त्यहाँ कसैले कुनै पनि कुराको भेउ पाउन सक्ने अवस्था थिएन। न कसैले हल्ली–खल्लीको कारण नै बताएको थियो। प्रतिपक्षी दलले विरोध गर्ने कुरा सबैलाई थाहा थियो। तर, सांसदहरु यस्तो चर्को रुपमा प्रस्तुत होलान् भन्ने कसैले सोचेका थिएनन्। निकै बेरको कोलाहलपछि सभामुखले संसदको कारवाही स्थगित गरिन्। त्यति नै बेला कनिकाको कानमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेताको वार्ताको आवाज ठोकियो। कसो कसो भीडमा घुसेका बेला उ घचाडिएर त्यहाँ पुगेकी थिइ। कनिकाले सुनी, प्रमुख प्रतिपक्षी नेता बडो विरसिलो स्वरमा प्रधानमन्त्रीलाई भन्दैछन, ‘वार्ताको त कुुरै नगरौं, तपाईको त मुख हेर्ने पनि मन छैन।’

कनिकाले त्यो भन्दा बढी केही सुनिन। उसको हातमा समाचार परिसकेको थियो। ऊ संसद भवनबाट बाहिरिइ र स्कूटी पार्किङतिर लागी। कनिकालाई थाह थियो, त्यो मुख पनि हेर्न मन नलागेको डायलग सामाजिक सञ्जालमा भाइरल भैसकेको छ । त्यो अब हार्डन्यूज बन्न सक्दैन। त्यसमा अलिकति कलर दिएर रोचक बनायो भने रिडरसिपग्राफ बढथ्यो र त्यो न्यूज अनलाइन बबाल डटकम ओआरजी भै हाल्छ।
कनिकाले सोच्न थालेकी थिइ, उसले पनि अब राजनीतिक मानिससँग सम्बन्ध बढाउनु पर्दछ। पोलिटिकल रिपोर्टिङका लागि त्यो अत्यन्त जरुरी कुरा हो।

समाचारमा कलर दिनका लागि उसले विभिन्न पार्टीका सांसदहरुको प्रतिक्रिया लिनु आवश्यक थियो । उसले स्कूटी मोडी र फेरि संसद भवनतिर फर्किइ। स्कूटी पार्किंगमा रोकेर ऊ सांसदहरुको समूहतिर लागी। एकजना भलादमी देखिने सांसदलाई उसले सोधी, आजको हंगामा किन भएको हो? सांसदले जवाफ दियो, ‘यी सबै पार्टीहरु उस्तै छन्। मेरो पार्टी सरकारमा पनि छ। अघि मैले देखें, हाम्रा सभासदहरु सरकारका विरुद्ध नाराबाजी गर्दैछन्। मलाई त यस्तो लाग्छ, यो सरकार आफनै बुद्धिले दलदलमा फँस्दैछ। यता तराई–मधेशका सांसदहरु संविधान संशोधन विधेयककै विरोधमा छन्। सरकारले उनीहरुसँग वार्ता नै नगरी संविधान संशोधनकोे तयारी गरेर केटाकेटीपना देखाएको छ। प्रधानमन्त्रीले आफूलाई अचानो बनाएको फील गर्नुपरेको छ। अर्कोतिर, डाक्टर साहबको अनसनको २० औँ दिनसम्म पनि कुरा मिल्न सकेको छैन। कुरा कसरी मिलोस्? सरकारका मन्त्रीकोे ध्यान कुरा मिलाउनुमा भन्दा नियुक्ति गर्नैमा बढी छ। यो फक्रिँदो, फुल्दो, जल्दो, बल्दो स्वास्थ्य व्यवसायलाई चुनौति दिने कुरा पनि पर्‍यो। कतिपय सभासदहरुको यो व्यवसायमा लगानी छ । त्यसको सुरक्षा गर्नै पर्‍यो ।’

कनिकालाई रमाइलो लाग्यो सांसदको प्रतिक्रिया। कुरा सकिएपछि उसले धन्यवाद भनी। सांसदले हात मिलाउन खोज्यो। कनिकाले हात मिलाई। ‘ओहो तपाईंको हात त कति चीसो र कति नरम हो। यस्तो नरम हात चिसिएपछि त तताउनु पो पर्छ।’

सांसदको यो सेक्सिस्ट रिमार्कले कनिकाको कन्पारा तात्यो। तर, उसले कुनै प्रतिक्रिया दिइन। ऊ हतारमा थिइ। बाई भनेर स्कूटी स्ट्याण्डतिर लागी। त्यो पार्किङमा अर्को बबाल भै रहेको थियो। संविधान संशोधनको कुराले केही सांसदहरु कडा ढंगले प्रतिक्रियात्मक भै रहेका थिए।

संशोधनको मुद्दा ल्याएर सरकारले डाक्टरको र महाभियोगको मुद्दालाई ओझेलमा पारेको आरोप थियो उनीहरुको। कनिकाले सोची, केही पनि ठीक छैन। कतै पनि ठीक छैन। उसको हात त्यो सांसदले भने झैं साँच्चै नै चीसो थियो।

ऊ स्कूटी चढी। अफिस पुगी। कम्प्युटरको की–बोर्डमा औंला चलाउनु अघि आफना दुवै हातलाई एक अर्कासँग माडन थाली। ऊ सोच्दै थिइ, कान्तिपुरमा जति जति जाडो बढ्दैछ राजनीति त्यति त्यति गर्माउँदैछ। हेरौं परिणाम के हुन्छ।

सम्बन्धित लिङ्क
यसअघिका २९ गाथाको संग्रह एकै ठाउँमा, डाउनलोड गर्नुस् इबुक

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell