काठमाडौं : फिल्म 'छक्कापन्जा'का निर्माता दीपकराज गिरीलाई फिल्म प्रदर्शनअघि कति रात त निद्रै परेन। उनलाई रातभर फिल्म चल्ने-नचल्ने पिरलो हुन्थ्यो।
फिल्म सार्वजनिक भयो। एक हप्ता लगातार हाउसफुल। दोस्रो हप्ता पनि हरेक दिन फिल्मले हाउसफुल सहित शो सफल गरेको खबर आउन थालेपछि उनलाई फेरि समस्या आइलाग्यो- रातभर निद्रा पर्न छोड्यो।
'मनमा उत्साह सहितको डर रह्यो। हरेक बिहान आज फिल्मले कस्तो गर्ला भन्ने,' फिल्म चल्नुको खुसी यसरी सुनाउँछन्, दीपक।
फिल्ममा पैसा लगानी गर्ने निर्माताको हिसाबले मात्र होइन, कला लगानी गर्ने कलाकार पनि भएको नाताले फिल्म सफल हुनुमा निकै उत्साही छन्। जुन मेहनत र आशाले काम गरेका थिए उनले, त्यसले अपेक्षाभन्दा बढी सफलता हात पार्दाको खुसीलाई शब्दमा व्यक्त गर्नै सक्दैनन्।
रेकर्ड तर निर्माता असन्तुष्ट
दर्शक र मिडियाको माया, साथ र प्रोत्साहनको पटकपटक तारिफ गर्ने दीपक व्यावसायिक पक्षमा सन्तुष्ट छन् त?नेपाली फिल्म इन्डस्ट्रीमा अहिलेसम्मै बढी कमाएको (१६ करोड ग्रस) फिल्मको रेकर्ड बनाएको छ छक्कापन्जाले। यो रेकर्डको खबरले फिल्म युनिट मात्र होइन आमदर्शक पनि उत्साहित छन्। तर बाहिरबाट जे देखिन्छ त्यतिले नै सबै कुरा नबोल्ने बताउँछन् दीपक।
'ग्रस १६ करोड तर निर्माताको हातमा ४ करोड ३० लाख मात्र,' केही आक्रोशित रुपमा उनी प्रस्तुत भए, 'धेरै कमायो भन्दैमा अति प्रचार गर्नुको कुनै तुक छ त?'
फिल्मले पहिलो हप्ता उठाएको रकम फिल्म युनिट र हलबीच ५०-५० प्रतिशत वितरण गर्ने नियम छ। दोस्रो हप्तामा लाग्दा ग्रस कमाइको ४० प्रतिशत युनिटलाई र तेस्रो हप्ताबाट उठेको रकमको ३० प्रतिशत मात्र फिल्म युनिटको भागमा पर्छ। दीपकका अनुसार यो नियम व्यावसायिक हिसाबले बेठिक छ। उनी त फिल्मले कमाएको कम्तीमा ५० प्रतिशत पूरै निर्माताले पाउनुपर्ने तर्क राख्छन्।
'दर्शक हाम्रो फिल्म हेर्न आउने हुन् वा हल हेर्न? फिल्मका लागि आउने हुन् भने किन हरेक हप्ता उठेको पैसाबाट १० प्रतिशत कमाइ घटेर हाम्रो पोल्टामा पर्ने?' उनी प्रश्न गर्छन्।
अपेक्षा थियो के, भयो के?
फिल्म निर्माण प्रक्रिया सुरु गर्दादेखि पोस्ट प्रोडक्शनको काम सकिँदासम्म दीपकमा एक किसिमको डर थियो- फिल्मले के गर्ला?पहिलो हप्ता नै हाउसफुल सहित शो गएपछि उनी ढुक्क भए, फिल्मले पुरानो फिल्म 'वडा नं ६'को जति पैसा र दर्शक त कमाउँछ। सो फिल्मले ग्रस ५ करोडको व्यवसाय गरेको थियो।
छक्कापन्जाले दीपक र पुरै युनिटको अपेक्षा हासिल मात्र गरेन, फिल्मले १६ करोड ग्रस व्यवसाय नै गर्यो ।
१६ करोडभन्दा बढी व्यवसाय सहित फिल्म १६ औं हप्तामा चल्दै छ। बिग सिनेमाज, गुण सिनेमा, गंगा र गोपीकृष्ण मुभिजमा अझै राम्रो अकुपेन्सी सहित फिल्म चलिरहेछ।
तब दीपक खुसी पनि छन्। फुरुङ्ग मुद्रामा उनले भने, 'मल्टिप्लेक्समा एक सय दिन कटाउने पहिलो मुभी हो।'
धागो मिलेर बनेको डोरी
सानो पर्दामा रहँदा जिरे खुर्सानी, तितो सत्य र मेरी बास्सै तीन टेलिशृंङ्खला थिए। यी तीन टेलिसिरियलबीच एकापसमा दर्शक हँसाउने प्रतिस्पर्धा चल्थ्यो। निर्देशकीय, लेखन, प्रस्तुतिदेखि हरेक विधामा तीन युनिट जुध्नुपर्थ्यो। तर त्यो जुधाइ स्वस्थ साबित भयो। जसका कारण 'छ एकान छ', 'वडा नं ६' हुँदै 'छक्कापन्जा'सम्म आइपुग्दा तीन प्रतिस्पर्धी एक परिवार बने। 'मभित्र त्यो शक्तिचाहिँ रहेछ, सबैलाई एक बनाउन सक्ने,' दीपक गर्वसाथ सुनाउँछन्।
त्यसो त सुरुमा निकै गाह्रो अनुभव छ उनीसँग। केदार घिमिरे (माग्ने बुढा) ले भनेको सम्झन्छन् : 'ह्या दीपकजी, के नहुने काम आँट्न खोज्नुभएको। यतिकै ठिक छ त।'
तर, आँटेको काम पूरा नै गर्ने पक्षमा थिए दीपक। अठोट पूरा गर्नु थियो, माग्ने बुढा मात्र होइन धुर्मुस, सुन्तली, शिवहरि पौडेल, जितु नेपाल लगायत सबैलाई मनाइछाडे। 'परिवार भयौं, र त सबै काम सहज तरिकाले पूर्ण भयो। आज हास्य कलाकारको एउटा परिवार सफल भएको छ,' उनी बलियो युनिटको प्रशंसा गर्छन्।
दीपकको लागि टेलिसिरियल बनाउँदाको फरक युनिट बलियो फरकफरक धागो थिए। ती तीन धागो थिए र अहिले बलियो डोरी बनेको छ।
टेक्निसियनदेखि सबै शेयरहोल्डर
छक्कापन्जाको व्यावसायिक सफलताले निर्माता मात्र होइन पूरै टोली खुसी छन्। किनकि सबैको भागमा कमाइको शेयर पर्नेवाला छ। दीपकका अनुसार टेक्निसियनदेखि कलाकारसम्म प्राय: शेयरहोल्डर छन्। 'रोल सानोतिनो भएर चित्त नबुझाएकालाई पनि पैसाको कुरामा चित्त बुझ्ने बनाएको छु,' उनले ठट्टा गरे। दीपक यस मानेमा पनि निकै खुसी छन् कि फिल्मले लगानी मात्र उठाएन, दर्शक कमायो र त्योभन्दा बढी आगामी दिनकै लागि हरेक कलाकारलाई प्रोत्सहान दिलायो।
सानो पर्दाभन्दा भिन्न
सानो पर्दाबाटै हास्य कलाकारिताको यात्रा सुरु गरेका दीपकका लागि ठूलो पर्दा फरक ठाउँ थियो। माध्यम फरक भए पनि उनको लागि आफ्नो धर्म थियो- दर्शकलाई मनोरञ्जन दिनु। त्यसैले लागिपरे फिल्म क्षेत्रमा हाँस्य कलाकारको छुट्टै स्थान बनाउन। 'धेरै फरक हुँदो रहेछ फिल्म र टेलिफिल्मको काममा,' उनले अनुभव साटे।
टेलिसिरियलमा एउटा हप्ताको लागि पोस्टप्रोडक्शनको काम सकिनासाथ अर्को हप्ताका लागि विषयदेखि कथा पटकथाको काममा लाग्नुपर्थ्यो। फिल्ममा त छ महिना काम गर्योे, छ महिना रिल्याक्स।
हप्ताभरको भागदौड भए पनि ती दर्शक आफूले सिरियलबाट कमाए हुन् भन्नेमा उनी विश्वस्त छन्। छक्कापन्जा प्रदर्शनमा आएको तीन दिन कम्तीमा सिरियलकै दर्शकको मायाले हलहरु भरिएको उनले बताए।
टेलिसिरियल बन्द गरेर फिल्ममा लाग्नु रिस्क मोलेर काम गर्नुसँग दाँज्दै उनी भन्छन्, 'लगानी हेर्ने हो भने पैसा, प्रेसर र प्यासन सबै फिल्ममा नै बढी गर्नुपर्यो,।'
'क्यासिनो खेलेजस्तो'
छक्कापन्जाको सफलतालाई जब दर्शकहरुले धुर्मुस-सुन्तलीको समाजसेवासँग जोडे, दीपक भयंकर रिसाए। फिल्मले हरेक हप्ता सफलताको नयाँनयाँ रेकर्ड राखेपछि भने दीपक-दीपाले सेवाका लागि पनि जुट्ने घोषणा गरे। सुटिङ गरेको पाँच गाउँलाई पायक पर्नेगरी एम्बुलेन्स दान गर्ने र शिक्षा क्षेत्रमामा पनि फिल्मले कमाएको १० प्रतिशत सेवा गर्ने उनीहरुको सार्वजनिक घोषणा थियो। 'नभई नभई सेवा गर्न अनिवार्य कसैलाई छैन,' दिपक भन्छन्, 'आफूसँग जति भए पनि पुग्दैन। अलिकति आवश्यक परेकालाई दिन सके राहत मिल्छ।'
फिल्म क्षेत्रलाई क्यासिनोसँग तुलना गर्छन् उनी। 'फिल्ममा लगानी गर्दा ९० प्रतिशत हार्ने र १० प्रतिशत मात्र जित्ने सम्भावना हुन्छ,' निकै उत्साही भएर उनले सुनाए, 'म भाग्यमानी छु, मानिलिऊँ क्यासिनोमा १० प्रतिशत जित्नेमा म परेँ।'
नाम, चकाचक दुनियाँ, इन्टरभ्यु, चर्चाको लोभमा परेर यो क्षेत्रमा लाग्ने धेरै देखेका छन् उनले। जो गरेको लगानी पनि उठाउन असमर्थ हुन्छन्। यही नामको पछि लाग्नेको भिडले फिल्म क्षेत्रलाई खस्किँदो बनाएको पनि बुझेका छन् उनले। स्वस्थ प्रतिस्पर्धाभन्दा पनि एउटालाई नराम्रो देखाएर आफ्नो फिल्मको प्रचारमा लागिपर्नेको भिडसँग असन्तुष्ट छन्।
'कि त बलिउडमा जस्तै ५० करोड लगानी गर्दा मात्र फिल्म बन्नुपर्योे,' उनले कुरा टुंग्याए, 'जति पैसाले पनि फिल्म बन्ने भएपछि यो क्षेत्र सस्तोसस्तो पनि देखिएको हो।'