काठमाडौं : फिल्म निर्देशक श्याम कार्कीले भूकम्पको समय एउटा 'अवलोकनात्मक सर्ट फिल्म' 'द एक्स्पेरिएन्स' तयार गरेका थिए। मान्छेमा देखिएको त्रास, डर, समस्या, पीडालाई रफ्ली खिचेका उनलाई ती फुटेजहरु फिल्मका लागि मिलाउन गाह्रो भयो। जसोतसो उनले ती फुटेजलाई फिल्मको रुप दिए। जुन फिल्मले भूकम्प र पटकपटक परकम्प भोग्न बाध्य नेपालीको अवस्थाको कथा बोल्छ। फिल्मले राम्रो प्रतिक्रिया पायो। उनी उत्साही भए अर्को अवलोकनात्मक फिल्म बनाउन।
'विषय खोज्दै गर्दा नेपाल नाकाबन्दीको मारमा पर्यो,' कार्कीले भने।
उनले सोही अवस्थाको समस्यालाई खिच्न थाले। हरेक गल्लीमा लाइन। कतै ग्यासको, कतै पेट्रोलको, कतै नुनको त कतै मट्टितेलको। भूकम्पले निम्त्याएको अवस्था व्यवस्थित हुनुअघि नाकाबन्दीले नेपाली जनतामा निम्त्याएको नैराश्यलाई कार्कीले आफ्नो क्यामेरामा कैद गरे। क्याफे, चोक, पसल, सामान्य जमघट सबैतिर नाकाबन्दीले दिएको पीडाको चर्चा हुन्थ्यो। उनलाई फुटेजको कमी भएन। उनले करिब ५० घण्टा लामो रफ भिडियो खिचेका थिए।
फिल्ममा उठाउन खोजेको विषयअनुसार उनले फुटेजलाई काटे र ५० मिनेट लामो भिडियोलाई साढे दुई घण्टाको बनाए। उनलाई सर्ट फिल्म बनाउनु थियो। 'तर दुई घण्टा बढी लामो फुटेजहरु, जुन हेर्यो त्यही महत्वपुर्ण र आवश्यक लाग्ने। कुन राख्ने कुन फाल्ने म कन्फ्युज्ड थिएँ', उनले फिल्म बनाउनुअघिको तनावबारे सुनाए।
सन् २००० बाट आयोजना हुँदै आएको काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवलले २०१६ मा 'डक ल्याब' सम्बन्धी एउटा सूचना सार्वजनिक गरेको थियो। जसले डकुमेन्ट्री प्रोजेक्टहरुमा फिल्मका लागि विषय चयनदेखि प्रदर्शनसम्मको काममा सहयोग गर्ने बताएको थियो। फिल्म फेस्टिवल आयोजक बसन्त थापाका अनुसार डक ल्याब नाम दिइएको प्रोजेक्टको उद्देश्य फिल्म मेकिङमा चासो राख्नेसँग सहकार्य गर्नु हो।
'फिल्म, डकुमेन्ट्री बनाउन चाहेर पनि अन्यौलमा परेकालाई सहयोग गर्ने सोच बनाएर सुरु गर्न आँटेका थियौं,' थापा भन्छन्।
ल्याबबारे थाहा पाएका कार्की आफ्नो सोच, विषयवस्तु र खिचेको भिडियोहरु लिएर डकल्याब पुगे। नाकाबन्दी सम्बन्धी डकुमेन्ट्री बनाउने योजनाले पुगेका उनी फिल्ममा अटाउन खोजेको विषयलाई ठाउँ दिने निर्देशन पाए। भन्छन्, 'रफ फुटेजहरुबाट कथा निस्कियो। कथालाई कसरी क्रमैसँग प्रस्तुत गर्ने भन्नेबारे थप क्लियर भएँ।'
उनले नाकाबन्दीको अफ्ठ्यारो परिस्थितिमा पनि प्रधानमन्त्रीले गरेका ठूलाठूला गफ र आश्वासनहरुलाई आफ्नो फिल्ममा राखे। यथार्थापरक अवस्था, प्रस्तुत गर्ने हास्यास्पद शैली। आफ्नो फिल्म 'ब्लकेड' राम्रो बनेको विश्वासमा छन् उनी।
'डक ल्याबकै सहयोग र निर्देशनमा दुई घण्टा ३० मिनेट लामो फुटेजलाई ५० मिनेटमा झार्न सफल भएँ', उनी सुनाउँछन्।
डक ल्याबका लागि संयोजक रहेकी निर्देशक सपना शाक्य भन्छिन्, 'तालमेल नमिलेका फिल्महरुलाई सही निर्देशन गर्नु नै हाम्रो मुख्यो योजना थियो। यो वर्ष धेरै हदसम्म सफल पनि भयौं।'
२०१६ का लागि डक ल्याबसँगको सहकार्यमा चार फिल्म बनेका छन्। ती फिल्ममा प्राय: युवाहरु नै संलग्न छन्। शाक्य भन्छिन्, 'यसरी नै ल्याबले धेरैभन्दा धेरै युवालाई डकुमेन्ट्री मेकिङमा इङेज गराउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने अपेक्षा छ।'
पहिलो पटक फिल्म मेकिङ् कन्सलटेन्सीका रुपमा स्थापित डक ल्याबले 'सुनकली' र 'भाग्यले बाँचेकाहरु' जस्ता फिल्मका लागि पनि काम गरेको थियो।
आयोजक रम्यता लिम्बुले उद्देश्य प्रष्ट पार्दै भनिन्न्,'नेपाली डकुमेन्ट्री र सर्ट फिल्महरुलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन चाहेका हौं।'
यो वर्षदेखि औपचारिक रुपमा सुरु भएको 'डकल्याब'मा पुग्दो बजेट थिएन। तर उत्साहित हुँदै फिल्म बनाउन चाहने युवाहरुलाई निरुत्साहित बनाउने पक्षमा थिएनन् किम्फ आयोजक। त्यसैले कोरियन फिल्म फेस्टिवलको आर्थिक सहयोगमा चार फिल्मलाई गाइड गरेको बताउँछिन् सपना शाक्य।
पोस्ट प्रोडक्शन फेजमा रहेको फिल्मलाई फिल्म मेकिङको इलिमेन्ट्सभित्र बाँधेर कथा प्रस्तुत गर्न सहयोग गर्यो डक ल्याबले। र, तयार भयो श्याम कार्कीको 'ब्लकेड' जस्तै देवकी विष्टको 'इन सर्च अफ देवकी', प्रदीप पोखरेलको 'सङ अफ बारपाक' र आना महर्जन र आयुष कार्परको 'गिभ मी एक्शन'।
यी सबै फिल्महरुले गम्भीर विषय उठाएको र उत्कृष्ट बनेको रम्यता लिम्बुको दाबी छ। 'गिभ मी एक्शन' बाहेक तीन फिल्म किम्फ २०१६ मा प्रदर्शन हुँदैछन्।
डकल्याबले आगामी दिनमा पनि डकुमेन्ट्री निर्माण, निर्देशन गर्न चाहनेसँग सहकार्य गर्ने र नेपालमा बन्ने फिल्मलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन योग्य बनाउने प्रयास गरिरहने बताउँछन् किम्फ आयोजक बसन्त थापा।