PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कमाइ १६ करोड, हातमा मात्र ४ करोड : 'छक्कापञ्जा' गरी कहाँ, कसरी जान्छ १२ करोड रकम?



स्वेच्छा राउत

कमाइ १६ करोड, हातमा मात्र ४ करोड : 'छक्कापञ्जा' गरी कहाँ, कसरी जान्छ १२ करोड रकम?

काठमाडौं : फिल्मले ५१ औं दिन मनाएपछि 'छक्कापञ्जा' टोलीले ब्याण्डबाजासहित नगर परिक्रमा गर्‍यो। नेपाली फिल्म इन्डस्ट्रीको हकमा सो फिल्मले ब्लकबस्टर नै गर्‍यो। रेकर्डै रेकर्ड बनाएको फिल्मले नेपाली फिल्म इन्डस्ट्रीमा अहिलेसम्मै बढी कमाएको (१६ करोड ग्रस) फिल्मको रेकर्ड पनि राख्यो। यो रेकर्डले आम दर्शक पनि उत्साहित मात्र होइन छक्क पनि परेका छन्। तर १६ करोड कमाइमा छक्कापञ्जा भएको महसूस निर्माता दीपकराज गिरी गर्छन्।

ग्रस १६ करोड कमाएको तर निर्माताको हातमा ४ करोड ३० लाख मात्र परेको उनको दाबी छ। फिल्मले दर्शकलाई हँसाउनु हसाँउछ। तर कमाईबाट उनी सन्तुष्ट भएर हाँस्न सकेका छैनन्। भन्छन्,'खुसी हुनु र सन्तुष्ट हुनुमा धेरै फरक छ।'  केही आक्रोशित हुँदै उनले भने,'धेरै कमायो भन्दैमा अति प्रचार गर्नुको कुनै तुक छ त? फिल्म प्रतिक्रियात्मक हिसाबले सफल हुनुको छुट्टै महत्व छ।'

नेपालमा मल्टिप्लेक्स हलहरुमा फिल्मले पहिलो हप्ता उठाएको रकम फिल्म युनिट र हलबीच ५०-५०% वितरण गर्ने नियम छ। तर जब दोस्रो हप्ता लाग्छ, ग्रस कमाईको हात लाग्ने प्रतिशत कम हुँदै जान्छ। दोस्रो हप्ता लाग्ने बित्तिकै ४२% ग्रस कमाई मात्र युनिटले पाउँछ भने तेस्रो हप्ताबाट उठेको रकमको ३७% मात्र फिल्म युनिटको भागमा पर्छ।

दीपकका अनुसार यो नियम व्यवसायिक हिसाबले बेठीक छ। फिल्मले कमाएको कम्तिमा ५०% पूरै निर्माताले पाउनु पर्ने बताउँछन् उनी। सिंगल थियटरमा भने फिल्म सुरु भएदेखि हलबाट उत्रँदासम्म उठेको रकममा निर्माता र हलबीच ५०% मा भाग लगाउने भनिएको छ।

मल्टिप्लेक्समा लागू गरिएको नियमबारे उनी भन्छन्, 'दर्शक हाम्रो फिल्म हेर्न आउने हुन् कि हल हेर्न? हाम्रो फिल्मको लागि आउने हुन् पक्कै। त्यसो हो भने किन हरेक हप्ता उठेको पैसाबाट १०% कमाई घटेर हाम्रो पोल्टामा पर्ने?' 

तर काठमाडौँमा सबैभन्दा धेरै र काठमाडौँ बाहिर पनि चेन खोलेको क्युएफएक्स हलका प्रोपाइटरमध्ये एक भाष्कर ढुङ्गानाको तर्क बेग्लै छ। भन्छन्,'फिल्म बनाउने र देखाउने हकमा लगानी हेर्ने हो भने हल व्यवसायीले बढी गरेका हुन्छन्। र घाटा पनि उनीहरुले नै बढी व्यहोर्नु पर्छ।'

उनलाई लाग्छ मल्टिप्लेक्स र निर्माता बीच व्यवसायिक वितरणमा लागू गरिएको नियम ठीक छ। हलिउड र बलिउडको फिल्म इन्डस्ट्रीमा पनि सोही नियम लागू हुने बताउँदै भने,'एक दुईवटा फिल्मले अत्याधिक कमाउँदैमा नियम परिवर्तन गर्नै पर्छ भन्ने हुँदैन।सबैतिरको नियम हो, ठीक छ।'

ढुङ्गानाका अनुसार ९०% फिल्महरुले लगानी पनि उठाउँदैनन्। त्यस मानेमा यो होइन कि सफल हुने १०% फिल्मले अधिकार र हक लाग्ने रकम पनि पाएका छैनन्। आफ्नो तर्क यसरी राख्छन् ढुङ्गाना,'समय र पैसाको लगानी हलले बढी गरेको हुन्छ। फिल्मले वर्षमा ८० लाख लगानी गर्ला हलले तीनदेखि पाँच करोडसम्म गर्छ। फिल्म नचले त जोखिम हललाई बढी छ।'
 
उनी आफैले बनाएको फिल्म 'सुन्तली'मा पनि उनले करिब एक करोड लगानी गरेका थिए। उठाए ६/७ लाख। भन्छन्,'फिल्मले नै कम कमाएको हो। रेसियोको आधारमा जति मेरो भागमा पर्‍यो, त्यति मैले स्वीकार्नु पर्छ।' 

पैसा कति कमाउँछ मार्केटले निर्धारण गर्छ तर भागमा कति पर्छ निर्धारित वितरण रेसियोको आधारमा भरपर्छ। बरु ग्रस कति उठेको छ भन्ने जानकारीको लागि बक्सअफिसको आवश्यकता रहेको बताउँछन् चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई।

'छक्कापञ्जा'ले काठमाडौंभित्र र बाहिर गरी ग्रस १६ करोडको व्यापार गरेको बताउँछन् वितरक गोपाल कायस्थ। र नियम अनुसार नै पाउन पर्ने रकम निर्माताको हात लाग्ने उनको भनाई छ। गोपालले भने,'सफल असफल सबै फिल्मका लागि वितरण नियम एउटै हो। कुनै फिल्मले कमाउँदैन वा लगानी उठाउन सक्दैन भने त्यो छुट्टै कुरा हो।'
 
२०७२ दशैं छेको पारेर प्रदर्शनमा आएको फिल्म 'परदेशी'ले पनि अत्याधिक कमाएको खबर आयो। समिक्षात्मक रुपमा गाली खाए पनि व्यवसायिक सफलताको चर्चाले प्रशान्त तामाङ अभिनित फिल्मलाई एक लेभलको मिडिया हाइप दियो। ७० लाखमा बनेको फिल्मले ३ करोड कमाएको खबर छायो। तर निर्माता राजेश वंसल व्यङ्ग्यात्मक तरिकाले हाँसे र भने,'पूरै पैसा अझै उठेको छैन। नेट हिसाब कसरी दिउँ?'

फिल्म परदेशीका लागि फिल्म वितरण जिम्मा लिएको सुनील मानन्धरले फिल्म परदेशीको हिसाब साँच्चै क्लियर नभएको स्वीकारे। भने,'हलहरुबाटै उठ्न पनि समय लाग्छ।' 

वितरकको रुपमा भोग्नु परेको तीतो अनुभव सुनाउँदै भन्छन्,'कति निर्माता त एड्भान्स लिएर भाग्छन्। फिल्मले हल्ला गरेजति कमाउँदैन र हामी वितरक मारमा पर्छौं।'

प्रचारका लागि बाहेक केही फाइदा हुने सन्तुष्टि दिन सक्ने भएको छैन नेपाली फिल्म व्यवसाय। यो वंसलको तर्क हो। फिल्म गोर्खापल्टन पछि सात वर्षको ग्याप राखेर उनले परदेशी निर्माण गरे। मार्केट बढे पनि फाइदा वितरण रेसियो उस्तै रहेको उनको अनुभव छ। भने,'वितरण हल व्यवसायी पक्षीय छ।'
 
उनले फिल्म क्षेत्रलाई व्यक्तिगत प्रचारको सस्तो माध्यम बनाएको महसुस गरेका छन् जसको असर सिधै फिल्म व्यवसायमा परेको छ। प्रचारकै लागि फिल्मले नकमाएको रकम कमाएको दाबी गर्नेहरु धेरै भए जसका कारण फिल्ममा लगानी गरे मालामाल हुने लोभमा निर्माता आउने, डुब्ने, हराउने ट्रेन्ड बढेको छ। भने,'अरु व्यवसायमा जति कमाए पनि व्यापार नै छैन भन्नेहरु धेरै हुन्छन् तर फिल्म व्यवसायमा सुन्ना व्यापरमा पनि धेरै सुन्ना थपेर भन्ने धेरै छन्।' 

व्यवसायिक रुपमा सर्वाधिक कमाएको रेकर्ड राखेको थियो फिल्म 'कोहिनुर'ले। पहिलो पटक ६ करोडको व्यवसाय भनेर हंगामा मच्चायो। सुनील मानन्धरले दिएको जानकारी अनुसार १ करोड १८ लाख काठमाडौं भित्रबाट युनिटको भागमा पर्‍यो। भन्छन्,'दुई दिन पिक अप नलिएको फिल्मको व्यापार नै थिएन। आश नै नभएको फिल्मको काठमाडौंबाट मात्र त्यति रकम उठ्नु ठूलो कुरा थियो।' ६ करोड ग्रस कमाएकोमा निर्माताले काठमाडौं बाहिरबाट भने १ करोड ८३ लाख उठाएको थियो।

सर्वाधिक कमाएकै कारण चर्चामा रह्यो अर्को फिल्म ड्रिम्स। अनमोल क्रेजका कारण फिल्मलाई युवापुस्ताले धेरै रुचाए। फिल्मले ७ करोड माथिको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका थिए।
 
मल्टिप्लेक्स र सिंगल थियटर दुवै गरी ७० हलमा प्रदर्शन भएको फिल्म तेस्रो हप्तासम्म चल्दा पनि ६४ पर्दामा चल्यो। निर्माताको हातमा पुग्दासम्म दुई करोड नेट जम्मा भयो। दिइएको जानकारी अनुसार फिल्म युनिटलाई काठमाडौं भित्रबाट एक करोड पाँच लाख र मोफसलका हलहरुबाट ८८ लाख भागमा परेको हो।

सर्वाधिक व्यापार गरेका फिल्महरु छक्कापञ्जा, कोहिनुर, ड्रिम्स, परदेशी सबैले रेसियो अनुसार आ- आफ्नो हिसाब पाएका हुन्। तर पछिल्लो समय छक्कापञ्जा निर्माता दीपकराज गिरी भने सो रेसियो 'साइन्टिफिक' नभएको गुनासो पोख्छन्।
 
उसो त समिक्षात्मक एवं व्यवसायिक पक्षमा सफल मानिएको फिल्म 'लुट'ले पनि ग्रस व्यापार राम्रो गर्‍यो। नेट हिसाब आएपछि छक्क परेको बताउँछन् निश्चल बस्नेत। एक निर्माता संघको एक कार्यक्रममा बोल्दै उनले जानकारी दिएका थिए।

'क्युएफएक्समा उठेको दुई करोड ६० लाख तर निर्माण पक्षले पाएको ५५ लाख मात्र', भने 'अरु पैसा खोई?' निश्चलका अनुसार फिल्मको कलेक्सन बारे समाचार बनाउँदा ग्रस होइन नेट कलेक्सनको हिसाब हुनु पर्छ। भन्छन्,'प्रदर्शकहरुले पनि फिल्म मेकरले जस्तै रिस्क लिन सक्नु पर्यो या त बार्गेनिङमा दुबै पक्षलाई घाटा नहुनेगरी अघि बढ्नु पर्यो।'
 
ग्रस कलेक्सन विभाजनको आधार के हुन सक्छ? जसले निर्माता र प्रदर्शकहरु दुबैलाई सन्तुष्ट पार्न सक्छ? बक्स अफिसले यो समस्याको समाधान गर्न सक्छ वा बार्गेनिङ, सहमतिमानै व्यवसायीहरु अघि बढ्न सक्छन्?

गोपीकृष्ण हलमा संलग्न हल व्यवसायी प्रदीप दाहाल भन्छन्,'अहिले जुन रेसियोमा हामी र निर्माता बीच ग्रस कलेक्सन विभाजन हुन्छ त्यो सबैको सहमतिमा बनेको नियम हो। पालना नगरेर सुख छैन।'
 
'केही अनियमितता छ, त्यसको समाधान बक्स अफिस मात्र चाहिँ होइन भन्ने उनको तर्क छ। भन्छन्,'बक्स अफिसको लागि लामो होमवर्क चाहिन्छ। छोटो समयको कामले पुग्दैन त्यसैले निर्माता र व्यवसायी आरोप प्रत्यारोप भन्दा पनि सल्लाहमा अगाडि बढेको राम्रो हुन्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell