काठमाडौं : विमल घर्ती मगरले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध गरेको गोल होस् या भरत खवासले जोर्डन विरुद्ध वर्ल्ड कप क्वालिफायरमा गरेको गोल दर्शकले दशरथ रंगशाला सम्मै पुगेर नेपाली राष्ट्रिय फुटबल टीमलाई सँधै समर्थन गर्दै आएको छ। घरेलु मैदानमा नेपालको खेल हेर्दा दर्शकलाई छुट्टै किसिमको उत्साह जाग्छ। तर यस्तै खाले समर्थन गर्दै रंगशालमा फेरी फुटबल खेल हेर्न भने नेपाली दर्शकले अझै २ वर्ष भन्दा बढी समय कुर्नुपर्नेछ।
नेपालकै एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पुर्नर्निमाणको काम मन्द गतीमा भइरहेको छ। नेपाली दर्शकहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल म्याच हेर्ने एक मात्र रंगशालामा अब कहिले फुटबल हेर्न पाउने हो भनेर दर्शकहरु कुरेर बसेका छन्।
तर दर्शकको त्यो अपेक्षा चाँडो पुरा हुने सम्भावना भने छैन। रंगशालाको सबै काम सम्पन्न हुन अझै दुई वर्ष लाग्नेछ।
रंगशाला पूर्नर्निमाणअन्तर्गत योजना तथा निर्माण महाशाखाका प्रमुख अरुण उपाध्यायाले सबै काम पुरा हुन दुई वर्ष लाग्ने पहिलोपोस्टलाई बताए।
अहिले रंगशालामा छानो राख्नको लागि पहिलो चरणको काम भइरहेको छ।
६ महिलाभित्र छानो राख्ने सबै काम सक्ने गरी ४ महिना अघि सुरु गरेको उक्त काम सक्न अझै ६ महिला लाग्नेछ,
छाना राख्नेबाहेक, साधारण प्याराफिटतर्फ सिट राख्ने र रंगशालमा सिन्थेटिक ट्रयाक राख्ने काम बाँकी हुनेछ।
यी सबै काम सम्पन्न गर्नको लागि अझै दुई वर्ष लाग्नेछ। तर रंगशाला पुनर्निर्माणको काम यही अवस्थालाई निरन्तरता दिने वा रंगशाला पुरै भत्काएर पुन: बनाउने भन्ने निर्णयका लागि राखेपले अध्ययन गर्न दुई कम्पनीलाई निर्देशन दिएको छ। उनीहरुको प्रतिवेदनपछि मात्र निर्णय हुने उपाध्यायले बताए।
किन ढिलाई भइरहेको छ निर्माण कार्य ?
देशको एकमात्र अन्तर्राष्ट्रिय खेलकुद अयोजना गर्ने रंगशाला जिर्ण बनेपछि सुरुमा राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशाला पूनर्निर्माण गर्न किरातेश्वर, याक्थुङहाङ र जेभी कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो।
सम्झौता अनुसार उनीहरुले विस २०७१ साल वैशाखबाट पूनर्निमाण काम सुरु गरेका थिए।
पूनर्निमाण कार्य सुरु गरेसँगै २०७२ साल असार अन्त्यसम्मा रंगशालाको सबै काम गरिसक्ने बताइएको थियो। तर २०७१ साल मंसिरताका रोडा, बालुवा तथा गिटी व्यावसयीको आन्दोलनका कारण निर्माण सामाग्री समयमा उपलब्ध गराउन नसक्दा ढिलाई भएको र थप एक वर्ष लाग्ने राखेप अन्तर्गत भौतिक निर्माण विभागले बताएका थियो।
त्यतिबेला पुराना पिलरलाई मजवुत बनाउन रेट्रोफिटिङ गर्ने काम भएको थियो। साथै सिट राख्ने काम पनि सुरु गरिएको थियो र रंगशालाको करिब दुई तिहाई भागमा सिट पनि राखिएको थियो। तर रंगशालामा छाना राख्न ठुला क्रेनहरु ल्याउनुपर्ने र सिट बिग्रने हुँदा पुनः त्यो सिटलाई झिकिएको छ।
रंगशला पूनर्निर्माण कार्य चल्दै गर्दा २०७२ साल वैशाल १२ गते विनाशकारी भुकम्प आएपछि रंगशालामा भइरहेको काम रोकियो। त्यसले निर्माण अवधी पनि लम्बायो।
सुरुमा १५ महिलामा सक्ने भनेर भनिएपनि भूकम्प गएको समेत २० महिना नाधिसक्यो। यसरी हेर्दा रंगशाला पूनर्निमाण कार्य सुरु भएको ३२ महिना बितिसकेको छ। तर रंगशालमा हेर्नलायक रुपमा काम भएको केही देखिँदैन। यतिसम्म की दुई महिला अगाडी फुटबल खेल्ने रंगशाला पूर्ण रुपमा झाडीमय बनेको थियो। दर्शक बस्ने सिट वरपर घाँस नै घाँस नै थियो।
पहिलोपोस्टले गत सेप्टेम्वर ९ मा रंगशाला झाडीले पुरिन लागेको समाचार प्रकाशित गरेपछि खेलकुद मन्त्री दलजित श्रीपाली लगायतले कुचो लगाएर रंगशालाको झाडी सफा गरेका थिए।
मन्त्रालय, राखेप र सरोकारवाला खेलकुद निकायले त्यसलाई देखाउने दाँतको रुपमा प्रयोग गरेपनि रंगशाल पुनर्निर्माणको गुदी काम भने उनीहरुले गर्न सकेका छैनन्।
भूकम्पपछि साधाराण प्याराफिटतर्फ संरचना पनि धेरै भत्केको बिग्रेको अवस्थामा छ। राखेपले त्यसलाई नै टालटुल पारेर पूनर्निमाण गरिहेको छ। त्यसले कती दिनसम्म टिक्ने हो थाहा छैन। आखिर घरको जग नै बलियो नभएपछि अरु संरचना कसरी दिगो हुन्छ?