PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्डकहाँ लालुपाते ननुघेपछि कमल थापाको आँगनमा रेखा



स्वेच्छा राउत

प्रचण्डकहाँ लालुपाते ननुघेपछि कमल थापाको आँगनमा रेखा

काठमाडौं : नायिका रेखा थापाले विगत चार वर्षदेखि देशको राजनीतिक पार्टीहरुको क्रियाकलाप अध्ययन गरेर आफू राजनीतिमा लागेको बताइन्। उनले आफ्नो विचार र व्यवहारसँग मिल्दो राष्ट्रिय प्रजातन्त्र पार्टी भएको बताउँदै आफू जीवनभर सोही पार्टीमा लागेर देश र जनताको हितका लागि काम गर्ने जानकारी दिइन्।
 
काठमाडौं इन्द्रेणी फुडल्यान्डमा सम्पन्न पार्टी प्रवेश घोषणा कार्यक्रममा उनले भनिन्,'राप्रपा नै मेरो रगतमा बग्ने हिन्दुत्वको सम्मान गर्ने पार्टी हो।'
 
यस अघि नेकपा माओवादीको 'राजनीतिक टिका' थाप्दै गणतान्त्रिक एजेन्डामा सहमत भएकी उनले कमल थापाको हातबाट टीका, माला र सदस्यता पत्र ग्रहण गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीमा औपचारिक रुपमा सदस्यता लिएकी हुन्। कार्यक्रममा भनिन्, 'म कसैले बोलाएर पार्टीमा आएकी होइन। राप्रपा नै मेरो घर रहेछ।'


दोस्रो संविधान सभाको चुनाव अघि एमाओवादी पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डबाट टीका लगाएर पार्टी प्रवेश गर्दै रेखा थापा। फोटो र भिडियो साभार : नेपालन्युज


उनले आफू नेकपा माओवादीको कार्यक्रमहरुमा संलग्न भएपनि पार्टीको सदस्य नरहेको पनि स्पष्ट पारिन्। भनिन्, 'राप्रपा नै मेरो पहिलो र अन्तिम राजनीतिक पार्टी हो।'

उनले आफू सधैं हिन्दु धर्मको पक्षधर रहेको र राप्रपाले आफ्नो सोच, विचारलाई सम्बोधन गर्न सक्ने विश्वास रहेको उनको तर्क छ। आफ्ना फिल्महरुमा आफू दुर्गा, काली जस्ता देवीहरुको रुपमा देखिनुको मुख्य कारण पनि बलियो हिन्दु नारी हुनुको संकेत रहेको बताइन्।

भनिन्, 'हिन्दुत्वसँग जोडिएको मेरो सो भावनालाई एक मात्र पार्टी राप्रपाले बुझ्छ।' कार्यक्रममा उनले पटक पटक आफूले गर्दै आएका हिन्दु क्रियाकलाप र सामाजिक कार्यहरुको प्रसङ्ग उठाइन्। भनिन्, 'मसधैं आम जनताको हितको बारेमा सोच्ने मान्छे हुँ। ती जनताले पहिले नायिकाका रुपमा मात्र चिन्थे अब राजनीतिक नायिकाको रुपमा पनि चिन्नेछन्।'

केही समयअघि सम्म आफूलाई प्रचण्डको फ्यान बताउने उनले पहिलोपोस्टसँगको कुराकानीमा केपी ओलीको उखानटुक्काको पनि फ्यान हुँ भनेकी थिइन्।

आज राप्रपा प्रवेशसँगै उनले बोलिन्, 'फिल्मी भाषामा भन्नु पर्दा म राजनीति बुझे देखि नै कमल थापाको ठूलो फ्यान हुँ।' रेखाको यो राजनीतिक 'फ्यान' कहिलेसम्म फनफनी घुमीरहन्छ? यो त समयले नै बताउँला।

रेखा भने यसो भन्छिन्, 'म नमरुन्जेल राप्रपा मेरो पार्टी हो र म देशसँगै राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु।' रेखासँगै उनकी आमा सरस्वती थापाले पनि पार्टी सदस्यता लिएकी छिन्।

सात वर्षअघि माओवादीको सडक आन्दोलनमा प्रचण्डलाई नचाउँदै रेखा थापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell