PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

एकै खेलमा तीन पेनाल्टी रोकेकी कान्छी गोलरक्षक अन्जना, जो किरण चेम्जोङजस्तै खेल्न चाहन्छिन्



गोविन्दराज नेपाल

एकै खेलमा तीन पेनाल्टी रोकेकी कान्छी गोलरक्षक अन्जना, जो किरण चेम्जोङजस्तै खेल्न चाहन्छिन्

काठमाडौं : केही दिनअघि मात्र चौथो साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोलीको घोषणा भयो। टोलीमा विभागीय टीमका खेलाडीको वर्चस्व रहँदा एक जना मात्र विभाग बाहिरकी परिन्। उनी हुन्, नेपाली टोलीकै सबैभन्दा कान्छी खेलाडी अन्जना रानामगर। जसको उमेर १५ वर्ष मात्र छ। पाँच वर्षयता उनी गोलरक्षककै भूमिकामा छिन्।
 
नेपाली खेलकुदमा विभागीय टीमहरु आर्मी, पुलिस र एपिएफ सबै खेलकुदमा हाबी छन्। राष्ट्रिय खेलाडीमा पनि विभागकै खेलाडीको दबदबा छ। सामूहिक खेलमा पनि उनीहरु निकै अगाडि छन्। ११ वर्षको हुँदादेखि नै फुटबल खेल्न थालेकी अन्जना टोलीमा अट्नुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ।

यो चार वर्षको अन्तरमा उनलाई फुटबल आफ्नो प्रिय लाग्न थालिसकेको छ। 'फुटबल सुरु गरिसकेँ, फुटबल खेलेरै केही गर्ने सोच छ,' उनले पहिलोपोस्टसँग भनिन्।
 
अन्जना रौतहटकी हुन्। विभागपछि महिला फुटबलको लागि उर्वर भूमि मानिन्छ रौतहटलाई। त्यहीँको जनज्योति माविमा १० कक्षामा अध्ययनरत उनी फुटबलमा भने सानै उमेरमै अब्बल बनिसकिन्।
 
एक महिनाअघि राजधानीमा भएको चौथो प्रधानसेनापति कप महिला फुटलबमा उनकै जबरजस्त प्रदर्शनमा मध्यमाञ्चल विकास क्षेत्र पहिलो पटक महिला प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो। टाइब्रेकरमा उनले त्रिभुवन आर्मी क्लबका तीन खेलाडीको प्रहार रोकिन्। फाइनलमा पनि उनले उत्कृष्ट प्रदर्शन गरिन् तर मध्यमाञ्चल अर्को विभागीय क्लब एपिएफसँग पराजित हुँदै उपविजेता बन्यो।
 
टीम च्याम्पियन नबने पनि उत्कृष्ट प्रदर्शन गरेकी अन्जना 'बेस्ट गोलकिपर’ घोषित भइन्। त्यही प्रदर्शनबाट हौसिएकी थिइन् उनी। उनलाई लाग्न थालिसकेको थियो- अब साफ च्यामिपयनसिपको टोलीमा पर्ने सम्भावना छ। 'पहिले नै टीममा पर्छु जस्तो लागेको थियो मलाई,' उनी भन्छिन्।
 
केही दिनअघि घोषित २० सदस्यीय टोलीमा उनको नाम समावेश भयो। 'म पर्नेमा पूरा विश्वस्त थिएँ, पहिलो पटक नै सिनियर टीममा परेकोमा एकदमै खुसी लाग्यो,' यसअघि यु १४ टीमबाट खेलिसकेकी अन्जनाले उत्साहित हुँदै भनिन्।
 
नेपालको लागि खेल्नुअघि उनले विद्यालय स्तरमा कोकाकोला कप फुटबल दुई पटक खेलेकी थिइन्। यसै वर्ष सम्पन्न कोकाकोला राष्ट्रिय फुटबल प्रतियोगितामा पनि अन्जना 'बेस्ट गोलकिपर' घोषित भइन्।
 
साफ च्याम्पियनसिपमा महिला टोलीको प्रशिक्षक रहेका कुमार थापा पनि अन्जनाको प्रदर्शनबाट प्रभावित छन्। 'प्रधानसेनापति कपमा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट किपरको अवार्ड पाएपछि उनी टीममा परेकी हुन्। तीन गोलकिपर राख्नुपर्ने भएकाले उनले अवसर पाइन्,’ प्रशिक्षक थापा भन्छन्‍, ‘उनको प्रदर्शन राम्रो छ, उमेर पनि छ। खेल्ने तरिका पनि राम्रो छ।'
 
साफ च्याम्पियनसिपमा पहिलो रोजाइमा खेल्ने सम्भावनालाई पनि नकार्दैनन् उनी।

फ्रेण्डली म्याचहरुमा अन्जनाको प्रदर्शनलाई हेरेपछि अन्य खेलमा समावेश हुने नहुने तय हुने उनले बताए। टीमका अन्य खेलाडीको अवस्था पनि उस्तै रहेको बताउँदै थापा भन्छन्, 'नेपाली महिला खेलाडीले अनुभव बटुल्ने कति नै मौका पाउनछन् र?'
 
अन्जना भने फुटबल खेलेर यहाँसम्म आइपुग्नुमा प्रशिक्षक स्वर्गीय शेरबहादुर दर्लामीको योगदान मान्छिन्। 'सुरुमा शेर सरले धेरै सिकाउनुभयो। त्यसपछि चित्रबहादुर दर्लामी, नुरराज काफ्ले सरले पनि राम्रो सहयोग गर्नुभएको छ।'
 पछिल्लो पटक मध्यमाञ्चलबाट खेल्दा टीमका प्रशिक्षक नुरराज नै थिए।

नुराराज पनि अन्जनालाई राम्रो खेलाडी बन्ने सक्ने बताउँछन्। 'पहिलो पटक खेलेको प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरिन्। उनले नै तीन पेनाल्टी रोकेपछि मध्यमाञचल आर्मीलाई हराउन सफल भयो,' उनको मूल्यांकन छ, ‘अन्जना मेहनती छिन्। उनको प्रदर्शन पनि राम्रो छ। विशेषगरी डाइभिङहरु मन पर्छ।'
 
फुटबल खेल्दा अन्जनालाई घरपरिवारबाट पनि पुरा सहयोग छ। अहिले राष्ट्रिय टीममा परेपछि भने परिवारका सदस्यले झनै हौसला दिएका छन्। 'राम्रोसँग खेल्नु, यसरी नै अगाडि बढ्दै जानु भन्नुभएको छ,' अन्जनाले सुनाइन्।
 
यो पटक नेपाली टीमका सबै खेलाडीले मेहनत गरेकाले साफ च्याम्पियनसिप जित्ने सम्भावना रहेको उनी बताउँछिन्। उनीसँगै साफ च्याम्पियन खेल्ने नेपाली टोलीमा यो पटक सात नयाँ खेलाडी परेका छन्।
 
उनलाई राष्ट्रिय टीमकै अर्की गोलकिपर अन्जली तोम्बापो सुब्बा नेपालका मन पर्ने गोलरक्षक हुन्। उनको खेल निकै मन पर्छ। पुरुष राष्ट्रिय टीमका गोलरक्षक किरण चेम्जोङको खेल कौशलबाट पनि उनी निकै प्रभावित छिन्। 'मलाई किरण दाइ जस्तै खेल्न मन छ। भविष्यमा पनि त्यस्तै बन्न मन छ,' उनी भन्छिन्।
 
विश्व फुटबलमा भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल मन पर्ने अन्जना बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell