PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​एन्फाले गरायो फुटबलको ‘अकल्पनीय दुर्घटना’, छ करोड क्षतिपूर्ति दिनुपर्ने थ्री स्टारको माग



गोविन्दराज नेपाल

​एन्फाले गरायो फुटबलको ‘अकल्पनीय दुर्घटना’, छ करोड क्षतिपूर्ति दिनुपर्ने थ्री स्टारको माग

काठमाडौं : नेपाली क्लब थ्री स्टारले अन्तर्राष्ट्रिय क्लब फुटबलमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्न लाग्दै गर्दा क्लबमाथि नै ठूलो बज्रपात भयो। 

एएफसीले आयोजना गर्ने एएफसी कपको पहिलो चरणको छनोट पार गरी थ्री स्टार दोस्रो चरणको लागि छनोट भएको थियो। अर्थात एएफसी कप प्लेअफ क्वालिफायर्समा आफ्नो समूहको विजेता बन्दै एएफसी कप प्लेअफको लागि छनोट भयो। 

नेपाली फुटबलको लागि यो ऐतिहासिक उपलब्धि भयो। तर त्यो खुशी धेरै समय टिक्न पाएन। कसैले नसोचेको कुरा भयो। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको गैर जिम्मेवारीपूर्ण कार्यले थ्रीस्टारले एएफसी कप प्लेअफ खेल्न पाएन। 

‘कुनै पनि प्रतियोगिता नखेल्ने’

एन्फाले थ्री स्टारलाई अकल्पनीय दुर्घटना गराई ठूलो क्षति पुर्‍यादियो। त्यही क्षतिलाई कम गर्न थ्रीस्टारले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ। क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फाले ६ करोड क्षतिपूर्ति दिनुपर्ने र यो समस्या समाधान नभएसम्म कुनै पनि फुटबल प्रतियोगिता नखेल्ने बताएको छ।

थ्रीस्टारका महासचिव सन्जिव शिल्पकारले एएफसी कप प्लेअफको तयारी, एएफसी कप प्लेअफ क्वालिफायर्स खेल्दाको खर्च, एएफसी कप प्लेअफ खेल्दा हुने खर्च, प्रायोजनबाट पाउने रकम, प्लेअफ राउण्ड पार गर्दा पाउने रकम लगायतका सम्भावित सबै खर्चको हिसाब किताब गर्दा क्लबले ६ करोड क्षतिपूर्ति पाउनुपर्ने माग राखेको बताए। उनका अनुसार एएफसी कपको विजेता बन्दा पाउने १० लाख डलर, उपविजेता बन्दा पाउने ५ लाख डलर र ब्राण्ड इमेजलाई समेत ध्यानमा राखी क्षतिपूर्ति रकम माग गरिएको हो।

क्लबले आफ्नो गभर्निङ बडीसँग क्षतिपूर्ति माग गरेको नेपालको इतिहासमै पहिलो घटना हो।   

७० लाख खर्च गरेर मंगोलियामा प्लेअफ राउण्ड पार गरेको थ्री स्टार ५ महिना नबित्दै प्लेअफ खेल्नबाट बन्चित हुनुपरेको खबरले आश्चर्यमा परेको क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

एएफसीले बारम्बार एन्फालाई प्लेअफको सहभागिताका लागि क्लब दर्ता गर्न पत्राचार गर्दासमेत बेवास्ता गर्दै क्लबलाई जानकारी नगराएका कारण थ्री स्टार प्लेअफ खेल्नबाट बन्चित भएको खबर एएफसीले डिसेम्वर ६ मा आफ्नो वेबसाइटमा प्रकाशित गरेको थियो। 

यसबारे एन्फासँग बुझ्दा क्लब दर्ताका लागि एक पटक नभई पटक-पटक इमेल आएको जानकारी क्लबलाई प्राप्त भएको विज्ञप्तिमा भनिएको छ। 'क्लब दर्ताका लागि एन्फा आफैँले न केही गर्‍यो, नत सहभागी क्लब हामीलाई नै खबर गर्‍यो। एन्फाको पछिल्लो कदमले हामी र नेपाली फुटबलप्रेमीलाई दुःखी बनाएको छ।'

गल्ती स्वीकार गरिसकेको एन्फाले छानबिन गर्ने र त्यसका आधारमा दोषीमाथि कारवाही गर्ने भन्दै एन्फाले थ्री स्टारलाई पत्र पठाएको छ। तर क्लबले भने त्यसमा विश्वास गर्ने कुनै आधार नभएको उल्लेख गरेको छ। 

‘लापरवाहीको हद’

लापरवाहीको पनि हद हुने भन्दै महासचिव शिल्पकारले भने 'एएफसीले प्लेअफ दर्ता र एएफसीको कार्यक्रममा सिइओलाई सहभागी हुन सँगै पत्र पठाएको रहेछ जसमध्ये सिइओ कार्यक्रममा सहभागी भएर फर्किसक्दा पनि हाम्रो क्लब दर्ताका लागि आएको जानकारी हामीलाई नै दिइएन।' 

'यसबारे बारम्बार एन्फालाई सोध्दा समेत जवाफ आएन। यसबारे एएफसीलाई सोध्दा उसले क्लबलाई जानकारी नदिने र एन्फालाई मात्र जानकारी दिने बताएको थियो,' शिल्पकारले भने।

क्लबले यसबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीलाई पत्राचार गर्ने बताएको छ। 

यस्तै क्लबको गल्ति होइन एन्फाको गल्ति हो भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीलाई पनि यसबारे पत्राचार गर्ने महासचिव शिल्पकारले बताए। उनले यस्ता खालको समस्या समाधानको लागि पहल गर्न नेपालमा क्लब एसोसिएसनको अपरिहार्यता रहेको र सबै क्लबहरु एकजुट भई अगाडि बढ्नुपर्ने बताए। 

के भन्छन् एन्फा अध्यक्ष?

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले थ्री स्टारको निर्णयबारे प्रेसमार्फत् जानकारी पाएको बताउँदै उनीहरुसँग बसेर यसबारे विस्तारमा छलफल गर्ने पहिलोपोस्टलाई बताए। 

‘क्षतिपूर्ति माग गर्नु उहाँहरुको कुरा हो। आधिकारिक रुपमा पनि उहाँहरु आउनुहुन्छ होला, अनि हामी बसेर छलफल गछौं’, उनले भने। 

'हामीबाट गम्भीर भूल भएको हो जसलाई हामीले स्वीकार गरिसकेका छौं। यो एउटा अचुक भूल हो भनेर हामीले एक्सक्युज पनि मागिसकेका छौं क्लब र सम्पूर्ण फुटबल फ्यानहरुसँग,' उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै उनले भने, ‘भविष्यमा यस्तो कुरा नदोहोरियोस् भनेर छानबिन समिति गठन गरेका हौं।'

श्रेष्ठले 'अब एक महिनामा फेरि बैठक बसेर छानबिन समितिको प्रतिवेदन हेर्ने र निकास निकाल्ने’ बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell