PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'रातो सूर्य'मा एमाले अध्यक्ष ओलीले नै अभिनय गर्ने? तर वास्तविकता यस्तो रहेछ



स्वेच्छा राउत

'रातो सूर्य'मा एमाले अध्यक्ष ओलीले नै अभिनय गर्ने? तर वास्तविकता यस्तो रहेछ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ‘रातो सूर्य’ नामक फिल्म बन्दैछ भनेर समाचार आएसँगै सामाजिक सञ्जालमा विभिन्न ट्रोल देखिन थाले। तर हल्ला भएजसरी फिल्ममा ओलीको अभिनय रहने/नरहने टुङ्गो लागिसकेको छैन। जसको कथामाथि फिल्म बन्दैछ भनेर हल्ला गरियो तर उनले नै निर्णय दिइसकेका छैनन्।
 
‌ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार फिल्मप्रति उनी सकारात्मक देखिए पनि आफ्नो कथामा आफैं रहने वा नरहने बारे अहिलेसम्म निर्णय भइसकेको छैन।
 
ओलीको बाल्यकालदेखिको जीवनकथालाई आधार बनाएर तयार गरिने फिल्ममा ४५ वर्षको उमेरपछि उनी नै नायकको रुपमा पर्दामा छाउने खबर पनि समाचारहरुमा आए। '६५ वर्षको उमेरका केपीजीको भूमिका भए गर्नु होला। तर अहिले निश्चित भएको भने छैन,' बज्राचार्यले स्पष्ट पारेका छन्।
 
मंगलबार नयाँ बानेश्वरस्थित होटल अर्यालमा एमाले कार्यकर्ताको उपस्थितिबीच ‘रातो सूर्य’ निर्माणको घोषणा गरिएको थियो। फिल्मको निर्देशन दीपेन्द्रप्रसाद दाहालले गर्ने भएका छन्।
 
अभिनयका लागि ओलीलाई पारिश्रमिक पनि दिने निर्देशक दाहालले बताए। दाहालको भनाइअनुसार ओलीले काठमाडौंभित्र १० दिन सुटिङका लागि समय दिनुपर्ने हुन्छ। १६ देखि ४५ वर्षको उमेरसम्म ओलीको वास्तविक कथामा कलाकार अनुपम शर्माले अभिनय गर्नेछन्। त्यसपछि ६५ वर्षसम्मको भूमिकामा भने ओलीलाई नै सहभागी गराउने प्रयत्न भइरहेको दाहालले बताए।

'उहाँ हाम्रो प्रस्तावप्रति सकारात्मक हुनुहुन्छ। तर अन्तिम निर्णय दिनुभएको छैन,’ उनले पहिलोपोस्टसँग भने, 'राष्ट्रिय गौरव र राष्ट्रियतासँग जोडिएको फिल्ममा सायद आफ्नो भूमिकाको महत्व बुझेर निर्णय दिनुहोला।'
 
ओलीले 'रातो सूर्य'मा अभिनय गर्लान्/नगर्लान् तर फिल्म घोषणासभाका भिडियो फुटेज भने फिल्ममा अटाइने भएको छ। निर्देशक दाहालका अनुसार घोषणा कार्यक्रममा उपस्थित ओली देखिएका दृश्यहरुलाई पनि फिल्ममा राखिनेछ।
 
झापा, रौतहट र मकवानपुरमा फिल्मको सुटिङ हुनेछ। पाँच वर्ष लामो अध्ययनपछि बनाउन लागेको भनिएको फिल्मको कथा दाहालले नै लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell