PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​एक रनले हारेपछि यसरी रोए दीपेन्द्र



गोविन्दराज नेपाल

​एक रनले हारेपछि यसरी रोए दीपेन्द्र

काठमाडौं : श्रीलंका विरुद्ध जितका लागि नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक रहँदा नेपालसँग १ विकेटमात्र बाँकी थियो। स्ट्राइकमा थिए, दीपेन्द्र सिंह ऐरी। नियमित अन्तरमा विकेट झरिरहेको नेपाली इनिङ दीपेन्द्रले सम्हाल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। जितको मुखैमा थियो नेपाल।
 
सन्दर्भ हो एसीसी युथ एसिया कप क्रिकेट। आजैबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंका विरुद्ध खेलिरहेको थियो।
 
अन्तिम ओभर बलिङ गर्दै थिए श्रीलंकाका प्रविन जयाविक्रमा। पहिलो बलमा दीपेन्द्रले कुनै रन लिन सकेनन्। प्रविनको दोस्रो बलमा दीपेन्द्रले छक्का प्रहार गरे। उनको छक्का पछि नेपाललाई खेल जित्न ४ बलमा २ रन आवश्यक थियो।  यतिखेर विकेट पछाडि रहेका श्रीलंकन खेलाडी चथुरंगाको अनुहारमा निराशा प्रष्ट देखिन्थ्यो। नेपाली खेलाडी हौसाउन मैदानसम्मै पुगेका केही समर्थक दर्शकदिर्घाबाट हुटिङ गरिरेका थिए।

तर, अन्तिम ओभरको तेस्रो बलमा दीपेन्द्र एलबी डब्लु आउट भएपछि श्रीलंका विरुद्ध शानदार जित हासिल गर्नबाट नेपाल एक रनले चुक्यो।

दीपेन्द्र आउट भएसँगै नेपाल १ रनले पराजित भयो। यो हार कति महँगो र पीडादायी थियो भन्ने कुरा सायद दीपेन्द्र जति अरुलाई थाहा नहोला। आउट हुने बित्तिकै उनी मैदामै घोप्टो परे। उनले आँशु थाम्न सकेनन्। यो हारले मैदान र अनलाइनबाट प्रत्यक्ष खेल हेरिरहेका नेपाली क्रिकेटप्रेमीलाई निराश बनायो।

नेपालले ३२ रन बनाउँदा ३ विकेट गुमाएपछि दीपेन्द्र दशौं ओभरमा क्रिजमा आएका थिए। एक समय दीपेन्द्रले नै नेपालको इनिङ सम्हालेका थिए। दीपेन्द्रले चौथो विकेटका लागि आदिल खानसँग ६३ बलमा ४५ रनको पार्टनरसीप गरे। पाँचौं विकेटका लागि प्रकाश केसीसँग ४१ बलमा ३५ रनको पार्टरसीप गरे। आदिलले ६९ बलमा ३९ रन बनाए। प्रकाशले २३ बलमा १४ रन जोडे। दुवैले समान १ छक्का समेत प्रहार गरे।

एक छेउबाट निरन्तर विकेट पतन हुँदा पनि दीपेन्द्रले अर्को छेउबाट इनिङ उकासिरहेका थिए।

छैटौं विकेटका लागि दीपेन्द्रले सुवांकर उराउसँग १०७ बलमा ८४ रनको साझेदारी गरे। सुवांकरले ६५ बल खेल्दै ३ चौका र १ छक्काको मद्धतमा ४० रनको योगदान गरे।

नेपाललाई जित नजिकै पुर्‍याउने क्रममा दीपेन्द्रले सर्बाधिक ९० रन बनाए। ९९ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे।
अन्त्यमा दीपेन्द्र नै आउट भएपछि नेपाल जितबाट बन्चित हुन पुग्यो।

अन्तिम ९ बलमा नेपालको ३ विकेट झरेको थियो। ४९ औं ओभरको पहिलो बलमा कमल सिंह ऐरी रन आउट भए भने त्यही ओभरको पाँचौ बलमा कप्तान सन्दीप १ रनमा रन आउट भए। ९ बल खेलेका कमलले १ छक्काको मद्धतमा ९ रन नै बनाए। यसबाहेक नेपालका भीम सार्की ८, सन्दीप सुनार २ तथा आसिफ शेख १ रन बनाएर आउट भए भने पवन सराफ खाता नखोली बाहिरिए।

४ खेलाडीले मात्र दोहोरो अंक जोडेको नेपाली इनिङमा अतिरिक्तबाट २२ रन पाएको थियो।

नेपाललाई जितबाट रोक्न श्रीलंकाका कप्तान कामिन्डू मेन्डिसले सर्बाधिक ३ विकेट लिए। नेपालका ४ खेलाडी एलबीडब्लु धरापमा पर्दा २ खेलाडी रन आउट भएका थिए।

श्रीलंकाको राजधानी कोलोम्वोस्थित नन्देस्कृप्ट क्रिकेट क्लब ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोज्दै घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको थियो। कमल सिंह ऐरीले पहिलो बलमै विकेटकिपर भिश्व चथुरंगालाई आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। तर तेस्रो क्रममा ब्याटिङ गरेका हसिथ बोयागाडाले उत्कृष्ट प्रदर्शन गर्दै ८३ रन बनाएपछि श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो। १०६ बल खेलेका बोयागाडाले १२ चौका प्रहार गरे। त्यसबाहेक कृसान सान्जुलाले २८ रन जोडे। असेन बण्डाराले नटआउट ४८ रनको योगदान गरे।

नेपालको तर्फबाट कमल सिंह ऐरीले ३ विकेट लिए भने पवन सराफले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। श्रीलंकाका २ खेलाडी रनआउट भए।
नेपालका लागि शानदार इनिङ खेलेका दीपेन्द्र सिंह 'म्यान अफ दि म्याच' घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell