PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्रीबाट चन्द्रागिरी केबलकारको उद्घाटन, साढे तीन अर्वमा बन्यो 'सिटी आउट अफ दि सिटी



स्वेच्छा राउत

प्रधानमन्त्रीबाट चन्द्रागिरी केबलकारको उद्घाटन, साढे तीन अर्वमा बन्यो 'सिटी आउट अफ दि सिटी

काठमाडौँ। साढे तीन अर्ब रुपैयाँको लगानीमा निर्माण भएको चन्द्रागिरि केबलकार विहिवारदेखि औंपचारिक रुपमा संचालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डले' केबलकारको उद्घाटन गरे। आर्इएमर्इ र भाटभटेनी समूहको लगानीमा चन्द्रागिरि हिल्सले निर्माण गरेको यो केबलकार चार महिना अघि सफ्ट ओपन भएपछि   संचालनमा आएको थियो।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारका आयोजना ढिलासुस्तीले थलिएको बताउँदै स्पष्ट सोंच र इच्छाशक्ति भएमा चमत्कारिक विकास हुन सक्ने बताए। उनले चन्द्रागिरि केबलकार त्यसैको उदाहरण बनेको जानकारी दिए।

मुलुकलार्इ प्रकृतिले धेरै दिएको छ, यसलार्इ प्रविधि र पुँजीबाट विकासमा गति दिन सकिन्छ' उनले भने। चन्द्रागिरि केबलकार नै प्रविधि र पुँजीबाट विकास गर्न सकिन्छ भन्ने उदाहरण हो, उनले भने। आफू प्रधानमन्त्री भएपछि ठूला विकास आयोजनाको निर्माणले गति लिएको समेत उनले बताए।
 

निजी क्षेत्र मात्रै होइन सरकारले पनि आफ्नो कामको स्पिड अप गरेको छ, उनले भने। मेलम्चीमा म गएर निर्देशन दिएपछि कामले गति समातेको छ।

त्यो लक्षित समयभन्दा पहिले नै सञ्चालनमा आउँछ। हिजो मात्रै ढल्केवरको प्रशारण लाइन निर्माणको काम हेर्न गएँ, त्यहाँ त मिराकल नै भएको रहेछ, प्रधानमन्त्री प्रचण्डले भने। चार वर्षमा नभएको प्रशारण लाइनको काम दुई महिनामा भएको छ, उनले भने।



आर्इएमर्इ समूहका अध्यक्ष तथा चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरी आयोजनाका कारण पर्यटकको बसाई एक दिन लम्बिन थालेको बताए। निजि क्षेत्रबाट संचालित यस्ता परियोजनामा सरकारको पूर्ण सहयोग भएमा नेपालको पर्यटन क्षेत्रले तिव्र विकास गर्ने उनले बताए। 

आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकालले मलेसियाको गिन्तिङ हाइल्याण्डको सोंचबाट प्रेरित भएर चन्द्रागिरी हिल्सको निर्माण सुरु गरिएको बताए। उनले चन्द्रागिरीलाई 'सिटी आउट अफ दि सिटी'का रुपमा निर्माण गरिएको समेत जानकारी दिए। 


भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले राजनीतिक व्यवस्थापन गरेमा विकास सम्भव भएको बताए। राजनीतिक व्यवस्थापन गरेर विदेशिएका नेपालीलार्इ स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन उनले आग्रह गरे। उनले मेहनत गरे सफलता पाइने बताउँदै चन्द्रागिरी पनि त्यसैको एउटा उदाहरणका रुपमा प्रस्तुत गरे। 

कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरि डाँडाको धार्मिक महत्वको विषयमा जानकारी दिए। उनले परियोजना पूरा गर्न ठूलो मेहनत परेको समेत बताए। 



कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी कार्यवाहक अध्यक्ष भवानी राणाले राजनीतिक अनुकुल वातावरण भएमा स्वदेशमा लगानीको पर्याप्त सम्भावना रहेको बतार्इन्। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजधानीबाट नजिकमा प्रमुख पर्यटकीय गन्तब्य निर्माण भएको बताउँदै मुलुकभित्र यस्ता धेरै परियोजना निर्माण गर्न सकिने बताए।

काठमाडौंको सबैभन्दा अग्लो स्थान चन्द्रगिरिको उचाइ २५५१ मिटर रहेको छ । चन्द्रागिरीको चुचुरोमा महादेव पुग्दा सतिदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ। 

चन्द्रागिरी पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान समेत हो। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरीबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेको ऐतिहासिक रुपमा उल्लेख छ।


चन्द्रागिरि चुचुरोबाट सर्वोच्चशिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ। करिब १८० डिग्रीको रेन्जमायहाँबाट हिमालश्रृंखलाको अवलोकन गर्न पाइन्छ।

सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य स्थल हो। हिमालयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ।

चन्द्रागिरीमा केवलकारसँगै मन्दिर, भ्युटावर, फोरडी हल, प्लेग्राउण्ड, बार तथा रेष्टुरेण्टहरु निर्माण गरिएको छ। चन्द्रागिरी हिल्सले केवलकारसँग जोडिएकै स्थानमा रिसोर्ट समेत निर्माण गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell