PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

को हुन्, एकै ओभरमा २४ रन हान्ने रोहितकुमार पौडेल?



गोविन्दराज नेपाल

को हुन्, एकै ओभरमा २४ रन हान्ने रोहितकुमार पौडेल?

काठमाडौं : श्रीलंकामा जारी एसिसी युथ एसिया कप क्रिकेटमा नेपालका रोहितकुमार पौडेलले भारतविरुद्ध अर्धशतक मात्र पूरा गरेनन्, अन्तिम ओभरमा ३ चौका र २ छक्का प्रहार गर्दै एकै ओभरमा २४ रन समेत बटुल्न सफल भए।
 
२४.४ ओभरमा नेपालको स्कोर ८६/६ हुँदा रोहित आठौं नम्वरमा क्रिजमा पुगेका थिए। त्यसपछि नेपालको आधाभन्दा बढी इनिङ उनैले सम्हाले। जसले गर्दा नेपालले पूरै ५० ओभर खेल्न सफल भयो।
 
४९ ओभर समाप्त हुँदा नेपालको स्कोर १४८ थियो भने बाँकी ३ विकेट पतन भएसँगै नेपालको ९ विकेट झरिसकेको थियो। १५० रन बढीको टार्गेट दिन पनि नेपालले अझै २ रन बनाउनुपर्ने अवस्था थियो। यस्तोमा स्ट्राइकमा थिए रोहितकुमार पौडेल। उनले ८७ बल खेलेर ४४ रन बनाएका थिए। अर्धशतक बनाउनबाट ६ रन टाढा थिए।
 
अन्तिम ओभर बलिङ गरेका भारतका कमलेश नगरकोटीको पहिलो बलमा रोहितले रन जोड्न सकेनन्।
 
त्यसपछि दोस्रो बलमा रोहितले छक्का प्रहार गर्दै नेपालको स्कोर १५० कटाए भने व्यक्तिगत स्कोर ५० पुर्‍याउँदै अर्धशतक पूरा गरे।
 
छक्का प्रहार गरेसँगै आत्मविश्वासी बनेका रोहितले तेस्रो र चौथो बलमा लगातार दुई चौका प्रहार गरे। पाँचौं बलमा पनि उनले छक्का प्रहार गरे भने छैटौं बलमा चौका प्रहार गरेसँगै नेपाल भारतविरुद्ध १७२ रनको स्कोर बनाउन सफल भयो। रोहितले दशौँ विकेटका लागि नन्दन यादवसँग गरेको ३८ रनको पार्टनरसिप नेपाली इनिङको सर्बाधिक पार्टनरसिप हो।
 
अघिल्लो खेलमा श्रीलंकाविरुद्ध दिपेन्द्रसिंह ऐरीले ९० रन बनाएका थिए भने आज रोहितले भारत विरुद्ध नटआउट रहँदै सर्वाधिक ६८ रन बनाए।
 
रोहितले नेपालको लागि खेलेको यो नै कुनै पनि प्रकारको पहिलो खेल हो। १५ सदस्यीय टोलीमा रहेपनि रोहितले श्रीलंकाविरुद्ध खेल्न पाएन्। उनलाई भारतविरुद्ध कमलसिंह ऐरीको स्थानमा खेलाइएको हो। कमलसिंहले पनि अघिल्लो खेलमा नेपालबाट सर्बाधिक ३ विकेट लिएका थिए।
 
भारतविरुद्ध यु १९ एसिया कपमा पनि नेपालले बनाएको यो अहिलेसम्मको सर्बाधिक स्कोर हो। सन् २०१२ मा पृथु बास्कोटाको कप्तानी एसिया कप खेल्दा नेपाल समूह चरणमा भारत विरुद्ध २७.३ ओभरमा ९१ रनमै अलआउट भएको थियो भने २०१४ मा भुवन कार्कीको कप्तानीमा खेलेको नेपाल ४४.४ ओभरमा १३६ रनमा अलआउट भएको थियो।
 
यस्तै २०१६ मा बंगलादेशमा भएको आइसिसी यु १९ विश्वकप राजु रिजालको कप्तानीमा रहेको नेपालले भारतविरुद्ध १६९ रन बनाएको थियो। विश्वकपमा भारत विरुद्ध नेपालका लागि सर्बाधिक ३७ रन बनाएका सन्दीप सुनार अहिले भइरहेको एसिया कप खेलिरहेका छन्।
 

अलराउन्डर रोहित

रोहितकुमार पौडेल नेपाली यु १९ राष्ट्रिय टोलीका अलराउण्डर हुन्। बलिङ र ब्याटिङ दुवैमा जम्न सक्ने रोहित यु १९ युथ एसिया कपका लागि आयोजना गरिएको ट्यालेन्ट् हण्ट प्रोग्राममा भैरहवाबाट छनोट भएका हुन्।
 
उनीसँगै भैरहवाबाट छानिएका प्रकाश केसीले अहिले विकेटकिपिङ सम्हालिरहेका छन् भने शाह आलम वैकल्पिक खेलाडीमा छन्।
 
बालुवाटार क्रिकेट एकेडेमीबाट खेल्ने रोहित मिडियम पेस बलिङ गर्छन्। उनको फिल्डिङ पनि चुस्त छ।
 
श्रीलंकामा एसिया कप खेल्न जानुअघि नेपाली टोलीमा छानिएका १५ खेलाडीमध्ये राष्ट्रिय टीममा रोहित नयाँ थिए। उनले यसअघि कुनै उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका थिएनन्। श्रीलंका भ्रमण नै रोहितको लागि नेपालबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell