PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​श्रीलंका पुगेर आइसीसीका सिइओले नेपालबारे के भने? समस्या समाधान हैन आशाको पोको



गोविन्दराज नेपाल

​श्रीलंका पुगेर आइसीसीका सिइओले नेपालबारे के भने? समस्या समाधान हैन आशाको पोको

काठमाडौं : अहिले श्रीलंकामा एसीसी युथ एसिया कप भइरहेको छ। एसियाका टेष्ट खेल्ने चार राष्ट्रसहित उत्कृष्ट ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् जसमा नेपाल श्रीलंका, भारत र मलेसियासँगै समूह ए मा छ। 

नेपाल सुरुवाती दुई खेलमा श्रीलंका र भारतसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ।

एसियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा सहभागी हुन आइसीसीका सिइओ डेविड रिचर्डसन पनि श्रीलंका पुगेका थिए जहाँ उनले नेपालका बारेमा समेत केही बोल्न भ्याए।

नेपाल क्रिकेट संघ क्यान अहिले निलम्वनमा छ तर आइसीसीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने अवसर भने दिएको छ। 
आइसीसी सिइओ रिचर्डसनलाई नेपाली क्रिकेट बारे राम्रै जानकारी भएर हो वा नेपालको खेल र खेलाडीबाट प्रभावित भएर हो बेला बेला नेपालको नाम लिइरहन्छन् र नेपाललाई पनि उच्च लेभलमा समावेश गर्नुपर्ने बताउँछन्। 

श्रीलंकामा पनि उनले नेपाल जस्ता राष्ट्रलाई उच्च लेभलमा समेट्नुपर्ने र आइसीसीको १० फूल मेम्बर संख्या बढाएर १५/१६ बनाउनुपर्ने बताए।
प्रतियोगिता सुरु हुनुअघि आयोजित कार्यक्रममा उनले नेपाल लगायत एसियाका अफगानिस्तान, मलेसिया र अन्य राष्ट्रहरु त्यसमा समावेश गर्न सकिने बताए।

आइसीसीले यसअघि नेपाल जस्ता एसोसिएट राष्ट्रलाई समेट्दै टेष्ट क्रिकेटमा दुई डिभिजन बनाउनुपर्ने प्रस्ताव राखेपनि सदस्य राष्ट्रबाटै त्यो पारित हुन सकेको थिएन। 

नेपाललाई अहिले ठूलो लेभलमा समावेश गर्ने भन्दा पनि आइसीसी निलम्वन फुकुवा गर्ने र नियमित खेल्ने अवसर प्रदान गर्नु महत्वपूर्ण छ।
तीन महिनाअघि आइसीसी सिइओ रिचर्डसनसहितको टोली नेपाली क्रिकेटको विवाद समाधान गर्न भन्दै नेपाल आएका थिए। तर सबै सरोकारवाला निकायसँग भेट्दा पनि माखो मार्न सकेनन्। केही समयपछि सल्लाहकार समिति उतैबाट तोके। त्यसको पनि धेरै समयपछि मात्र त्यस समितिको जिम्मेवारी तोकियो।

अहिले नेपालमा कुनै आधिकारिक राष्ट्रिय प्रतियोगिताहरु भएको छैन। सिनियर टीमले खेल्ने आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पहिले खेलिरहेका खेलाडी नै टीममा पर्छन्। त्यसको लागि खेलाडी छनोटको कुनै मापदण्ड छैन। 

यस्तै गत अक्टोबरमा भएको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसियन जोन)का लागि एक हप्ते प्रतियोगिताबाट टोली छानियो भने नोभेम्वरमा वुमन्स एसिया कपमा सोही खेलाडी नै टोलीमा परे।

अहिले श्रीलंकामा खेलिरहेको नेपाली युवा टोली पनि कुनै प्रतियोगिता खेलेर वा क्षेत्रिय छनोटबाट निखारिएर गएका होइनन्। उनीहरु प्लेअर ट्यालन्ट हण्ट प्रोग्रामबाट सेलेक्ट भएका गएका हुन्। 

यसमा ३ खेलाडी युवा विश्वकपको अनुभव बटुलिसकेका थिए भने समग्रमा ६ खेलाडीले यसअघिको यु १९ क्याम्पमा अभ्यास गरेका थिए। बाँकी ९ खेलाडी भने ट्यालेन्ट हण्टबाटै छनोट भएका हुन्।

त्यसैले आइसीसीले चाँडो भन्दा चाँडो नेपालको समस्या समाधान गर्दै नियमित प्रतियोगिता खेल्ने र खेलाडीहरुलाई आफ्नो खेल देखाउने वातावरण सिर्जना गर्न जरुरी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell