PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बुझ्ने भएपछि थाहा पाउँछे राजनीतिको महत्व : करिश्मा, आमा त हिरोइन नै ठिक : कविता



स्वेच्छा राउत

बुझ्ने भएपछि थाहा पाउँछे राजनीतिको महत्व : करिश्मा, आमा त हिरोइन नै ठिक : कविता

काठमाडौं : तोतेबोली बोल्दैदेखि आमाको फिल्मी डायलग सुनेर हुर्किइन्, कविता। बुझ्ने भएपछि थाहा पाइन्, आमामात्रै होइन बुबा पनि फिल्मी दुनियाँमै संघर्ष गरिरहेका छन्। यतिमात्र होइन दुवैको कर्मबाट सानैदेखि भिज्न पाइन् उनी।
 
नेपाली रजतपटकी ‘अग्ली नायिका’ करिश्मा मानन्धर र फिल्म निर्माता विनोद मानन्धरकी एक्ली छोरी कवितालाई आमाले राजनीतिको बाटो तय गरेको मन परेको छैन।   
 
नेपाली फिल्मी क्षेत्रमा स्थान जमाइसकेकी करिश्माले डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट राजनीतिमा 'डेब्यु' गरेकी छिन्। फिल्म जस्तै उनी जम्न सक्छिन् सक्दिनन्, त्यो आउने समयले बताउला तर छोरी भन्छिन्, 'आमा तिमी राजनीतिका लागि ठिक छैनौ।’
 
‘इनोसेन्ट मान्छे पोलिटिक्समा लाग्नु हुँदैन भनेर कविता सम्झाउँछे,’ पहिलोपोस्टसँगको कुराकानीमा करिश्माले भनिन्।
 
+++
छोरीलाई जन्म दिएको आठ महिना पूरा नहुँदै फिल्मका लागि समय दिन थालिन् उनले। किनकि करिअर निकैमाथि पुर्‍याउनु थियो। जुन होडमा आफू निकै हदसम्म सफल भएको दाबी पनि गर्छिन्। 'छोरीको माया त थियो नै। सँगै छेरीले गर्व गर्ने आमा बन्नु थियो,' करिश्माले भनिन्।
 
कलाकारिता यात्राको दौरान छोरीलाई सक्दो समय निकाल्न गाह्रो थियो। सानोमा आमाले दिनुपर्ने स्याहारमा कमी भयो कि भन्ने पनि उनलाई लाग्दो रहेछ। तर आफ्नी आमाले छोरीको पूरापूर स्याहारको जिम्मा लिएपछि भने उनलाई निकै सहज भयो।
 
सायद करिश्माकी आमा चाहन्थिन्- छोरी नामी हिरोइन बनोस्।
 
के करिश्मालाई पनि आफ्नी छोरीले कला-मनोरञ्जन क्षेत्रमै नाम कमाओस् भन्ने लाग्दो हो?
 
'म उसलाई यो गर त्यो नगर भनेर रोक्ने पक्षमा छैन। मन लाग्छ गरोस्। लाग्दैन नगरोस्। उसको प्रयासमा शतप्रतिशत साथ रहन्छ,' उनको जवाफ यस्तो छ।
 
कविता २० वर्षकी भइन्। अध्ययनको सिलसिलामा अमेरिकामा छिन्। अझै आफैं निर्णय लिन सक्दिनन् भन्ने सोच छ करिश्माको। सोसोलोजी विषय लिएर हाइस्कुल सकाएकी छोरीले सामाजिक कार्यमै केही गर्छिन् भन्नेमा चाहिँ उनी ढुक्क छिन्।
 
'जनावर र साना नानीहरुलाई यति धेरै माया गर्छे कि म छक्क पर्छु। कलाकारितामा उसले केही गरिन भने सामाजिक कार्यमै ऊ सक्रिय हुन सक्छे,' करिश्मा खुशी छिन्, दाम होइन नाम कमाउने विषयमा छोरीको रुचि देखेर।
 
यहाँको शुभतारा स्कूल पढ्थिन् कविता होस्टल बसेर। घर आउँदा आमालाई सुनाउँथिन्, 'मलाई साथीहरुले हिरोइनको छोरी भन्छन्।' बालमनमा उनलाई लाग्थ्यो- साथीहरुले जिस्काए। त्यसैले फिल्म नखेल्न उनले आमालाई धेरै पटक आग्रह पनि गर्दी रहिछन्।
 
'त्यो बेला कुरा बुझिनँ। तर कुनै नेताको छोरी होइन हिरोइनकै छोरी भनेर चिनिनु ठिक लाग्छ,' कविताको बुझाइ अहिले यसरी फेरिएको सुनाउँदा करिश्मा ढुक्कको सास फेर्छिन्। अमेरिकामै छायांकन हुने केही म्युजिक भिडियोका लागि कवितालाई अफर पनि आएको रहेछ। 'कविताले हालसालै निर्णय लिन सकिनन्। हामीले गर वा नगर भनेर दबाब दिनु उचित लागेन,' छोरीबारे करिश्मा भन्छिन्।
 
जीवनको लामो समय सिने क्षेत्रमै बिताएकी उनलाई लाग्छ- कलाकारिता कमाउने होइन रमाउने पेसा हो। इच्छा भए छोरीले रमाउने मौकाको भरपुर फाइदा उठाओस्।
 
करिश्मा-पति विनोद पनि अहिलेको शताब्दीमा छोराछोरीमा बुबाआमाको रहर लाद्ने पक्षमा छैनन्। भन्छन्, 'छोरीले आफूले चाहेको क्षेत्रमा हात हालोस्।' तर व्यस्तताका कारण पनि आज छोरीका लागि गर्व गर्नलायक अभिभावक बन्न पाएकोमा दुवै खुसी छिन्। 'पैसा, दर्शक, सुविधा छैन भन्दैमा मेरी छोरीलाई म यही पेसाबाट कसरी टाढा बस् भन्न सक्छु र?' करिश्माको मातृत्व यसरी पोखिन्छ।
 
के अहिले पनि कवितालाई आमा राजनीतिमा लागेकोमा मन दुखेकै होला?
 
'ऊ सानै छ। के गर्छ के गर्दैन पछि थाहा हुन्छ। बुझ्ने भएपछि थाहा पाउँछ, कलाकारिता जस्तै समाज परिवर्तनको लागि राजनीतिको महत्व र अभिनयसँगै राजनीतिमा हात हाल्नुको कारण,’ नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य करिश्मा मानन्धर यसरी प्रस्ट पार्छिन्। (फोटो : करिश्माको फेसबुकबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell