PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सातौं राष्ट्रिय खेलकुद : थाहा पाउनुस्- तयारी, खेल संख्या र स्थलबारे



गोविन्दराज नेपाल

सातौं राष्ट्रिय खेलकुद : थाहा पाउनुस्- तयारी, खेल संख्या र स्थलबारे

काठमाडौं : २०६८ फागुन २१ गते सुदूरपश्चिमाञ्चलमा छैटौं राष्ट्रिय खेलकुद समारोहको समापन भएपछि त्यसको दुई वर्षमा पूर्वाञ्चलमा सातौं बृहत् राष्ट्रिय खेलकुद गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकाससमितिका अध्यक्ष किरण राईले झण्डा ग्रहण गरेका थिए। राखेपका संरक्षक समेत रहेका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले राईलाई 'सातौं राष्ट्रिय खेलकुद २०७०, पूर्वाञ्चल' लेखिएको झण्डा हस्तानतरण गरेका थिए। पूर्वाञ्चलवासीको आशा थियो- दुई वर्षपछि आफ्नै क्षेत्रमा बृहत् खेलकुद हुनेछ। तर उक्त आशा पूरा हुन थप तीन वर्ष लाग्यो।
 
त्यस बेला तोकिएको समयमा भएको भए सातौं खेलकुद २०७० सालमै सम्पन्न भइसक्नुपर्ने थियो। तर छैटौं भएको पाँच वर्षपछि मात्र सातौं खेलकुद आयोजना हुने साइत जुरेको छ। त्यो पनि एकैपटक जुरेको साइत होइन, पटकपटक मिति तोकेर सर्दै आएको सातौं खेलकुद अन्तत: चौथो पटक तोकिएको मिति २०७३ पुस ८ गतेदेखि १५ सम्म हुँदैछ।
 
नेपाली खेलक्षेत्रकै कुम्भमेला मानिएको बृहत् राष्ट्रिय खेलकुदको सातौं संस्करण भोलिदेखि पूर्वाञ्चलमा सुरु हुन लागेको हो। छ जिल्लामा आयोजक हुले खेल मेलाको उद्घाटन विराटनगर रंगशालमा हुनेछ। राष्ट्रपतिले बृहत् खेलकुदको उद्घाटन गर्ने कार्यक्रम तय छ।
 
२०७२ मंसिर ११ गतेदेखि १८ सम्म पहिलो पटक सातौंको मिति तोकिएको थियो। तर वैशाख १२ को विनाशकारी भूकम्प, बजेट अभाव जस्ता कारणले हुन सकेन भने गत वर्ष नै फागुन १८ देखि २३ सम्म दोस्रो पटक तोकिएको मितिमा पनि हुन सकेन।
 
यस वर्ष पनि पहिलो पटक तोकिएको मितिमा सातौं सम्भव भएन। कारण उही थियो भौतिक पूर्वाधार, खेल स्थलको अभाव जस्ता कारण सँगै बजेट अभावकै समस्या।
 
पूर्वाञ्चलले पहिलो पटक बृहत् खेलकुद आयोजना गर्न तोकिएको भन्दा तीन वर्ष बढी अवधि कुनुपर्‍यो।
 
बृहत् खेलकुद आयोजना त हुने भयो, तर विभिन्न खेलको आयोजनास्थल अझै पूर्ण रुपमा तयार भइसकेको छैन। यस्तै जाडो मौसम खेलकुद मेला हुँदै छ। चार हजारभन्दा बढी खेलाडी एकै स्थानमा जमघट हुने उक्त मेला सम्पन्न गर्न आफैँमा चुनौतीपूर्ण छ।
 
२०७२ भदौमा राखेपको सदस्यसचिव भएदेखि नै केशवकुमार विष्टले आफ्नो अर्जुनदृष्टि सातौं खेलकुद भएको बताएका थिए। उनले एक वर्ष त्यसैमा गुजारे पनि।
 
यसै वर्ष भदौमा राखेपको वर्तमान राखेप बोर्डले एक वर्षे कार्यकाल पूरा गरेको अवसरमा सातौं तोकिएको समयमा नै हुने र यस वर्ष हुन नसके कहिल्यै नहुने बताएका थिए। त्यस बेला सातौं मिति तेस्रो पटक तोकिएको थियो र मंसिर ८ देखि हुने तय थियो। तर राखेपले विविध कारण कारण देखाउँदै एक महिना पछि सारेको हो। यस्तै सातौंका लागि राखेपले बजेट अभावलाई मुख्य कारण भएको बताउँदै भौतिक संरचना बनाउन ढिला भएको जनाएको छ।
 
तर सरकारले यसअघि नै राखेपलाई २० करोड बजेट उपलब्ध गराइसकेको छ। त्यसबाहेक पनि राखेपले १३ करोड थप माग गरेको थियो। त्यो मध्ये पुरा नपाएको कारणनै ढिला भएको राखेपको भनाइ थियो।
 

प्रतियोगिता कहाँकहाँ?

सातौंको औपचारिक उद्घाटन भोलि हुने भए पनि फुटबलतर्फका खेलहरु सुरु भइसकेका छन्। महिला फुटबल गत पुस २ देखि नै सुरु भइसकेको छ भने पुरुष फुटबल पनि आजबाट सुरु भइसकेको छ।
 
पूर्वाञ्चलका विभिन्न छ जिल्लामा हुने भनेर भन्दै आए पनि अधिकांश खेलहरु मोरङको विराटनगर र सुनसरीको इटहरीमा हुँदैछ। ११ खेलका प्रतिस्पर्धा सुनसरीमा हुनेछ भने आठ खेल मोरङमा हुनेछ।
 
यसबाहेक केही खेलहरु झापा, सप्तरी, सिराह र धनकुटामा हुनेछ। तीन खेलको प्रतिस्पर्धा भने पूर्वमा हुनेछैन। स्क्वास ललितपुरमा, फेन्सिङ काठमाडौंमा र लनटेनिस कास्कीमा हुनेछ।
 
स्क्वास र फेन्सिङसँगै आर्चरी र साइकलिङका प्रतिस्पर्धी खेलाडी कम भएका कारण पदक गणना नहुने राखेपले बताएको छ।
 

कति खेल?

प्रदर्शनी खेलसमेत जोड्ने हो भने यसपटक झन्डै ४० खेल हुनेछन्। तर सातौँमा यति नै खेल हुनेछ भन्दा केही अन्योल रहनेछ। केही खेल गत वर्ष नै भइसकेका छन्। केही खेलको पदक गणना हुनेछैन। केही खेल प्रदर्शनीको लागि मात्र छन्। अनि बाँकी प्रतिस्पर्धात्मक।
 
राखेपका अनुसार सातौंमा प्रतिस्पर्धाका लागि कुल ३५ खेल समावेश गरिएको छ। यसमध्ये पौडी, ट्रायथलन र शारीरिक सुगठन गत वर्ष नै भइसकेका छन्। बाँकी रह्यो ३२ खेल। यसमा पनि चार खेलको पदक गणना हुनेछैन। आर्चरी, फेन्सिङ, स्क्वास र साइकलिङमा कोटा नपुगेका कारण पदक गणना नहुने राखेपले बताएको छ।
 
यसरी हेर्दा २८ खेलको लागि मात्र असली प्रतिस्पर्धा हुने देखिन्छ। त्यसमध्ये गल्फ र विलियर्न तथा स्नुकर सम्बन्धित संघले नै गर्ने राखेपले जनाएको छ।
 
छैटौं राष्ट्रिय खेलकुदमा खेलाइएका ३१ खेलबाहेक खोखा, सेपाताक्रो, ट्रायथलन र फेन्सिङलाई सातौंमा समावेश गरिएको हो। यसमध्ये पनि सेपाताक्रो, ट्रायथलन र फेन्सिङ पहिलो पटक बृहत् खेलकुदमा समावेश गरिँदैछ।
 
यसबाहेक राखेपले रग्वी, साम्बो, रक क्लाइम्बिङ, डान्स स्पोर्ट्स र लोकदोहरीलाई प्रदर्शनी खेलको रुपमा समावेश गरेको छ।
 

पदक कति?

कति खेल भन्ने नै किटान नभएपछि पदकको मामलामा पनि कति भन्ने कन्फ्युज होला। गत वर्ष भइसकेको तीन र सम्बन्धित संघले गर्ने दुई बाहेक बाँकी ३० खेलका विजेता खेलाडीहरुलाई पदक दिइनेछ। ३० खेलमा २९४ स्वर्ण २९४ रजत र ४४७ रजत गरी कुल १०३५ पदक दिइनेछ।
 
तर खेलाडी कोटा नपुगेका खेलहरु आर्चरी, फेन्सिङ, स्क्वास र साइकलिङको पदक पदक तालिकामा असली रुपमा गणना हुनेछैन।
 
त्यसैले २६ खेलमा २६८ स्वर्ण, २६८ रजत र ४१६ कास्य गरी कुल ९५२ पदकका लागि खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell